स्वास्थ्य टिप्स : जाडो मौसममा छालाको सुरक्षा

हिमालय टाइम्स   POSTED ON : मंसिर ११, २०७८ (८:१० AM)

स्वास्थ्य टिप्स : जाडो मौसममा छालाको सुरक्षा

जाडो मौसम छालाका लागि खासै अनुकूल मानिँदैन । त्यसैले गर्मी महिनाभन्दा जाडोमा छालालाई अझ बढी स्याहार गर्नुपर्ने हुन्छ । जाडोमा चिसो स्याँठले छालाको सुक्खापन बढाउँछ । त्यसैले जाडो सुरु हुनेबित्तिकै सबैभन्दा पहिला ओठ सुक्खा हुने समस्या हुने गर्छ । 

चिसो वातावरण र सुक्खा हावाले गर्दा छालाको नरमपन हरेक दिन हरेक सेकेण्ड खोसिने गर्छ । यस अवस्थामा छालाको तुरुन्तै हेरविचार नगरे सुक्खा छाला फुट्ने, एलर्जी हुने, रगत निस्किने जस्ता छालाका विभिन्न समस्याहरू उत्पन्न हुन्छन् । जसले सौन्दर्यमा ह्रास ल्याउनुका साथै अनुहार फुस्रो र अस्वस्थ देखिन्छ ।

चिकित्सकका अनुसार ‘जाडोयाममा चिसो हावा र चर्को घाम हानिकारक हुन्छ । यसका लागि शरीर ढाक्ने लुगा लगाउनुपर्छ ।’ निराशपन हटाउन घुमफिर उपयुक्त मानिन्छ । तर, घरबाहिरको प्रदूषण, सिर्र चल्ने चिसो हावा र मध्याहृनको चर्को घामले सौन्दर्यलाई बिगार्छ ।

जाडोमा बाहृय वातावरण छालाका लागि प्रतिकूल मानिन्छ । ४० वर्ष नाघेका व्यक्तिमा सुक्खापन वृद्धि हुँदै जान्छ । छाला फुस्रो हुने, अनुहारमा चाउरीपन आउने हुन्छ । छाला रोग विशेषज्ञ भन्नुहुन्छ, ‘जाडोमा हावामा पानीको कण न्यून हुन्छ । पानीको मात्रा पनि सुक्खा हावाले घटाउँछ ।’ अनुहारको छाला सुक्खा हुँदा व्यक्तित्वमा समेत ह्रास आउँछ ।’ छालामा सुक्खापन आएको अवस्थामा चिलाउने समस्याले सताउँछ । सुक्खा छालामा संक्रमणको समस्या बढी हुन्छ । ब्याक्टेरिया, फंगल, प्यारासाइटलगायत संक्रमण हुने सम्भावना रहन्छ ।

यस्तै ५० वर्ष नाघेका व्यक्तिको शरीरमा चिल्लोपन उत्पादन ग्रन्थी सुक्दै गएको हुन्छ । सिबाइसेस ग्रन्थी सक्रिय नहुनेबित्तिकै छाला सुक्खा हुन्छ । त्यसैले बुढ्यौलीपन बढ्दै गएका व्यक्तिमा पनि छाला चिलाउने समस्या देखा पर्छ ।

जाडोमा छालालाई स्वस्थ्य र चम्किलो बनाउने केही सजिला र घरेलु उपायहरू 

न्यायो पहिरन लगाउने

जाडोबाट छालालाई जोगाउन सबैभन्दा पहिले न्यायो पहिरन लगाउनुपर्दछ । यसले चिसो हावा र चर्को घामबाट जोगाउँछ । 

पर्याप्त पानी पिउने

चिसो मौसममा जाडो हुनाले कम पानी पिउने गरिन्छ । जसले शरीरलाई डिहाइड्रेड बनाउँछ । जाडोमा प्रशस्त पानी पिउँदा छाला चम्किलो हुने गर्छ । त्यस्तै झोलयुक्त पदार्थ सेवन पनि गर्न सकिन्छ । जसले छालामा पानीको अभाव पूरा गर्छ । यसरी झोलयुक्त पदार्थ र पानी सेवन गर्दा मनतातो बनाएर पिउँदा उपयुक्त हुने चिकित्सक बताउँछन् । 

मनतातो पानीले अनुहार धुने

चिसो मौसममा सकभर मनतातो पानीले मुख धुने र अनुहारमा तातोपानीले वाफ लिने । जसले अनुहारमा बन्द भएका छिद्रहरू खुल्न जान्छ । यसको प्रयोगले अनुहारमा प्राकृतिक सुन्दरता देखिने प्रयोगको निष्कर्ष छ ।

मोइस्चराइज गर्ने

चिसोमा चम्किलो छालाका लागि सबैभन्दा महत्वपूर्ण मोइस्चराज हुन्छ । मोइस्चराजले छालालाई हाइड्रेड गर्छ । जसका लागि नरिवल, अरन्डी, जैतुनको तेलको प्रयोग गर्नुपर्छ । यसले अनुहारमा रक्तसञ्चार हुन्छ र छालाको सौन्दर्य कायम राख्छ । छालाको स्वस्थताका लागि राति पनि ध्यान दिनुपर्छ । सुत्नुअघि आफ्नो अनुहारलाई डिप मोइस्चराइज गर्नाले बिहान उठ्दा चमक आउने गर्छ । रातको समयमा केमिकल प्रोडक्ट प्रयोग नगर्दा नै बेस हुन्छ ।

अनुहारमा साबुन प्रयोग नगर्ने

अनुहारमा साबुनको प्रयोग गर्नुहुन्न । सम्भव भएसम्म नन ड्राइ क्लिनडन फेसवास प्रयोग गर्ने । 

घरबाहिर निस्कँदा अनुहार ढाक्ने

घरबाहिर निस्कँदा सकभर अनुहार ढाक्दा राम्रो हुन्छ । जसका लागि मास्क, सनग्लास, स्कार्फ, मोजा, पञ्जा आदिको प्रयोग गर्ने । जाडोयाममा बाहिरीमात्र नभई खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । जसका लागि स्वस्थ र सन्तुलित खाना खानुपर्छ । त्यस्तै नियमित मौसमी फलफूल र हरियो सागसब्जी प्रयोग गर्नुपर्दछ । 

Top