जुम्ला । जुम्लाको तिला गाउँपालिका–३ मा १० शैयाको अस्पताल शिलान्यास गरिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले उक्त अस्पतालको शिलान्यास गर्नुभएको हो । संघीय सरकारको एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने अभियानअन्र्तगत अस्पतालको शिलान्यास गरिएको मन्त्री रावतले बताउनुभयो । शिलान्यासका क्रममा मन्त्री रावतले बजेटको अभाव हुन नदिइने बताउनुभयो । ‘स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो, यसमा हामी बजेट अभाव हुन दिने छैनौँ’, उहाँले भन्नुभयो, ‘हामी नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि अघि बढेका छौँ । अस्पताल निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन संघीय सरकारले गर्नेछ ।’
जनताको आधारभूत स्वास्थ्य ग्यारेन्टी गर्ने दिशातर्फ अग्रसर भएर स्थानीय सरकारले काम गरेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । उहाँले स्वास्थ्य, शिक्षा, सडक, विद्युतीकरण, खानेपानी, सिंचाइ र कृषिको आधुनिकीकरणजस्ता विषयमा तिला गाउँपालिकाले तीव्र गतिमा काम अघि बढाएको उपाध्यक्ष बुढाले बताउनुभयो । १० करोड लागतमा सो अस्पतालमा निर्माण गरिने भएको छ । बहुवर्षीय टेन्डरका आधारमा जतिसक्दो चाँडो अस्पताल निर्माण कार्य सम्पन्न गरिने गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो ।
Views: 70