6th March | 2021 | Saturday | 11:21:05 AM

अस्पतालको चरम लापरबाही, मिर्गाैला ठिक भएकालाई बिग्रिएको रिपोर्ट !

  POSTED ON : पुष १, २०७७ (९:४६ AM)

अस्पतालको चरम लापरबाही, मिर्गाैला ठिक भएकालाई बिग्रिएको रिपोर्ट !

विराटनगर । तपाईंको स्वास्थ्य अवस्था ठिक छ, देखिने गरी कुनै स्वास्थ्यमा समस्या पनि छैन । तर, अचानक तपाईको दुवै मिर्गाैला बिग्रिएको स्वास्थ्य रिपोर्ट तपाईंको हातमा प¥यो भने तपाईंको अवस्था कस्तो होला ? एक पटक सोच्नुहोस् त । 

त्यति मात्रै हैन, त्यस्तो रिपोर्ट आएको केही दिनपछि पुनः पहिलेको रिपोर्ट त गलत रहेछ, भन्दै सबै ठिक भएको नतिजा हात पर्दा तपाईंलाई कस्तो लाग्ला ? विराटनगरको एक नाम चलेको अस्पतालको लापरबाहीका कारण एक सेवाग्राहीले यस्तै समस्या भोग्नु परेको छ । 

विराटनगरमा रहेको विराट मेडिकल कलेज टिचिङ अस्पतालको गलत परीक्षण रिपोर्टका कारण चार दिनसम्म होस उडेका सेवाग्राही हुन् संखुवासभा पाँचखपन–४ का ६१ वर्षीय प्रेमबहादुर श्रेष्ठ । श्रेष्ठको अन्तिम रिपोर्ट सामान्य आए पनि उहाँ अझै मानसिक रूपमा विक्षिप्त हुनुहुन्छ । 

घटना यसरी सुरु हुन्छ....

श्रेष्ठ इटहरीमा नातिनिको बेल विवाह र विराटनगरमा भाञ्जीको विवाहमा सहभागी हुन मंसिर १९ गते तराई झर्नुभयो । स्वास्थ्य बिमा गर्नुभएका श्रेष्ठलाई विराटनगर आउँदा नाम चलेकै अस्पतालमा आफ्नो पूरा स्वास्थ्य अवस्था (होल वडी) चेक गर्न मन लाग्यो र मंसिर २५ गते बिहान खाना खाएर कान्छो छोराको साथमा विराट मेडिकल कलेज पुग्नुभयो । 

 स्वास्थ्यमा कुनै देखिने समस्या नभए पनि आन्तरिक केही समस्या होला कि भन्ने सोचेर ‘होलबडी’ चेक गर्न अस्पताल पुग्नुभएका श्रेष्ठ केही समयमै आएको रिपोर्टपछि चिकित्सकको भनाइ सुनेर ‘छाँगा’बाट झरेझँै हुनुभयो, हातखुट्टा थुरुरु काम्यो र थुचुक्क बस्नुभयो । श्रेष्ठको रिपोर्ट हेर्दै चिकित्सकले उहाँलाई भनेका थिए ‘तपाईंको त दुई वटै मिर्गौला काम नदिने अवस्थामा पुगेको छ, अब तपाईं जतिसक्दो चाँडो ‘इमरजेन्सी कक्ष’मा भर्ना हुनुपर्छ, पहिले औषधि प्रयोग गरौँ त्यसपछि डाइलासिस वा प्रत्यारोपण के गर्ने हामी भन्नेछौँ ।’

चिकित्सकले चाँडो ‘इमरजेन्सी कक्ष’मा भर्ना हुनु भनेपछि बाहिर रहनुभएका कान्छा छोरा प्रल्लाद श्रेष्ठलाई बोलाएर सबै कुरा भनेर इमरजेन्सी कक्षमा पुग्नुभयो । रिष्टपुष्ट बुबाको अवस्था त्यस्तो भन्ने सुनेपछि कान्छा छोराले पत्याउनुभएन र दाइहरूलाई पनि सोधेर मात्रै उपचार सुरु गर्ने बताउनुभयो । दाइसँग सल्लाह गरेर अहिले उपचार नगर्ने पुनः विवाह सकेर आउने भन्दै बाबु छोरा अस्पताल प्रशासन र चिकित्सकलाई भनेर २५ गते साँझ ६ बजे अस्पतालबाट निस्किनुभयो । 

