भदौको पहिलो हप्तादेखि कोरोना संक्रमण घट्दै जाने प्रक्षेपण

२५ देखि ३२ साउनसम्म ‘खोप सप्ताह’ : स्वास्थ्य राज्यमन्त्री

हिमालय टाइम्स   POSTED ON : श्रावण २२, २०७८ (५:४६ AM)

भदौको पहिलो हप्तादेखि कोरोना संक्रमण घट्दै जाने प्रक्षेपण

काठमाडौं । भदौको पहिलो हप्तादेखि कोरोना संक्रमण घट्दै जाने प्रक्षेपण गरिएको छ । स्वास्थ्य मन्त्रालयले अब कोरोना संक्रमण घट्दै जाने बताएको हो । साउन महिनामा ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने र आगामी मंसिरसम्ममा त्यो बढेको संख्या घटेर २५ हजारसम्म पुग्ने स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ्य समितिमा पेश गरेको विवरणमा उल्लेख छ । रिपोर्टअनुसार साउनदेखि मंसिरसम्मको पाँच महिनामा एक लाख ९४ हजार जना नयाँ संक्रमित थपिने उल्लेख छ । यसमध्ये ३८ हजार आठ सयलाई उपचार सेवा आवश्यक पर्ने छ भने नौ हजार सात सयलाई सघन उपचारको खाँचो पर्ने रिपोर्टमा उल्लेख छ । रिपोर्टमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने र आगामी मंसिरमा यो संख्या घटेर २५ हजार १८३ पुग्ने भनिएको छ । 

यस्तै संसद्को शिक्षा समितिमा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आगामी २५ देखि ३२ साउनसम्म ‘खोप सप्ताह’ मनाउने बताउनुभयो । उहाँले जापानको आठ लाख र भुटानको तीन लाख गरी ११ लाख डोज कोरोनाविरुद्धको खोप लगाइने र ती दुवै देशबाट खोप आगामी शनिबार र आइतबारसम्म आइसक्ने बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले आगामी असोजसम्म एक करोड पाँच लाख डोज खोप आउने जानकारी गराउनुभयो । उहाँले बालबालिकालाई फाइजर कम्पनीको ६० लाख डोज खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । त्यस्तै उहाँले खोप केन्द्रहरू विस्तार गरेको जनाउँदै काठमाडौंमा १५०, ललितपुरमा ७७ वटा र भक्तपुरमा ३८ वटा राखिएको जानकारी दिनुभयो । 

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै सबै नागरिकलाई खोप लगाउने वातावरण बनाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएको छ । बैठकले लक्षित समूहलाई खोप दिने तालिका सार्वजनिक गरे पनि अन्य समूहलाई पनि खोप दिएको र खोपको दुरुपयोग भएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको समिति सभापति जयपुरी घर्तीले जानकारी गराउनुभयो ।

कोरोनाको सम्भावित अर्को लहरलाई मध्यनजर गर्दै अस्पतालमा पर्याप्त आइसीयू र भेन्टिलेटरको व्यवस्था गर्न मन्त्रालयलाई सुझाब दिएको छ । कोरोना संक्रमणको उपचारका लागि आवश्यक जनशक्तिको व्यवस्था गर्न मन्त्रालय गम्भीर हुनुपर्ने सभापति घर्तीले बताउनुभयो । 

यस्तै समिति सदस्य खगराज अधिकारीले कोरोना खोपको मूल्य सार्वजनिक गर्न माग गर्नुभएको थियो । अर्का समिति सदस्य गिरिराजमणि पोखरेलले कोरोनाका अर्को लहर आउने प्रक्षेपण गरिएको भन्दै सरकारको तयारीलाई पूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनीले नेपालमा थप दुई लाख व्यक्ति कोरोनाबाट प्रभावित हुने बताउनुभयो । पछिल्लो समय तेस्रो लहर फैलिने सम्भावना रहेकाले स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

थप ३९ सय ९३८ जनामा कोरोना संक्रमण, ३७ को मृत्यु

बिहीबार थप तीन हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १८ हजार ४०८ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा तीन हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख आठ हजार ७९ पुगेको छ ।

यस्तै बिहीबार थप दुई हजार १२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ जना पुगेका छन् । पछिल्लो समय देशभर संक्रिय सक्रमितको संख्या ३४ हजार ४२२ रहेको छ । तीमध्ये ३१ हजार १०८ होम आइसोलेसनमा छन् भने ७१३ जना आइसीयूमा र १५८ जनाको भेन्टिलेटरमा उपचाररत छन् । 

काठमाडौं उपत्यकामा बिहीबार एक हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७६६ जना, भक्तपुरमा १४६ जना र ललितपुरमा १६३ जना कोरोना संक्रमित थपिएका हुन् । यस्तै बिहीबार कोरोना सक्रमणका कारण थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ९९४ पुगेको छ ।

साउन २३ देखि २९ गतेसम्म मास्क अभियान

मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको बताउनुभयो । उहाँले जनस्वास्थ्यमा मापदण्ड उल्लंघन भएको र मास्क लगाउन लापरबाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान सुरु गर्न लागिएको जानकारी दिनुभयो ।


Top