स्वास्थ्य पूर्वाधार उच्च प्राथमिकतामा : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (५:२६ AM)

स्वास्थ्य पूर्वाधार उच्च प्राथमिकतामा : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आयोजना गरेको ‘ग्लोबल कोभिड–१९ समिट’मा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालले कोभिड–१९ सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको हो । 

उक्त सम्मेलन आयोजना गरेकामा राष्ट्रपति वाइडेनलाई धन्यवाद दिँदै उहाँले नेपालले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउँदै कोरोना भाइरसको अनुवांशिक परीक्षणकोसमेत विकास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले कोभिड-१९ बाट सुरक्षित रहनका लागि जनस्वास्थ्यका क्षेत्रमा सचेतना फैलाउने कामलाई प्राथमिकता दिएका छौँ’ । 

उहाँले नेपालले कोभिड–१९ को परीक्षण तथा खोपको पहुँचको दायरालाई ग्रामीण क्षेत्रसम्म पनि पु¥याएको जानकारी गराउँदै कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सहयोग गर्ने विदेशी दाता राष्ट्र तथा साझेदार सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विश्वस्वास्थ्य सुरक्षा कोषमा योगदान गर्ने साझेदारप्रति आभार प्रकट गर्नुभएको थियो ।

बालबालिकाका लागि छिट्टै खोप लगाउन सुरु गर्छौं : राज्यमन्त्री श्रेष्ठ

सरकारले दशैँ अगाडि नै बालबालिकालाई आवश्यक पर्ने कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन हुने बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले दशैँ अगाडि नै बालबालिकालाई आवश्यक पर्ने खोपको प्रबन्ध हुने बताउनुभयो । शुक्रबार पत्रकारहरूसँग कुराका गर्र्दै उहाँले कोभिड-१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताउनुभएको हो । राज्यमन्त्री श्रेष्ठले दशैँअघि एक लाख डोज खोप ल्याइने बताउनुभयो । 

श्रेष्ठका अनुसार बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको छ । उहाँले भन्नुभयो, ‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’

आगामी चैत महिनाभित्र कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ ।’

उहाँले भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने पनि बताउनुभएको छ । 


Top