इटहरी ९ गैसारस्थित नातिनीको बेल विवाहको तयारीमा जुटेको त्यो परिवारमा अचानक बज्र परेजस्तो भयो त्यसमाथि आफूलाई केही लक्षण नै नहुँदा स्वास्थ्य बिमाको फाइदा लिन होलबडी चेक गर्न पुग्नुभएका प्रेमबहादुरको होस उड्यो । चार दिन चार रात नत खाना राम्ररी नै खाए नत सुत्न नै सके, उहाँ भन्नुहुन्छ । ‘म मानसिक तनावमा परेँ, होस उडेर चार दिन कसरी बित्यो थाहा छैन ।’

चार दिनपछि पुनः सोही अस्पतालमा आएर स्वास्थ्य परीक्षण गराउनुभएका पे्रमबहादुरको त्यस बेलाको रिपोर्ट भने फरक आयो । रिपोर्टमा सबै अवस्था ठिक थियो, बिग्रिएको भनेको मिर्गौला सामान्य अवस्थामा रहेको रिपोर्ट देखेपछि प्रेमबहादुर त सम्हालिनु भयो त्यसपछि अस्पताल प्रशासन र चिकित्सकको भने होस नै उड्यो । चार दिनसम्म आफू तनावमा परेको र मानसिक रोग नै सुरु भएको बताउने प्रेमबहादुर भन्नुहुन्छ, ‘म अस्पातालमै बसेर लु उपचार गरौँ भनेको भए, मलाई बिरामी बनाएर मार्ने नै रहेछन् नि ।’ 

अस्पतालको ल्याबको गलत रिपोर्टका कारण तनावमा पर्नुभएका प्रेमबहादुर र उहाँका परिवारले रिपोर्ट फरक–फरक आएपछि अस्पताल प्रशासन र चिकित्सकसँग वादविवादसमेत गरे । दुईपटक परीक्षण गर्दा सामान्य रिपोर्ट आएपछि अस्पतालको लापरबाहीविरुद्ध प्रदर्शन गर्ने तयारीसमेत गर्नुभएका श्रेष्ठ परिवारले पछि अस्पतालका चिकित्सक र कर्मचारीले माफी मागेपछि त्यतिकै घर फर्किएको बताउनुभएको छ । ‘म त यस्तो लापरबाहीको सिकार बनँे, अन्य नबुभ्mने र चिकित्सकले जे भन्यो त्यही मान्ने कतिको अकालमा ज्यान गरेको होला ? कति गलत उपचारले स्वास्थ्य व्यक्ति पनि अस्वस्थ भए होलान्,’ पीडित श्रेष्ठ भन्नुहुन्छ । 

गल्ती कहाँ भयो अनुसन्धान गर्दैछौँ : अस्पताल

स्वास्थ्य परीक्षणका क्रममा पुग्नुभएका श्रेष्ठको फरक समयमा फरक–फरक नतिजा आएको अस्पतालले स्वीकार गरेको छ । अस्पतालका डाक्टर सन्तोस काफ्लेले श्रेष्ठको पहिलेको रिपोर्टमा दुवै मिर्गाैला फेल देखिएको र दोस्रोमा सही देखिएको बताउँदै यस विषयमा अनुसन्धान भइरहेको बताउनुहुन्छ । ‘गल्ती भएकै छ, मैले ल्याबमा काम गर्नेसँग पहिलो चरणमा बुझेको छु,’ काफ्लेले भन्नुभयो ‘एउटै नाम गरेका दुई जना प्यासेन्टको एकै पटक परीक्षण गर्दा रिपोर्ट साटिएको भन्ने प्रारम्भिक कुरा आएको छ, हामी अनुसन्धान गरिरहेका छौँ ।’

डाक्टर काफ्लेले मंगलबार नै ल्याबमा काम गर्ने सबै कर्मचारी र अन्य चिकित्सकलाई बोलाएर यस विषयमा जानकारी लिएको बताउनुभयो । उहाँले नाम एउटै भएर रिपोर्ट साटिएको वा ल्याबको मेसिन वा कर्मचारीको गल्ती के भएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । ‘गल्ती हो, कहाँ गल्ती भयो पत्ता लगाएर हामी सच्याउँछौँ र अब यस्तो हुन दिने छैनौँ’ उहाँले हिमालय टाइम्ससँगको कुराकानीमा भन्नुभयो । 

