16th May | 2021 | Sunday | 2:17:27 AM

डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

हिमालय टाइम्स   POSTED ON : बैशाख ४, २०७८ (७:०३ PM)

डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

डोटी । डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । 

‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कोरोना भाइरसको त्रासका बीच डोटीलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो । 

जिल्ला खोप समन्वय समितिद्वारा आज यहाँ आयोजित एक समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो । 

सो अवसरमा मन्त्री सुवेदीले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको छ, गत आार्थिक वर्षमा प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा रु तीन अर्ब ३५ करोड खर्च गरेको छ ।” मन्त्री सुवेदीले प्रदेशका सबै महिला स्वयंसेविकालाई पहिलो वर्ष प्रत्येकको बैंक खातामा रु १०÷१० हजार प्रदान गरिएको र अहिले परिवारका पाँच सदस्यसहित स्वास्थ्य बीमा गरिएको जानकारी दिनुभयो । 

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले एउटा व्यक्ति पनि  कोरोना भाइरस विरुद्धको खोप लगाउन छुट्यो भने देशलाई नै अप्ठ्यारो पर्ने भएकाले सबैलाई खोप लगाउन जरुरी रहेको बताउनुभयो । 

जिल्ला समन्वय समिति तथा जिल्ला पूर्ण खोप समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐरले डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नमा सबै स्थानीय तहका जनप्रतिनिधि र सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

जिल्लाका नौवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले डोटीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धवसिंह ठगुन्नाले जानकारी दिनुभयो । 


Views: 80