8th March | 2021 | Monday | 9:09:24 PM

सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने : स्वास्थ्यमन्त्री त्रिपाठी

हिमालय टाइम्स   POSTED ON : पुष १२, २०७७ (५:३४ PM)

सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने :  स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताउनु भएको छ । 

 आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गर्नुभएको हो । कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताउनुभयो । खरिद प्रक्रियामा आफुलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्ने समेत बताउनुभयो । कुनैपनि कामलाई पारदर्शी गर्ने आफ्नो मान्यता रहेकोले त्यसमा साथ दिन मन्त्रालयका कर्मचारीहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो ‘जनतालाई हामी निःशुल्क भ्याक्सिन उपलब्ध गराउने अठोटका साथ अगाडि बढ्छौं । पारदर्शी ढंगले । कुनैपनि प्रोकुरमेन्ट, कुनैपनि खरिदमा कम्तिमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन । चोट जसलाई जति लागोस, समस्या जसलाई जति परोस, प्रभावित जो जतिसुकै होस तर म ॐ पनि लेख्दिन । मेरो हस्ताक्षरको त पछिको कुरा हो । यो मेरो आफ्नो मान्यता हो । यो मान्यतालाई साथ दिन यहाँहरुसँग आग्रह गर्न चाहन्छु ।’

मन्त्री त्रिपाठीले मन्त्रालयको कार्य क्षेत्रभित्र कसैको हस्तक्षेप सहन नसक्ने समेत बताउनुभयो । सबैले आ–आफ्नो कामको मात्रै चिन्ता गरेमा कुनैपनि समस्या उत्पन्न नहुने पनि मन्त्री त्रिपाठीले बताउनुभयो । उहाँले छलफल र बैठक भन्दा पनि काम बढी गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।


Views: 103