2nd December | 2020 | Wednesday | 11:55:49 AM

होसियार ! कोरोनासँग आफैँ जोगिने हो, अस्पतालमा बेड छैन

सन्दीप पौडेल   POSTED ON : आश्विन २७, २०७७ (८:२९ AM)

होसियार ! कोरोनासँग आफैँ जोगिने हो, अस्पतालमा बेड छैन

काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)प्रकोपकै रूपमा देखिसकेको छ । तीन महिना अघिसम्म औंलामा गन्न मिल्ने संक्रमितको संख्या अहिले दैनिक हजारौंमा पुगिसकेको छ । कुनै बेला नेपालका भारतसँग सीमा जोडिएका क्षेत्रहरू रेड जोनका रूपमा रहेका थिए । राजधानी र पहाडी भू–भाग सुरक्षित देखिन्थ्यो तर अहिले तराई क्षेत्रलगायत देशका अन्य भू–भागमा कोरोना संक्रमण नियन्त्रणमा आइसकेको अवस्था छ । तर, दशैंको मुखमा उपत्यका भने संक्रमणको उच्च जोखिममा परेको छ । 

कोरोनाविरुद्ध लगाइएको दोस्रो पटकको लकडाउन खुलेसँंगै काठमाडांै उपत्यकामा एकाएक कोरोना संक्रमितमा वृद्धि देखिएको हो । अवस्था यतिसम्म आएको छ कि एक घर एक संक्रमितको अवस्था आइसकेको छ । बाक्लो जनघनत्व, बाहिरी जिल्लाबाट सर्वसाधारणको आवागमन र रोगप्रति नागरिकको लापरबाही नै उपत्यकामा यो अवस्था सृजना भएको विज्ञहरूले बताएका छन् । तर, सरकार तत्काल लकडाउन गर्ने पक्षमा छैन । लकडाउन लगाउँदा विभिन्न क्षेत्रबाट व्यापक विरोध भएसँगै सरकार नागरिकलाई स्वयं सचेत बन्न सुझाउँदै आएको छ । 

अस्पतालमा छैन बेड, गम्भीर प्रकृतिका बिरामी मारमा 

भक्तपुर ठिमीका ७५ वर्षीय एक वृद्धलाई घरको अन्य सदस्यबाट कोरोना संक्रमण स¥यो । कुनै ट्राभल हिस्ट्री नभएको र घरबाट बाहिरसमेत हिँड्डुल नगर्ने उहाँ संक्रमण देखिएसँगै होम आइसोलेसनमा बस्न थाल्नुभयो । तर, तीन दिन होम आइसोलेसनमा बसेपछि संक्रमणले एकाएक च्याप्यो र उहाँलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आयो । उहाँ सुगर र प्रेसरको बिरामी हुनुहुन्थ्यो । 

‘पल्स रेट लो’ हुनुका साथै सास फेर्न गाह्रो भएपछि परिवारका सदस्यले अस्पताल लैजान खोजे । सुरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फोन गरे । तर, बेड छैन भन्ने जवाफ आयो । त्यसपछि कोभिड अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ललितपुरको पाटन अस्पतालमा कतै पनि बेड छैन भन्ने जवाफ आयो । एकपछि अर्को सरकारी अस्पतालमा बेड नभेटिएपछि निजी अस्पतालमा प्रयास गरे । परिवारका सदस्यले केएमसी, मेडिसिटी, स्टार, ह्याम्स लगायतका अस्पतालमा फोन लगाए । चिनेजानेका आफन्तमार्फत पनि सोधीखोजी गराए, तर बेड भेटिएन ।

बिरामीको अवस्था बिग्रँदै गएपछि परिवारका सदस्यले कोभिड अस्पताल (वीर अस्पताल)मा पु¥याए । ठूलै सोर्स लगाएपछि बल्ल–बल्ल दिनभरलाई अस्पतालले भेन्टिलेरमा राख्यो र साँझ अन्यत्र लैजाने दबाब दिएको बिरामीका छोराले हिमालय टाइम्सलाई बताउनुभयो । ‘उहाँ भन्नुहुन्छ, पैसा नै तिर्छु भन्दासमेत उपचार पाउन नसकिने भो, कोही नेतालाई कोरोना भए सबै सुविधासहित अस्पतालमा बेड पाउने, सर्वसाधारणले नपाउने, खोइ सरकार, जनताको यस्तो समस्यामा किन ध्यान जाँदैन ।’

