2nd December | 2020 | Wednesday | 12:39:38 PM

कोरोना मृत्युदर उच्च रहेको सिन्धुपाल्चोक आइसियुविहीन

विजय नेपाल   POSTED ON : कार्तिक १, २०७७ (९:५४ AM)

कोरोना मृत्युदर उच्च रहेको सिन्धुपाल्चोक आइसियुविहीन

चौतारा । कोरोना भाइरसको कारण लाग्ने कोभिड–१९ का कारण नेपालमै पहिलो मृत्यु भएको सिन्धुपाल्चोकमा कोरोना मृत्युदर उच्च रहेको छ । ३३० जनामा कोराना संक्रमण देखिँदा आठ जनाको मृत्यु भइसकेको सिन्धुपाल्चोकमा अहिलेसम्म न त आइसियु वेड छ न त भेन्टिलेटर नै ।

नेपालमा कुल संक्रमितमध्ये शून्य दशलमव ५७ प्रतिशत मानिसको मात्रै मृत्यु हुँदा सिन्धुपाल्चोकमा भने मृत्युदर दुई दशमलव ४२ प्रतिशत रहेको छ । मुलुकभरको तुलनामा चार गुणाभन्दा ज्यादा मृत्यु भएको सिन्धुपाल्चोकमा निको हुने दर पनि ४८ दशमलव ६७ मात्रै रहेको छ । जबकि नेपालभर यो संख्या ६९ दशमलव ४२ रहेको छ । 

स्वास्थ्य कार्यालय, चौताराका कार्यालय प्रमुख दुर्गादत्त चापागार्इँका अनुसार सिन्धुपाल्चोकमा जिल्लाभित्र भन्दा जिल्लाबाहिर परीक्षण गरी कोरोना पुष्टि हुनेको संख्या धेरै छ । मृत्यु पनि अधिकांश जिल्लाबाहिर नै भएको छ । मृत्यु हुनेमध्ये सात जनामा अन्य कुनै रोगको कारण जिल्लाबाहिरका अस्पताल गएकामा कोरोना संक्रमण पुष्टि भएको र उपचारकै क्रममा निधन भएकाहरू हुन् । 

कोरोना संक्रमितलाई राख्नका लागि जिल्लामा तयार गरिएका आइसोलेसन तथा क्वारेन्टिन बेडहरूसमेत अहिले भरिभराउ छन् । स्थानीय तथा प्रदेश सरकारले तयार गरेका आइसोलेसन केन्द्रहरूमा जिल्लाभित्र अहिले कोरोना संक्रमण पुष्टि भएका ५३ जना बसिरहेका छन् । संक्रमण देखिएका ४४ जना भने असुरक्षित रूपमा घरमा नै होम आइसोलेसनमा बसिरहेका छन् । जिल्लामा अहिलेसम्म गम्भीर प्रकृतिका लक्षण सहितको कोरोना संक्रमित नभेटिए पनि  सामान्य लक्षणसहितको विरामीको संख्या भने बढिरहेको चापागाईँको भनाइ छ । 

१५ वेड क्षमता मात्रै भएको सिन्धुपाल्चोकको जिल्ला अस्पताल चौतारामा एउटा पनि आइसीयु वेड तथा भेन्टिलेटर छैन । जिल्लामा रहेका अन्य निजी अस्पतालहरूमा समेत सघन उपचार कक्ष छैन । जिल्लामा एउटा पनि सघन उपचार कक्ष नहुँदा गम्भीर लक्षणका कोरोना संक्रमित भेटिएमा उपचारको लागि राजधानी नै पठाउनुपर्ने बाध्यता रहेको चापागाईँले बताउनुभयो । 

भूकम्पले क्षतिग्रस्त भएको जिल्ला अस्पतालको भवन अझैसम्म पनि निर्माण हुन सकेको छैन । भवन नहुँदा अस्थायी टहरोमा नै अस्पताल सञ्चालन भइरहेको छ । भवन अभावकै कारण आइसियुको लागि ठाँउ व्यवस्थापन गर्न नसकिएको चापागाँईले बताउनुभयो । 


Views: 14