2nd December | 2020 | Wednesday | 11:40:13 AM

उपचारका क्रममा तीन संक्रमितको मृत्यु

  POSTED ON : कार्तिक ४, २०७७ (११:२६ AM)

उपचारका क्रममा तीन संक्रमितको मृत्यु

 काठमाडौं । चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक  वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।

त्यसैगरी चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । गत असोज १७ गते सर्पले डसेको शङ्का लागेर अस्पताल भर्ना गरिएकोमा उहाँको १८ असोजमा कोरोना पोजेटिभ देखिएकोे थियो । स्वासप्रस्वासको समस्या आएपछि उपचारको क्रममा आज बिहान उहाँको मृत्यु भएको  हो ।

धरानमा थप संक्रमितको मृत्यु 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ ।  इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले यही कात्तिक १ गते कोरोना पोजेटिभ भएपछि उनलाई भोलिपल्ट अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो । नियमानुसार शव व्यवस्थापन भइरहेको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६६ पुगेको छ । 

 


Views: 121