बिपी प्रतिष्ठान छानबिन समितिले बुझायो प्रधानमन्त्री देउवालाई प्रतिवेदन

हिमालय टाइम्स   POSTED ON : कार्तिक २७, २०७८ (५:३८ AM)

बिपी प्रतिष्ठान छानबिन समितिले बुझायो प्रधानमन्त्री देउवालाई प्रतिवेदन

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितताको बारेमा छानबिन गर्न बनेको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहितको तीन सदस्यीय छानबिन आयोगले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझाएको हो । प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा स्वास्थ्यमन्त्री खतिवडाले अबको हप्ता दिनभित्र प्रतिष्ठानको समस्या समाधान हुने बताउनुभयो । उहाँले यो प्रतिवेदन यसअघिका प्रतिवेदन र आन्दोलनरत पक्षका कुराहलाई छलफल गरेर बनाइएको बताउनुभयो । स्वास्थ्यमन्त्री खतिवडाले हप्ता दिनमा प्रधानमन्त्रीले सिनेटको बैठक बोलाउने र बैठकबाटै निर्णय गरिने बताउनुभयो । उहाँले सिनेटले प्रतिवेदनमा पेश भएको कुरालाई आधार मानेर नै निर्णय लिने पनि बताउनुभयो ।

स्वास्थ्यमन्त्री खतिवडाको अध्यक्षमा बनेको छानबिन आयोगमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई हुनुहुन्छ । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरूले शैक्षिक, आर्थिक प्रशासनिक र स्वास्थ्य सेवा सुधार हुनुपर्ने, अनियमितताको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै चार महिनायता निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोलन थप चर्किंदै गएपछि सरकारले वार्ता टोली गठन गरेर आन्दोलनकारीको माग सम्बोधन गर्ने सहमति गरेको थियो । 

Top