अल्का आइभिएफ सेन्टरद्वारा थप सुविधासहित आइभिएफ सेवा विस्तार

हिमालय टाइम्स   POSTED ON : मंसिर ३, २०७८ (५:५७ AM)

अल्का आइभिएफ सेन्टरद्वारा थप सुविधासहित आइभिएफ सेवा विस्तार

काठमाडौं । जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले थप सुविधासहित आइभिएफ सेवा विस्तार गरेको छ । अत्याधुनिक ल्याबसहित अल्का अस्पतालले अल्का आइभिएफ सेन्टर सञ्चालनमा ल्याएको हो । ‘हामीले, विशेषज्ञहरू भित्र्याएर अल्का आइभिएफ सेन्टर सञ्चालनमा ल्याएका छौँ,’ अस्पतालका अध्यक्ष कुमार थापाले भन्नुभयो, ‘कसरी हुन्छ सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिन हामीले थप सुविधासहित ल्याएका छौँ ।’

थापाले नयाँ विशेषज्ञहरूको टिमले अल्का आइभिएफ सेन्टरलाई थप उचाइमा लैजाने विश्वास व्यक्त गर्नुभयो । मंसिर १ गतेदेखि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म अस्पतालले आइभिएफ सेवा विस्तार गरेको छ । अल्का आइभिएफ सेन्टरबाट टेष्टट्युब बेबीका साथै स्त्री रोग तथा प्रसूति सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ । 

के हो त आइभिएफ

कृत्रिम गर्भाधान इन ब्रिटो फर्टिलाइजेसन आइभिएफ महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधि हो । यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधि मानिन्छ । यस प्रक्रियामा कुनै महिलाको अण्डाशयबाट अण्डालाई अलग गरेर त्यसलाई टेष्टट्युबमा शुक्राणुसँग निषेचित गराइन्छ ।

यसपछि निषेचित अण्डा महिलाको गर्भाशयमा राखिन्छ । विश्वमा पहिलोपल्ट यस प्रक्रियाको प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रबर्ट एडवर्डसले गरेका थिए । उनीहरूको यस प्रक्रियाले जन्मेको बच्चाको नाम लुइस ब्राउन थियो जसको जन्म २५ जुलाई, १९७८ मा मेनचेष्टरमा भएको थियो ।

आज यो प्रविधि निःसन्तान दम्पतीहरूको लागि एक नयाँ आशाको किरण भएको छ । नेपालमा टेष्टट्युब बेबीको प्रविधि २०६० सालतिर भित्रिएको हो । नेपालको पहिलो टेष्टट्युब बेबी चाहिँ ओममणि तामाङ हो । उहाँको २०६१ साल फागुन २० गते जन्म भएको थियो ।

Top