आइतबार दिनभर वीर अस्पतालको भेन्टिलेटरमा राखेको बिरामीलाई साँझ पाटन अस्पतालमा लगियो । संयोगको कुरा आइतबार साँझ अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेका अर्का एक बिरामीको मृत्यु भयो र त्यही ठाउँमा उहाँलाई रोखियो । यसबाट के देखिन्छ भने अबको समय भनेको आफैं बच्ने हो, संक्रमण भएर अस्पताल जानुपर्ने अवस्था आए ज्यानसमेत जोखिममा राख्नुपर्ने देखिन्छ । 

यस्तै, समस्या ललितपुरको पाटनका ८० वर्षीय वृद्धमा समेत देखियो । उहाँसहित घरका तीन जना सदस्यमा कोरोना संक्रमण पुष्टि भयो । अन्यमा समस्या नदेखिए पनि उहाँमा भने अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था आयो । उहाँका छोराका अनुसार, ‘हामी घरका चार सदस्यमध्ये तीन जनामा कोरोना पुष्टि भयो, तीन जना त सामान्य नै छौं, घरमै बसेका छौं, तर बुबालाई एकाएक च्याप्यो, तत्काल अस्पताल लान खोज्दा सबैले बेड खाली छैन भन्ने जवाफ दिए ।’ उहाँ भावुक हुँदै भन्नुहुन्छ, ‘देशमा सरकार साच्चिकै रहेनछ, त्योदिन मरेको बराबर भयो मलाई, पैसा तिर्छु बरु बढी लेऊ भन्दासमेत बुवालाई उपचार गराउन एउटै अस्पताल फेला परेन । उहाँ भन्नुहुन्छ, ‘सरकारी अस्पताल त नेता र तिनका कार्यकर्ताका लागि मात्र रहेछ, सर्वसाधारणलाई खोइ अस्पताल ?’ केही समस्या परे १११५ र ११३३ हटलाइन नम्बरमा फोन गर्नु भन्छ सरकार । न फोन उठ्छ, उठिहाले न राम्रो व्यवहार गरिन्छ । यो सबै कसले हेर्ने हो । उहाँ भन्नुहुन्छ, ‘बल्ल–बल्ल १० ठाउँमा भन्न लगाएर बुवालाई निदान अस्पतालको आइसियुमा भर्ना गरेको छु । सरकारले ‘कु’ बेलामा लकडाउन गरेको रहेछ । लकडाउन गर्ने बेला त अहिले पो रहेछ ।’ 

पुरानो बानेश्वरका एक कोरोना संक्रमित भन्नुहुन्छ, ‘अस्पताल जान खोजेको हो, कतै बेड पाइएन, आफूलाई रोगले धेरै च्यापेको अवस्था पनि छैन । त्यही भएर मैले अनलाइन र फोनबाटै डाक्टरसँग परामर्श गरेँ । डाक्टरले घरमै निगरानी गर्ने तरिका सिकाएपछि अहिले घरमै उपचार गराइरहेको छु । दिनहुँ ध्यान गर्छु, घाममा बस्छु ।’

नाम नखुलाउने शर्तमा आफ्नो पीडा लिएर आएका यी त केही प्रतिनिधि पात्र मात्र हुन् । यस्ता सयौं समस्या अहिले यत्रतत्र देख्न सकिन्छ । कति त संक्रमित अवस्थामै खुलेआम बजारमा भेटिएका पनि छन्, कति संक्रमित भए पनि लुकाएर बसेका छन् । जब समस्या आउँछ तब मात्र यी कुराहरू बाहिर आइरहेका छन् । जसले गर्दा पनि राजधानी उच्च जोखिममा परिसकेको स्वास्थ्य विज्ञहरूनै बताउँछन् । तर, सरकार भने कानमा तेल हालेर बसेको छ । 