विवादमा आइरहने अस्पताल

विराटनगर अस्पताल प्रालिद्वारा सञ्चालित विराट नर्सिङ होम र विराट मेडिकल कलेजमा यस्ता लापरबाहीका घटना बारम्बार दोहोरिने गरेको छ । विराटनगरमा अस्पताल र विराटनगरसँगै जोडिएको बूढीगंगामा यसको मेडिकल कलेज रहेको छ । 

पछिल्लो समयमा कोरोना संक्रमणका कारण उपचारमा पुग्नेमध्ये धेरै बिरामीले यस अस्पतालमा समयमा उपचार र चिकित्सकको निगरानी नहुने भएकाले ज्यान गुमाउनु परेको बिरामीका आफन्त बताउँछन् । संक्रमितमध्ये अन्य अस्पतालको तुलनामा धेरैको ज्यान विराट मेडिकल कलेज र नर्सिङ होममा जाने गरेको छ । केही दिनअघि मात्रै विराट नर्सिङ होमबाट कोरोना संक्रमण मुक्त नभई बिरामीलाई निकालिएको थियो ।

चिकित्सकको लापरबाहीका कारण बिरामीले ज्यान गुमाउनु परेको भन्दै तनाव भइरहने विराट मेडिकल कलेजमा सिक्नेहरूका कारण बिरामीले सही उपचार नपाएको आरोपसमेत लाग्ने गरेको छ । बिरामीलाई अनावश्यक खर्च बोकाउने, बन्धक बनाउने र आत्महत्या गर्न बाध्यसमेत बनाएका घटना विराटनगर अस्पताल प्रालिसँग जोडिएका छन् ।

गत कात्तिक पहिलो साता उपचार गरेबापतको पैसा तिर्न नर्सिङ विराट शिक्षण अस्पतालले कोरोना भाइरस संक्रमित वृद्ध पुरुषको शव नै थुनेर परिवारलाई दिएन । ती संक्रमितका परिवारले अस्पतालले राम्ररी उपचार नगरेका कारण आफ्नो मान्छेको मृत्यु भएको बताएका थिए । विभिन्न बहाना बनाएर उपचारमा तीन लाख ८४ हजार मागेको र राम्ररी उपचार नगर्दा बिरामीको समेत मृत्यु भएको पीडित परिवारको आरोप छ । 

केही समयअघि मात्रै हात भाँचिएका सुनसरी बक्लौरीका सरोज खड्काको गलत उपचारका कारण मृत्यु भएपछि मृतकका आफन्तले विराट शिक्षण अस्पताल तोडफोड गरेका थिए । 

त्यस्तै, अस्पतालले रकम असुल्न रोग बढी देखाएर भर्ना गर्ने र रकम दिन बिरामी र आफन्तलाई तनाव दिएकै कारण विराट नर्सिङ होम (विराटनगर अस्पताल)बाट हामफालेर एक बिरामीले आत्महत्यासमेत गरेका छन् । अस्पतालको दुई तला माथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५३ वर्षीय अमृत गजमेरको उपचारकै क्रममा ज्यान गएको थियो ।

गजमेर असोज १७ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए । अस्पतालले उपचारभन्दा पनि रकममा बढी दबाब दिँदा बिरामी मानसिक तनावमा परेर आत्महत्या गर्न बाध्य भएको उनका परिवार बताउँछन् । फोक्सोमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकको सल्लाहमा उनलाई आइसियुमा भर्ना गरिएको थियो ।

कोरोना महामारी फैलँदै गएको समयमा सो अस्पतालका सञ्चालक तथा प्रमुख डाक्टर ज्ञानेन्द्रमान सिंह कार्की नै संक्रमित हुँदा परिचय लुकाएर बसेपछि प्रहरी परिचालन नै गरेर खोज्नु परेको थियो । पछि अस्पताल सञ्चालक नै हो भन्ने खुलेपछि अस्पताल थप विवादमा परेको थियो । 


Views: 781