28th September | 2020 | Monday | 8:19:00 PM

कोरोना जितेर फर्किएकी नर्स, जसको पुरै परिवार संक्रमित थिए

जिना कार्की   POSTED ON : श्रावण २६, २०७७ (४:२४ PM)

कोरोना जितेर फर्किएकी नर्स, जसको पुरै परिवार संक्रमित थिए

विराटनगर । देशभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई हेर्ने हो भने अस्पताल आफै जोखिम क्षेत्र हो । यहाँ काम गर्ने चिकित्सकले डराउन भन्दा पनि आफूले जोखिम मोलेर अरुको ज्यान बचाउनु पर्छ भन्ने दह्रो मानसिकता बोकेर काम गर्नैपर्छ ।  

प्रदेश–१ अन्तर्गत  बिराटनगरको कोशी कोभिड अस्पतालमा एकजना नर्स रोजना थापा कन्ट्याक ट्रेसिंगमा आफुसंगै परिवारनै कोरोना संक्रमित हुनुभएको थियो । उहाँ एघार दिन पश्चात अन्तत कोरोना जितेर घर फर्किनु भएको छ । स्वास्थ्यकर्मी रोजना थापासंग हिमालय टाइम्सकर्मी जिना कार्कीले गर्नुभएको कुराकानी । 

कसरी थाहा पाउनुभयो आफु संक्रमित भएको ?

अस्पताल सिल भएपछि अस्पतालका संचालक चिकित्सक नै कोरोना संक्रमित भएको हुनुहुँदो रहेछ, त्यसपछि भोलिपल्टै संक्रमित  चिकित्सकको सम्बन्धित वार्डका सबै कर्मचारीहरुलाई कन्ट्याक ट्रेसिंङका लागि लगियो । स्वाब संकलन पछी  ७२ घन्टाको लागि हामीलाई होटलमा क्वारेण्टिन गरियो ।  ३ दिन  पछि त रिपोर्ट  आउँदा थाहा भयो आफु संक्रमित रहेछु ।  

रिपोर्ट नआन्जेलल के कस्तो महसुस भयो ? स्वास्थ्य अवस्था कस्तो थियो ?

पहिलो त पीसीआर गरेकै दिन राति ज्वरो आएर हात खुट्टा दुखे जस्तो भयो, त्यसपछि मैले पारासिटामोल औषधी खाएँ ।  म ओटी अब्जर्वेसन वार्डमा भएकाले कता–कता अलि बढी डर त लाग्यो तर भनिए अनुसार घाती दुख्ने, सास फेर्न गाह्रो  हुने जस्ता लक्षण नदेखिएकाले  पोजेटिभ होला भन्ने त लाग्दै लागेन ।  

कति जनालाई लगिएको थियो र त्यसमध्ये  कति जना पोजेटिभ हुनुभयो ?

हामी सबै गरेर सायद ४०–४५  जना थियौ होला, त्यसमध्ये म अनि एकजना वार्डकै सहकर्मी बहिनी थिइन् । 

जब आफु संक्रमित भएँ भन्ने थाहा पाउनु भयो, त्यसपछि कस्तो महसुस गर्नुभयो ?

एक्कासी आएर मलाई हिड्नुस भन्नु भयो अनि मलाई त नाम गल्ति होला भन्ने लाग्यो, फेरी हेर्न लगाए तर, ठेगाना  कसरी मिस्टेक होला ? अनि आफू नै संक्रमित भएको प्रष्ट भएपछि, डरत्रास त हुने नै भइगयो नी ।

तपाईँको त पुरै परिवार  नै  संक्रमित हुनुभयो, यो विषयमा बताइदिनुस न ?

मलाई संक्रमण भएपछी पुरै परिवार आफै ट्रेसिङमा परिहाल्ने भैहाल्यो, त्यसपछि सबैको स्वाब कलेक्सन गरियो तर कसैलाई केही लक्षण नदेखिए पछि नहोला भन्ने थियो । तर बिस्तारै सबै जनाको रिपोर्टभने पोजेटिभ आयो ।  त्यही हो, लक्षण नभएकाले त्यस्तो खतरा केही नहोला भन्ने सुनिएको पनि थियो त्यही भएर डराइन ।  

एघार दिन अस्पतालको बसाई कस्तो थियो ? मनमा कुनै डर त्रास पक्कै हुँदो हो ?

