2nd December | 2020 | Wednesday | 12:10:18 PM

प्रोस्टेट ग्रन्थीमा समस्या, लक्षण र उपचार

हिमालय टाइम्स   POSTED ON : आश्विन ३०, २०७७ (९:१४ PM)

प्रोस्टेट ग्रन्थीमा समस्या, लक्षण र उपचार

काठमाडौं । जैविक विकासमा प्रोस्टेट ग्रन्थी वृद्धिको  महत्व के होला ? अथवा यसको के जरुरी होला ? त्यो अझ ठम्याइएको छैन । यो एउटा खालि पुरुष शरीरमा भएका हर्मोनहरुको असन्तुलनको उपोत्पादन मात्रै हो पनि भनिन्छ ।  जे भए पनि धेरै पुरुष प्रोस्टेट ग्रन्थीको वृद्धिका कारण सामान्य अवस्थामा जस्तो मुत्र सञ्चय तथा निकास गर्न नसकेर पीडित हुन्छन् । यो ग्रन्थी खासै नबढे पनि यदि यसले विभिन्न कारणबस आफ्नो लचकता केही मात्रामा मात्र गुमाउन पुगे पनि मुत्र निष्कासनमा समस्या उत्पन्न हुन्छ ।

प्रोस्टेट रोग पछिको लक्षणः

-बारबार मुत्र संक्रमण भइरहने।

- मुत्र रक्तस्राव हुने।

- मुत्रथैलीमा पत्थरी जम्ने।

- सुतेको बेला ओछ्यानमा पिसाब चुइने।

- मुत्रथैलीले लचकता गुमाएर मुत्र बाहिनी नली तथा मिर्गौला फुले तथा मिर्गौलाको कार्य क्षमता ह्रास भएर आउने।

- पिसाप पूरा रोकिने र पुरुष क्याथेटर लगाएर मुत्र निकास गर्न बाध्य हुने।

मुत्रनलीको सुरुको भाग सबैतिरबाट प्रोस्टेट ग्रन्थीले घेरेको हुनाले मुत्र निकासमा समस्या उत्पन्न गर्न सक्छ । युवा अवस्थामा ग्रन्थीको संक्रमण भए प्रोस्टेट सुन्निएर मुत्रनलीको सुरुको भाग साँगुरिन्छ र पिसाब रोकिन सक्छ, तर यो अस्थायी समस्या हुन्छ।

पुरुषहरुमा उमेर बढेसँगै प्रोस्टेट ग्रन्थीमा समस्या उत्पन्न हुन थाल्छ । त्यसले पिसाब फेर्नमै समस्या हुन्छ । यद्यपि, नियमित यौन सम्पर्कले यो समस्यालाई निराकरण गर्न सक्छ । यौन सम्पर्कबाट प्रोस्टेट ग्रन्थीको वरपरको मांसपेशीमा तनाव उत्पन्न हुन्छ, जसबाट प्रोस्टेटभित्र रहेको अतिरिक्त द्रव पदार्थ बाहिर निस्कन्छ र समस्या समाधान हुन्छ । तर, त्यसका लागि तपाईले यौन सम्बन्धलाई नियमित बनाउनु पर्छ ।

रोग निदान

रोग निदानको मुख्य उद्देश्य प्रोस्टेट ग्रन्थी र वा मुत्रनलीको सुरुको भागको कारण मुत्रथैली निर्गम मार्गमा अवरोध उत्पन्न भएको छ वा छैन भनी यकिन गर्नु हो। यसका निम्ति सामान्य सोधपुछ, औँलाले प्रोस्टेटको जाँचदेखि लिएर जटिल आधुनिक यन्त्रबाट गरिने जाँचसम्म प्रयोग गर्नुपर्ने हुन सक्छ ।

औषधि उपचार

प्रोस्टेट संलग्न मुत्र लक्षणबाट मुक्त हुनका लागि पीडित पुरुषले चिकित्सककोमा जानुपर्छ। त्यसको निम्ति सामान्यतया दुई प्रकारका औषधि प्रयोगमा ल्याउने गरिन्छ।

