स्वास्थ्यका लागि मेथी

हिमालय टाइम्स   POSTED ON : कार्तिक १३, २०७८ (६:३५ AM)

स्वास्थ्यका लागि मेथी

काठमाडौं । हाम्रो भान्सामा भएका अधिकांश मसलाहरूको सही तरिकाले प्रयोग गर्ने हो भने औषधिका रूपमा रहेका हुन्छन् । त्यस्तै हाम्रो भान्सामा हुने मसलामध्येको एक मेथीलाई पनि सही प्रयोग गरियो भने औषधि हो । हरियो सागपातका रूपमा मात्र नभई मसलाका रूपमा समेत मेथी धेरै मानिसको रोजाइमा पर्ने चिज हो । मेथीलाई धेरै मानिसले चिसो निवारकका रूपमा जाडोयाममा सेवन गर्ने गर्छन् ।

मेथीमा औषधीय गुण पाइन्छ भन्ने कुरा धेरैलाई थाहा छ तर यसमा कुन-कुन रोगका लागि लड्ने क्षमता हुन्छ भन्नेबारेमा भने धेरैलाई जानकारी नहुन सक्छ । वास्तवमा मेथीलाई शरीरको दुखाइ, स्नायु रोग, पिसाबसम्बन्धी रोग, रक्तअल्पतालगायत समस्या भएका मानिसले सेवन गरेमा त्यसले फाइदा गर्छ । साथै श्वासप्रश्वाससम्बन्धी रोग जस्तै ब्रोन्काइटिस, इन्फ्लुएन्जा, पिनास, रुघाखोकीजस्ता रोग र ज्वरो आएका बेला पनि मेथीको सेवन लाभदायी मानिने गरिन्छ ।

अनुहारमा डण्डीफोर आएका बेला मेथीको पातलाई पिँधेर अनुहारमा लगाउनाले डण्डीफोरको समस्या कम हुन्छ । त्यस्तै मेथीको गेडालाई पिँधेर धुलो बनाउने अनि बिहानबेलुकी पानीमा मिलाएर पिउँदा रगतमासीको समस्या कम हुन्छ र यसले पाइल्सका रोगीलाई पनि फाइदा गर्ने बताइन्छ । 

जिउको सुन्निएको भागमा मेथीको लेपन लगाएमा फाइदा मिल्छ । कपाल झर्ने समस्या छ भने मेथीको धुलोलाई पानीमा मिलाएर कपालको जरा-जरासम्म लगाउनुहोस् अनि केहीबेर राखेर पखाल्नुहोस् । यसले कपालको चायाँ पनि कम गर्छ । मेथीको सागको नियमित सेवनले कब्जियतको समस्या पनि कम हुन्छ । चिसोले सताएको छ ? रुघाखोकी लागेको छ ? यदि त्यसो हो भने तोरीको तेल तताएर त्यसमा मेथी पड्काउनुहोस् अनि त्यो तेल मनतातो पारी टाउकोमा लगाउनुहोस् त्यसले चिसो भगाउँछ । मेथीलाई सागका रूपमा पनि बहुउपयोगी मानिन्छ । यसको साग जति स्वादिलो हुन्छ, त्यत्तिकै शरीरलाई फाइदा पनि । ०००

Top