म त यसरी अस्पताल बसेको पहिलो पटक थियो, फेरी भएन संसारलाई हायलकायल पारेको कोभिड–१९, त्रास नै थिएन भन्न त सकिएन । तर थोरबहुत स्वास्थ्यकर्मी भएकैले होला । सरसफाई र स्वस्थ्यकर खानेकुरामा ध्यान दिएकी थिए । बिहान उठ्यो खाजा खायो, थोरै मेडिटेसन नर्मल घर जस्तै खाना खाने सुत्ने  नै थ्यो, तर अलिक स्वास्थ्य खानेकुरामा जोड हुन्थ्यो त्यहा, जस्तै तातो पानी निरन्तर पिउने, बेसार ज्वानो, कागती अधुवा हालेर पानी पिउँथे ,आयुर्वेदिक औषधि जस्तै अश्वागंद्ध , गुर्जो , च्यवनप्रास लगायतको खानामा बढी जोड दिने गरियो । इम्युनिटि पावर बढाउने केही औषधिहरु चाहिँ अस्पतालले नै दिन्थ्यो,  त्यही खान्थे, अब म बसेको कोठामा हामी ५ जना जति थियौ  त्यहि भएर दिन  कटाउन त्यति गार्हो भएन ।  

अस्पतालमा डाक्टर अनी नर्सको व्यवहार कस्तो थियो ?

 (हाँस्दै) अब म  आफै नर्स भएकाले पनि राम्रै लाग्यो । आफै स्वास्थ्यकर्मी भएको नाताले म आफै सजक पनि थिए । खानेकुरामा जोड दिनुपर्दो रहेछ । शरीरलाई मजबुद राख्ने पोषिला खानेकुरा तातो पानी, झोलिलो खानेकुरा खाने गर्थे ।  मिडियामा आएजस्तो फ्रन्टलाइनमा काम गर्ने डाक्टर नर्सले लापरवाही गरे भन्ने कुरा सत्य होइन । उहाँहरु पनि जोखिम मोलेर अरुको सेवामा समर्पित हुनुहुन्छ । तर, विरामीलाई काउन्सेलिङ भने अति आवश्यक हुँदो रहेछ त्यो नयाँ अनुभव मैले पाएँ ।  

आफु ठिक भएपछी कस्तो महसुस भयो ?

खुशीको सिमानै रहेन नी, तर परिवारका अरु सदस्य उपचारमा मै हुनुहुन्थ्यो ।  त्यसले पनि अलि चिन्तित भने थिए । 

घर आउँदा समाज अनि छिमेकीको व्यवहार कस्तो पाउनुभयो?

सोचे भन्दा फरक, घरमा एक्लै भएकोले सबै समानको जोहो आफैले गर्नु पर्यो । नजिकको आफन्तको सहयोगमा किनमेल गरेँ । छिमेकी अलि त्रसित हुनुहुन्थ्यो । हुनुपनि स्वाभाविक नै होला । तर, यति हो सावधानी अपनाएर अरुलाई परेको सहयोग गर्नु उचित हो जस्तो लाग्छ ।

कोरोना के रहेछ ? यसबाट बच्न के गर्नु पर्ने रहेछ ?

यो एकप्रकारको महामारीको रुपमा विकास भएको भाइरस हो । यसले विश्व हायलकायल भएको छ । यसलाई जित्न सावधानी अपनाउनु नै उत्तम विकल्प हो । यसको उपचार पत्ता नलागिसकेको अवस्थामा हामीले सावधानी अपनाउनु पर्दछ । यति हो स्वास्थ्यका मापदण्ड अपनाएर अघि बढेमा हामी सुरक्षित रहन्छौं अन्यथा यसले हामीलाई पराजित गर्छ ।  

 


Views: 1265