अस्पतालमा बेड छ, खाली छैन

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरी गम्भीर प्रकृतिका समस्या बाहेकका बिरामी अस्पताल नआउन सुझाउनुहुन्छ । तर, गम्भीर प्रकृतिका बिरामी जाँदासमेत यहाँ राख्ने ठाउँ नै छैन । हिमालय टाइम्सँग कुरा गर्दै उहाँ भन्नुहुन्छ, ‘अस्पतालमा तीन सय आइसोलेसनमा २६ वटा आइसियु र २६ वटा भेन्टिलेटर छन्, सबै प्रयोग भइरहेका छन्’ उहाँ भन्नुहुन्छ, ‘हामीसँग उपलब्ध सबै बेडहरू प्याक छन्, नयाँ संक्रमित थपिए राख्ने ठाउँ छैन ।’ यहाँ बाहिरी जिल्लाबाट आएका संक्रमितहरूको समेत उपचार भइरहेको छ, त्यसैले पनि म्यानेज गर्न समस्या भइरहेको उहाँको भनाइ छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अवस्था पनि उस्तै छ । बेड क्षमताभन्दा बढी संक्रमितलाई राख्नुपर्ने अवस्था छ । उक्त अस्पतालको पाँच क्याबिनसहित २५ बेडको आइसोलेसेन सेन्टर भरिएको छ । २० बेडको आइसियु र ६ बेडको भेल्टिलेटरमा पनि बिरामी छन् । पाटन अस्पतालको अवस्था त्योभन्दा फरक छैन । अस्पतालका अनुसार ‘जति बेड छन्, सबै भरिएका छन् ।’ संक्रमणमुक्त भएर कोही डिस्चार्ज भए वा कसैको मृत्यु भए प्राथमिकताअनुसार बिरामी राख्ने गरिएको छ, एक चिकित्सकले भने ।

अस्पतालहरूमा यतिसम्म समस्या छ कि आइसियु र भेन्टिलेटर प्याक हुँदा अन्य बिरामीहरूको उपचारसमेत प्रभावित बन्दै गएको छ । यता, सुरक्षा निकायका तीन अस्पतालमा कोरोना भाइरसका संक्रमितलाई भर्ना गर्ने गरिएको छ । तर, वीरेन्द्र अस्पताल, छाउनी र नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा संगठनका कर्मचारी र परिवारका सदस्यलाई मात्र भर्ना गर्ने गरिएको छ ।

छाउनीमा ८० आइसोलेसन, २० आइसियु र आठ भेन्टिलेटर बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा १०२ आइसोलेसन, १० आइसियु र दुई भेन्टिलेटर छन् । सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड–१९ विशेष अस्पतालमा १२० आइसोलेसन र २० आइसियु बेड छुट्याइएको छ । कान्ति बाल अस्पतालमा लेभल टू र थ्री गरेर २४ आइसोलेसन, आठ आइसियु र चार भेन्टिलेटर छन् । स्टार अस्पतालले कोभिडका बिरामीका लागि २० आइसोलेसन, दुई आइसियु र दुई भेन्टिलेटर बेड छुट्याएको छ । किस्ट अस्पतालले लक्षण नभएकाहरूका लागि ३० र लक्षण भएकाहरूका लागि १० बेडको आइसोलेसन र चार आइसियु र दुई वटा भेन्टिलेटर छुट्याइएको छ । यीबाहेक अन्य निजी अस्पतालहरूमा समेत कोभिडका लागि भनेर बेड छुट्टयाइएको छ । तर, सबै अस्पतालका आइसियु बेड र भेन्टिलेटर बिरामीले भरिएको सम्बन्धित अस्पतालहरूले जनाएका छन् । 

मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरको तथ्यांकअनुसार उपत्यकाका सरकारी र निजी अस्पतालहरूमा गरी १९३ आइसियु र ८२ भेन्टिलेटर छन् । तर, अधिकांश अस्पतालमा कोभिडका लागि छुट्याइएको आइसियु र भेन्टिलेटर बेड भरिएका छन् । साथै आइसियुका लागि वेटिङमा बस्नेहरूको संख्या ठूलो छ । कति त वेटिङमा बस्दा बस्दै ज्यानै गुमाउनुपर्ने अवस्थासमेत रहेको छ । 

