3rd December | 2020 | Thursday | 1:59:07 PM

क्विक रेसपोन्स टिमद्वारा निःशुल्क उपचार

पुरन साह   POSTED ON : आश्विन २६, २०७७ (८:४४ AM)

क्विक रेसपोन्स टिमद्वारा निःशुल्क उपचार

जनकपुरधाम । कोरोना भाइरस कोभिड–१९ महामारीका बेला दैनिक खानपानमा नै समस्या भइरहेका वेला सुलभ स्वास्थ्य उपचार दुर्लभ हुने नै भयो । लकडाउनको सुरु–सुरुमा त चिकित्सहरू नै घर घरमा लुकेपछि उपचार अभावकै कारण पनि धेरैले ज्यान गुमाउनुप¥यो ।  स्वास्थ्य उपचार पटक्कै पाउन छाडेपछि त्रसित विपन्न परिवारका लागि भने केही संस्थाहरू अगाडि सरेका छन् ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानको अगुवाइमा प्रतिष्ठानकै जनकपुरधामस्थित शुभेच्छुकहरू तथा कोभिड–१९ मा समाजसेवाका लागि गठित क्विक रेसपोन्स टिमको संयुक्त आयोजनामा यस क्षेत्रका गरिव विपन्नहरूका लागि उनीहरूकै वडा र टोलहरूमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने गरिएको छ । टिमले गरिव विपन्न बस्तीहरूमै चिकित्सकहरू सहित पुगेर निःशुल्क स्वास्थ्य शिविर चलाइरहेको छ । प्रत्येक शनिवार गरी अहिलेसम्म पाँचौ सप्ताहमा विभिन्न वडामा गरी करिब दुई हजार स्थानीयले स्वास्थ्य उपचार गराएको टिमका संयोजक मनोज साहको भनाइ छ ।

निःशुल्क शिविरमा हरेक विभागका विशेषज्ञ चिकित्सहरूको टिमले सम्बन्धित विरामीहरूको उपचार गर्ने गरेको छ । त्यती मात्र होइन प्याथोलोजी ल्याबको परीक्षणका साथै औषधी समेत निशुल्क वितरण भइरहेको टिमले जनाएको छ । वडा र टोलमै निःशुल्क स्वास्थ्य उपचार सेवा पाएपछि स्थानीयवासीमा समेत हर्ष छ । 

सप्ताहको एक दिन शनिवार गरिव विपन्नको निशुल्क सेवा गर्न पाँउदा चिकित्सकहरू समेत खुसी छन् । अभाव र समस्यामा रहेकाहरूको सेवा गर्न पाउँदा बेग्लै खुसी महशुस हुने गरेको उनीहरूको भनाइ छ । दन्तरोग विशेषज्ञ डा. सज्जन ठाकुरले आफ्नो क्लिनिकभन्दा अलग र सद्भावमूलक मिठो अनुभव यस्ता शिविरहरूवाट प्राप्त भइरहेको बताउनुभयो । यस्ता संस्थाहरूको पहल र सक्रियताले टोलमै निःशुल्क उपचार पाउन थालेपछि स्थानीयले पनि राहत महसुस गरिरहेका छन् । 


Views: 111