6th March | 2021 | Saturday | 10:08:33 AM

पोष्टमार्टम पनि रिफर गर्दै प्रादेशिक अस्पताल, अनावश्यक तनावमा सर्वसाधारण

विवेक खड्का   POSTED ON : पुष ३, २०७७ (९:०० AM)

पोष्टमार्टम पनि रिफर गर्दै प्रादेशिक अस्पताल, अनावश्यक तनावमा सर्वसाधारण

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीकी एक महिलाले झुण्डिएर आत्महत्या गरिन् । तीन दिनअघि उनी आफ्नै कोठामा झुण्डिएर आत्महत्या गर्नुअघि केही सुसाइड नोट पनि लेखिएको जनाउँदै आफन्तले प्रहरीमा किटानी जाहेरी दिए । अहिले सो विषयमा प्रहरीले विषयमा अनुसन्धान थालेको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक केसीले जानकारी दिनुभएको छ ।

जाहेरी परेकाले जतिसक्दो छिटो पोष्टमार्टम गर्नुको साटो राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले पोष्टमार्टम गर्ने विशेषज्ञ नभएको भन्दै अन्यत्र जान रिफर ग¥यो । निमित्त मेसु ओम अर्यालले जारी गरेको रिफर नोटमा ‘यस तुलसीपुर प्रादेशिक अस्पतालमा फरेन्सिक मेडिसिनको विशेषज्ञ नभएका कारण पोष्टमार्टम गर्न नसकिने भएकाले अन्यत्र लैजान रिफर गरिन्छ’ भन्ने उल्लेख गरिएको छ । 

नेपालभरि फरेन्सिक मेडिसिन पढेका विशेषज्ञ आधा दर्जन पनि पुगेका छैनन् । सुरुमा त अस्पताल प्रशासनले पोष्टमार्टम गर्नका लागि जीवित बिरामीको शल्यक्रिया गर्नुअघि जस्तै लिखितम् गराउन खोजेको बिरामीका आफन्तले बताएका छन् ।

‘अस्पताल प्रशासनले गराउन खोजेको लिखितम्मा हामीले दिएको पोष्टमार्टम तपाईंले मान्नुपर्ने छ, त्यसो भए पोष्टमार्टम गर्न सकिन्छ, नत्र अन्यत्र लगेर पोष्टमार्टम गर्नुहोस्’, अस्पताल प्रशासनले भनेको कुरालाई उद्धृत गर्दै मृतकका भिनाजु रमेश तिमिल्सेनाले भन्नुभयो । तर, आफूहरूले पोष्टमार्टमकै लागि पनि लिखितम् दिन मञ्जुर नरहेको उहाँले बताउनुभयो ।

अञ्चलस्तरको भेरी अस्पतालमा दैनिक १६ भन्दा बढी शव पोष्टमार्टम भइरहेको अवस्थामा तुलसीपुर प्रादेशिक अस्पतालले फरेन्सिक मेडिसिन जानेको चिकित्सक छैन भनेर शव पोष्टमार्टममै राजनीति गर्न खोज्नु दुर्भाग्यपूर्ण भएको पनि मृतकका आफन्त तिमिल्सेनाले बताउनुभयो । अन्ततः तेस्रो दिन बिहान घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृतकको शव पोष्टमार्टम गरियो । यद्यपि, प्रतिष्ठानमा पनि मेडिकल अधिकृतले नै पोष्टमार्टम गर्ने हो । आवश्यक र शंकास्पद मृत्युमा मात्रै फरेन्सिक विशेषज्ञले अनुसन्धान गर्ने हो । त्यसका लागि भिसेरा परीक्षण पनि गर्न सकिन्छ । तर, तुलसीपुर प्रादेशिक अस्पतालले पोष्टमार्टन नै नगर्नु र अनावश्यक तनाव दिएर मृतकको शव तीन दिनसम्म सडाउन खोजेको भन्दै तुलसीपुर उपमहानगरपालिका–५ ले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वडाध्यक्ष वीरेन्द्रकुमार शाहले यसअघि दैनिक रूपमा नै पोष्टमार्टम भइरहेको अवस्थामा कुनै पनि विषम परिस्थितिबिना अस्पताल प्रशासन र निमित्त मेसुले लिखित रूपमै पोष्टमार्टम गर्न एकाएक चलखेल गर्दै रिफर गरिनुले अस्पतालको विश्वासप्रति नै आशंका सिर्जना भएको बताउनुभयो ।

कन्ट्रोभर्सी जाहेरी केस थियो : अस्पताल प्रमुख

प्रादेशिक अस्पतालका प्रमुख विनोदकुमार सिंहले किटानी जाहेरी नै आएपछि यो विषय कन्ट्रोभर्सी बनेकाले फरेन्सिक मेडिसिनलाई रिफर गरिएको बताउनुभएको छ । फरेन्सिक स्पेसलिस्ट प्रादेशिक अस्पतालमा नभएकाले अन्यत्र पठाइएको अस्पतालले हतारोमा दिएको चिठीमा उल्लेख गरिएको छ ।

आत्महत्या दुरुत्साहन मुद्दामा मृतकको पोष्टमार्टम गर्न तालिमप्राप्त चिकित्सक चाहिने भएको र त्यस्ता चिकित्सक हाल अस्पतालमा नभएकाले पोष्टमार्टम तालिम प्राप्त चिकित्सककहाँ पठाउन भनी निमित्त मेसु ओम अर्यालले जारी गरेको जानकारी पत्रमा उल्लेख गरिएको छ । तर, यसअघि नै हेमन्तपुरमा भएको एउटा शंकास्पद मृत्युको पोष्टमार्टम भने तुलसीपुरकै प्रादेशिक अस्पतालमा भएको थियो ।

 सूक्ष्म अध्ययन गर्नुपर्ने यस्ता आपराधिक प्रवृत्तिका घटनामा प्रहरी पोष्टमार्टमबाटै पन्छिन खोज्नु दुर्भाग्यपूर्ण भएको भएको टिप्पणी भएको छ । एउटा प्रदेशस्तरको अस्पतालले पोष्टमार्टम गर्नसमेत आनाकानी गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै यस्तो प्रवृत्ति सच्याउनुपर्ने नागरिक अगुवाहरूले बताएका छन् ।

अब यही अस्पतालमै सबै केसको पोष्टमार्टम : अस्पताल प्रशासन

अबदेखि यस्ता सामान्य केसको पोष्टमार्टमका लागि अस्पताल व्यवस्थापनभित्रकै चिकित्सकहरूको सामूहिक सल्लाहमा गरिने सहमति बिहीबार अस्पतालमा भएको छ । अस्पतालमा आयोजित बैठकले अब पोष्टमार्टमका केसलाई समेत रिफर गर्न नहुने भन्दै सबै विशेषज्ञ चिकित्सकको सल्लाहमा पोष्टमार्टमको पनि काम हुने निष्कर्ष निकालिएको अस्पताल स्रोतले बताएको छ । अस्पताल विकास समितिका प्रमुख पदम न्यौपानेसमेतको उपस्थितिमा भएको बैठकले अब पोष्टमार्टमका केसलाई अन्यत्र रिफर गर्न नहुनेतर्फ सबै सचेत हुने पनि बताइएको छ । बिहीबारैदेखि थाती रहेका पोष्टमार्टमका केसहरू समेत पोष्टमार्टमको प्रक्रियामा गइसकेका छन् ।


Views: 33