किड्नी–डाएलाईसिस र क्यान्सरजस्ता रोगको उपचार व्यवस्थापन आवश्यक : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

हिमालय टाइम्स   POSTED ON : आश्विन ६, २०७८ (५:०० PM)

किड्नी–डाएलाईसिस र क्यान्सरजस्ता रोगको उपचार व्यवस्थापन आवश्यक : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले डाएलाईसिस, किड्नी र क्यान्सरजस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्ने बताउनुभएको छ । 

बुधबार सिंहदरवारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको भन्दै पाँच वटा मात्रै उपचार गर्ने अस्पताल भएकोले किड्नी ट्रान्सप्लान्ट गर्नका लागि पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले डाइलाईसिस गर्नका लागि आवश्यक्ता अनुसारको सर्भिस सेन्टर नपुगेको जानकारी दिनुभयो । उहाँले जिल्लादेखि प्रदेशसम्म डाइलाईसिस सेन्टर बनाउनुपर्ने र यसलाई सर्वसुलभ बनाउनु पर्ने बताउनुभयो । उहाँले सरकारले थोरैमा दुईसय देखि तीनसय वटा डाएलाईसिस बनाउनुपर्ने योजना बनाएको पनि बताउनुभयो । सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुने बताउनुभयो । अप्रेशन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता रहेको बताउँदै राज्यमन्त्री श्रेष्ठले अप्रेशन सेन्टर पनि बढाउने सरकारको योजना रहेको जानकारी दिनुभयो । उहाँले ट्रान्सप्लान्ट र डाएलाईसिसमा ६ महिना भित्र ठूलो परिवर्तन हुने दाबी गर्नुभयो ।

राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ‘किड्नी र क्यान्सर जस्ता रोगहरुको उपचारका लागि समयमै व्यवस्थापन गर्न नसके ठूलो महामारी व्यहोर्नुपर्छ, नेपालमा प्रत्येक वर्ष ३ हजार मानिसको किड्नी फेल भएको विवरण आइरहेको छ, यो ठ्याक्कै नहोला, मैले सोध्दा लगभ यतिकै हाराहारीमा छ, त्यसैले अप्रेशन गर्नको लागि ५ वटा अस्पताल छन्, जसमा तीन वटा सरकारी छन्, किड्नी ट्रान्सप्लान्ट गर्नका लागि पनि २ वर्षसम्म कुर्नुपर्ने बाध्यता छ, यसलाई सकेसम्म कम गर्नुपर्छ, हामीले यसको सुधार ल्याउनका लागि जिल्लादेखि प्रदेशसम्म डाइलाईसिस सेन्टर बनाउने र जनतालाई सर्वसुलभ दरमा उपचार दिने सरकारको योजना छ, सरकारी अस्पताललाई अब पनि सुधार गर्न नसके ठूलो दुर्घटना हुन्छ, त्यसैले हामीले ६ महिना एक वर्ष भित्रमा अप्रेशन गर्नका लागि दुई वर्ष कुर्नुपर्ने बाध्यता हटाउँछौँ, आवश्यक संरचनाहरु थप्नेछौँ, ६ महिना भित्र ट्रान्सप्लान्ट र डाएलाईसिसमा ठूलो परिवर्तन हुनेछ ।’

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई १ करोड ७७ लाख कोरोना विरुद्धको खोप प्राप्त भएको बताउनुभयो । उहाँले ३ करोड ५९ लाख खोप आउने प्रबन्ध मिलाएको र आउने क्रममा रहेको बताउनुभयो । अहिलेसम्म ५६ लाख मानिसलाई पूर्ण खोप लगाइसकेको र ६२ लाख मानिसलाई पहिलो डोज लगाएको बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले जम्मा जनसंख्याको १८ प्रतिशत भन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेको दाबी गर्नुभयो । उहाँले दशैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने योजना रहेको बताउँदै दशैँसम्म पहिलो डोज लगाउनेको संख्या १ करोड पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, ‘अहिलेसम्म नेपाललाई १ करोड ७७ लाख कोरोना विरुद्धको खोप प्राप्त भएको छ,३ करोड ५९ लाख खोप आउने प्रवन्ध मिलाएको र आउने क्रममा छ,अहिलेसम्म ५६ लाख मानिसले पूर्ण खोप लगाइसक्नुभएको छ भने ६२ लाख मानिसलाई पहिलो डोज लगाइएको छ,जम्मा जनसंख्याको १८ प्रतिशत भन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसक्नुभएको छ,दशैँसम्म एक करोड ४० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने योजना छ, १ करोड ५० लाख पनि पुग्न सक्छ, दशैँसम्ममा पहिलो डोज लगाउनेको संख्या १ करोड पुर्याउने सरकारको लक्ष्य छ, पूर्ण डोज लगाउनेको संख्या ७५ हजार हुनेछ ।’

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिले स्वास्थ्यमा सबैभन्दा ठूलो खतरा बीमाबाट रहेको बताउँदै बीमा व्यवस्थित गर्न जरुरी रहेको बताउनुभयो । उहाँले बीमा भएकाहरुले वर्षमा एकपटक स्वास्थ्य परीक्षण गरे स्वास्थ्य समस्या कम हुने बताउनुभयो । उहाँले राज्यको पैसाको स्वास्थ्य क्षेत्रमा दुरुपयोग भएको भन्दै म्यानेजमेण्टलाई व्यवस्थापन गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । 

 


Top