- मुत्रथैलीको घाँटी तथा मुत्रनलीको सुरुको भागका (प्रोस्टेटले घेरेर राखेको भाग) मांसपेशीलाई खुकुलो पार्न ’टामसुलोसिन’ वा ’आल्फुजोसिन’ वर्गका औषधि प्रयोग गरिन्छ। यी दुवै औषधि प्रायः सबैका निम्ति उही मात्रामा घटी/बढी नगरेर दिन मिल्छ। धेरै बिरामीले औषधि प्रयोग गरेको दिनदेखि नै पिसाप फेर्न केही सहज महसुस गर्छन्।

-अर्कोथरी औषधिको प्रयोग प्रायः प्रोस्टेट ग्रन्थी ४० ग्राम वा बढी हुँदा मात्र गरिन्छ। यसको फाइदा बिरामीले तुरुन्त थाहा पाउनेगरी हुँदैन। यी ’फिनसटेराइड’ वा ’ड्युटास्टेराइड’ वर्गमा पर्ने दुवै औषधिको मात्रा पनि निश्चित हुन्छ। करिब ६ महिनाको प्रयोगपछि यसले ग्रन्थीको २० प्रतिशत तौल घटाउँछ।

- माथि उल्लेखित दुवै थरिका औषधिका केही नकारात्मक असर पनि छन्। मुत्रनली मांसपेशी खुकुलो पार्ने औषधिको प्रयोग गर्दा केही दिन सुरुमा ज्यादै चनाखो हुनुपर्छ। उठ्दा एक्कासी रिँगटा लाग्ने, पिसाब फेरिसकेपछि एक्कासी बेहोस हुने, कमजोरी महसुस हुने जस्ता साइड इफेक्ट भए औषधि बन्द गर्नुपर्छ।

-दुवै थरिका औषधिले वीर्य स्खलन रोक्ने, वीर्यको मात्रा घटाउने र यौन गतिविधिमा कमी ल्याउने जस्ता नकारात्मक असर पार्न सक्छन्।

शल्य उपचार

- बारबार मुत्र संक्रमण भइरहने, मुत्र रक्तस्राव हुने, मुत्रथैलीमा पत्थरी हुने, पिसाप चुहिने, कनेर पिसाप फेर्नुपर्ने, पिसाप फेरिसकेपछि थैलीमा थुप्रै पिसाप बाँकी रहने, पिसाप फेर्न नसक्ने र पिसापको थैली तन्केर मुत्र बाहिनी नली तथा मिर्गौला फुलेका बिरामीको शल्य उपचार अनिवार्य हुन्छ।

- शल्य उपचारका धेरै विधि भए पनि मुत्र निर्गममा बाधा पु¥याउने ग्रन्थीको भाग हटाउनु र मुत्रथैलीको घाँटीलाई फराकिलो पार्नु शल्य उपचारको मुख्य उद्देश्य हो।

-चिकित्सकले आफ्नो तालिम, व्यक्तिगत अनुभव र उपलब्ध औजारका आधारमा कुन तरिकाले शल्यक्रिया गर्ने निर्णय लिनुपर्छ।

-बिरामी र चिकित्सकको परामर्शपछि कुन विधिबाट शल्यक्रिया गर्ने त्यसको छिनोफानो हुनुपर्छ।

- जुनसुकै तरिकाले शल्यक्रिया गरे पनि प्रायः शल्यक्रियापछि ८० प्रतिशत बिरामी वीर्य स्खलनबाट वञ्चित हुन्छन्।

-करिब ३/७ प्रतिशत बिरामीमा शल्यक्रियापछि मुत्रनलीको घाँटी वा मुत्रनली साँघुरिएर खोल्नुपर्ने हुन सक्छ।

- शल्यक्रिया अगाडि लामो समय पिसापको थैली तन्किएका, मधुमेहका कारण मुत्रथैली निस्क्रिय भएका र दिसा कब्जियत भइरहने बिरामीहरूमा शल्यक्रियापछि एक/डेढ महिना वा बढी मुत्रथैलीमा क्याथेटर (नली) लगाउनुपर्ने हुन सक्छ।

- शल्यक्रिया कुन उमेरमा गर्नुपर्छ?

पुरुषलाई जुन उमेरमा प्रोस्टेट ग्रन्थी लक्षण देखा पर्छ र मुत्र अवरोध हुन्छ त्यही उमेरमा शल्यक्रिया गर्न मिल्छ। 

-विभिन्न पत्रपत्रिकाबाट


Views: 167