2nd December | 2020 | Wednesday | 12:55:48 PM

कोरोना संक्रमणको अवस्था भयावह, सरकारको ध्यान पूर्वाधार विकासमा नगएको विज्ञहरूको आरोप

कृष्ण भुसाल   POSTED ON : कार्तिक १, २०७७ (९:३१ AM)

कोरोना संक्रमणको अवस्था भयावह, सरकारको ध्यान पूर्वाधार विकासमा नगएको विज्ञहरूको आरोप

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दो छ । पछिल्ला दिनमा संक्रमणदर निकै आक्रमक गतिमा बढ्न थालेको छ । संक्रमण बढिरहँदा बजारमा सर्वसाधारणको भिडभाड पनि कायमै छ । आजदेखि हाम्रो महान् पर्व दसैँ सुरु भएको छ । यसले अझ झनै भिडभाड बढाएसँगै कोरोनाको संक्रमण अझ बढ्ने देखिन्छ । यसबाट बच्नका लागि हामी आफैँ सचेत हुनुपर्ने अवस्था आएको छ । भिडभाड नरोकिँदा कोरोना संक्रमणको जोखिम डरलाग्दो रूपले झन् बढ्ने निश्चित छ । समुदायस्तरमा पुगेको कोरोना अहिले चौथो चरणमा रहेको विज्ञहरूले बताउँदै आएका छन् ।

उपत्यकासहित मुलुकभर कोरोना संक्रमण बढ्दो क्रममा रहे पनि सरकारले पूर्वाधार विकासलाई बेवास्ता गर्दा संक्रमणको अवस्था भयावह बन्दै गएको छ । सक्रिय संक्रमितको संख्या ३७ हजारभन्दा बढी भएसंँगै उपत्यकासँगै अन्य स्थानमा पनि आइसियु र भेण्टिलेटरको अभाव सुरु भएको छ । लक्षणसहितका संक्रमित बढ्दै जाँदा अधिकांशलाई आइसियुको आवश्यकक्ता देखिन थालेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरोकारवाला यसमा गम्भीर नबन्दा समस्या बढ्दै गएको हो । विज्ञहरूले यही अवस्था कायम रहे भोलिका दिनमा मुलुकमा गम्भीर स्वास्थ्य संकट उत्पन्न हुने बताइरहेका छन् । कोरोना संक्रमितहरूले नै आइसियु र भेण्टिलेटर भरिभराउ हुँदा अन्य प्रकृतिका बिरामीले निक्कै सास्ती खेप्नुपरेको छ ।

शुक्रबार थप ४३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै देशभर कुल संक्रमितको संख्या योसँगै संक्रमितको कुल संख्या एक लाख २६ हजार १३७ पुगेको जानकारी दिनुभयो । देशभर शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।

थप तीन हजार ५२२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै हालसम्म ८८ हजार ४० जना कोरोना संक्रमित निको भएका छन् । डिस्चार्ज हुने दर ६९ दशमलव ८ प्रतिशत रहेको छ । देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएको छ । योसँगै हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पिसिआर परीक्षण गरिएको छ । 

देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना छन् भने चार हजार ८०८ जना क्वारेन्टिनमा छन् । ७७ जनाको भेन्टिलेटरमा र ३१५ जना आइसियुमा उपचाररत छन् ।

काठमाडौं उपत्यकामा शुक्रबार दुई हजार ४०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जनालाई कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमित मृतकको संख्या सात सय नाघेको छ । गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहीबार १९ जनाको मृत्यु भएको थियो ।

दीर्घ रोगीहरूलाई घरमै बस्न मन्त्रालयको अपिल

मन्त्रालयले गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा तीव्र रूपमा कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि जोखिममा रहेका व्यक्तिलाई घरबाहिर ननिस्कन मन्त्रालयले अनुरोध गरेको हो । प्रवक्ता डा. गौतमले अत्यावश्यकबाहेक गर्भवती, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूलाई बाहिर ननिस्कन आग्रह गर्नुभएको हो । अस्पतालहरूमा आइसियु भरिँदै गएकाले स्वास्थ्यको ख्याल गर्न प्रवक्ता गौतमले आग्रह गर्नुभयो । परिवारका अन्य सदस्यहरू पनि उनीहरूको कम सम्पर्कमा रहन मन्त्रालयले सबैलाई अपिल गरेको छ । ‘६० वर्षमाथिका, गर्भवती, बालबालिका, दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक कम भएका व्यक्तिहरू घरबाट बाहिर ननिस्कन आग्रह छ,’ प्रवक्ता गौतमले भन्नुभयो,‘संक्रमणको जोखिम बढ्दै गएको, अस्पतालको बेडहरू खचाखच भरिँदै गएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न मन्त्रालयको अनुरोध छ ।’

‘कोरोना फैलियो, सभा, सम्मेलन रोकिदिनू’

देशमा कोरोनाको गम्भीर संकट चुलिँदै गर्दा राजनीतिक दलले भिड जम्मा गरेर गर्ने कार्यक्रम नगर्न सरकारले आग्रह गरेको छ । प्रवक्ता डा. गौतमले भिड जम्मा हुने गरी भइरहेका आफ्ना गतिविधि रोक्न राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको हो । ‘अहिलेको संकटमा धेरै मानिसहरूको भिड जम्मा गरेर सभा, गोष्ठी, भेला र सम्मेलन गर्नु उपयुक्त होइन’, गौतमले भन्नुभयो, ‘राजनीतिक पार्टीका नेता र समाजका प्रबुद्ध व्यक्तिहरू भिडमा जाँदा कोरोना सरिरहेको छ । त्यसैले राजनीतिक दलहरूले सभागोष्ठी, सम्मेलन, जुलुस नगर्नू । दलका नेताहरूले संकटको यो अवस्था बुझेर भिडभाडमा नगइदिएर सुरक्षित भइदिनू ।’

औषधि तथा सामग्रीहरू उपलब्ध गराउन चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले कोरोनाको उपचारमा अत्यावश्यक पर्ने औषधि तथा सामग्रीहरूको सहज उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोरोनाको उपचारमा आवश्यक पर्ने आइसियु बेड, भेण्टिलेटर, अक्सिजन, रेमडीसिभिरलगायत अत्यावश्यक औषधिहरू सहज रूपमा उपलब्ध गराउन माग गरेको हो । संघले कोरोनाको उपचारका लागि उचित वातावरण तयार गर्न पनि सरकारलाई आग्रह गरेको छ । ननकोभिडका बिरामीहरूको उपचार गराउन कठिनाइ भएको भन्दै संघले सरकार संवेदनशील भई अविलम्ब प्रभावकारी कदम उठाई संक्रमणको नियन्त्रण गर्न आवश्यक रहेको जनाएको छ । अस्पतालहरूमा बेड, आइसियु, भेण्टिलेटर, अक्सिजन र रेमडिसिभिरलगायत अत्यावश्यक औषधिको अभावमा संक्रमितहरू भौतारिन बाध्य भएको भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको हो ।


Views: 49