कोरोना नियन्त्रणमा सरकार उदासीन

‘नेपालीलाई कोरोना लाग्दैन, लागे पनि पचाउँछन्’ भन्ने शैलीमा सुरुवाती समयमा सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा खासै चासो राखेन । त्यसको परिणाम अहिले टोल–टोल कोरोना संक्रमितले भरिएका छन् । विशेषतः क्वारेन्टिनको उचित व्यवस्थापन नभएका कारण संक्रमण मात्र होइन, ज्यानकै जोखिम बढेको हो ।

सरकारको प्रवृत्ति जे कुरामा पनि झारा टार्ने, गम्भीर ढंगले नलिने छ । कोरोना संक्रमणकै सन्दर्भमा पनि नियमित कोरोना अपडेट गर्नु र सुझाव दिनुबाहेक अरू केही देखिएको छैन । जनता उपचार नपाएर मर्नुपर्ने अवस्था आउँदासमेत सरकार मौन देखिन्छ । 

जनता नै टेर्दैनन् भने यो अवस्था आउनु स्वाभाविक : डा. गौतम

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकार कोरोना व्यवस्थापनमा दिनरात लागेको छ, तर जनताले नै अटेर गर्छन् भने यो अवस्था आउनु स्वाभाविक नै हो । उहाँले कोरोना संक्रमणको दर बढ्दै जाँदा अप्ठ्यारो परिस्थिति आएकोे बताउनुभयो । 

उहाँले अस्पतालबाट डिस्चार्ज हुनेभन्दा भर्ना हुने क्रम बढ्दै जाँदा निकै कठिन अवस्था आएको बताउनुभयो । ‘हाम्रो लागि धेरै अप्ठ्यारो समय आएको छ । संक्रमितको संख्या धेरै बढेको छ । अस्पताल र आइसोलेसन सेन्टरहरू भरिएका छन् । खचाखच बिरामी छन्,’ उहाँले भन्नुभयो । ‘उहाँहरूको डिस्चार्ज हुने दर घटेको छ र बिरामी हुने दर बढेको छ । यसले हामीलाई धेरै अप्ठ्यारो परिस्थितिमा पु-याउँदैछ, डा.गौतमले भन्नुभयो । 

‘४० लाख जनसंख्या भएको काठमाडौंमा एक-दुई लाख मानिस संक्रमित हुँँदा धान्ने पूर्वाधार नै कहाँ छ र, आइसियु र भेण्टिलेटर पाउनु ?’ डाक्टर गौतमले भन्नुभयो ‘यो दिन आउँछ भनेर मन्त्रालयले नागरिकहरूलाई सतर्क बनाएको पनि थियो, तर मानिसहरू कोही नारा जुलुस गर्ने, कोही जात्रा गर्ने अनि डाक्टरहरू नै सडकमा निस्केर आन्दोलन गर्ने भएपछि यो अवस्था आउनु स्वाभाविक नै हो ।’ तर पनि सरकारले पहिलो प्राथमिकतामा राखेर यसको समाधानतर्फ लाग्दैछौं, उहाँले हामीसँगको कुराकानीमा जानकारी दिनुभयो । 

उपत्यकामा संक्रमण चौथो चरणमा प्रवेश ग-यो : डा. बाबुराम मरासिनी, भाइरोलोजिष्ट

वरिष्ठ चिकित्सक एवं भाइरोलोजिष्ट डा. बाबुराम मरासिनी काठमाडौं उपत्यकामा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरेको बताउनुहुन्छ । उहाँले पछिल्लो केही दिनयता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रूपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रूपमा लिनुपर्ने बताउनुभयो । 

डा. मरासिनीले काठमाडौं उपत्यकाभित्रका सबै समुदाय, घर, कार्यालयलगायत सबै क्षेत्रमा संक्रमण फैलिइसकेकाले स्थिति नियन्त्रणबाहिर गइसकेको बताउनुभयो । सरकारले समय छँदा सही नीति लिन नसकेकै कारण संक्रमणको जोखिमलाई नियन्त्रणमा लिन नसकिएको उहाँको भनाइ छ । 


Views: 93