रुपन्देही । रुपन्देहीमा उपचाररत थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु कपिलबस्तु, दाङ र गुल्मीका हुन् । बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा दाङको तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षिय पुरुषको आज विहान साढे ८ बजे मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टी भएर दाङको बेलझुण्डी अस्पतालमा भर्ना हुनुभएका उहाँ त्यहाँ आइसियुको अभाव भएपछि सोमबार मात्र रिफर भएर बुटवल आउनुभएको थियो । कोरोना अस्पतालमा आइसियुमा उपचार भइरहेको बेला उहाँको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
यस्तै कपिलबस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाकी ५० वर्षिय महिलाको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । मंसिर १३ गते कोरोना संक्रमण पुष्टी भएर होम आइसोलेनमा रहनुभएकी उहाँलाई १५ गते सोमबार अस्पतालमा भर्ना गरिएको थियो । कोरोना अस्पतालको आइसियुमा उपचाररत उहाँको गयराती १० बजेर ५ मिनेटमा मृत्यु भएको डा. गौतमले बताउनुभयो ।
उता भैरहवाको भीम अस्पतालमा कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका ३ बाट उपचारका लागि आएका ९८ वर्षिय पुरुषको गएराति पौने १ बजे मृत्यु भएको भीम अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले जानकारी दिनुभयो । गत विहिबार कोरोना संक्रमण पुष्टी भएपछि उहाँलाई उपचारको लागि भैरहवा ल्याइएको थियो ।
Views: 97