18th January | 2021 | Monday | 12:40:11 AM

क्वारेन्टिन र आइसोलेसन खाली हुँदै

नवीनकुमार शर्मा   POSTED ON : भदौ २७, २०७७ (१२:२७ AM)

क्वारेन्टिन र आइसोलेसन खाली हुँदै

दैलेख । रोजगारीको सिलसिलामा भारतमा गएका नेपाली युवाहरू कोरोना संक्रमणको संत्रासका कारण वैशाख, जेठ र असार महिनामा धमाधम फर्किन थालेपछि सबै स्थानीय तहलाई क्वारेन्टिनको व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।  शुरुवाती समयमा जम्मा ६२ वटा मात्र क्वारेन्टिन वेड तयार पारिएको दैलेखमा पछि जिल्लाका ११ वटा स्थानीय तहहरूले छोटो समयमा झण्डै १२ हजार जनालाई क्वारेन्टिनमा राखेका थिए । अनुमानभन्दा कैयाँै गुणा बढी संख्यामा नागरिक आउँदा दैलेखमा महामारीले ठूलो रूप लिन्छ कि भन्ने सबैमा डर थियो । 

एकैपटक ठूलो संख्यामा क्वारेन्टिन आवश्यक परेकाले व्यवस्थापनमा समेत कमजोरी हुँदा सरकारको आलोचना समेत भएको थियो । जिल्लामा रहेका सबै विद्यालय, खाली भएका सरकारी कार्यालय, वृद्धाश्रमजस्ता स्थानहरू समेत क्वारेन्टिन बनाएर खचाखच भएका थिए । जेठ ५ मा पहिलो संक्रमित फेला परेपछि दैलेख कर्णालीको कोरोना संक्रमणको ‘हटस्पट’ बनेको थियो । संक्रमणका कारण तीन जनाले ज्यान समेत गुमाए । दुई महिना अघिसम्म भरिभराउ भएका क्वारेन्टिन र आइसोलेसन अहिले भने खाली हुन थालेका छन् । 

भारतबाट आउनेको संख्या बढेपछि त्यतिबेला एउटै कोठामा २० जनासम्मलाई राख्नुपरेको नारायण नगरपालिका–१ का वडाध्यक्ष तीर्थ नारायण श्रेष्ठले बताउनुभयो । उच्च सावधानी र सतर्कताले भयाभह स्थिति आउन नदिइएको र  अहिले क्वारेन्टिन र आइसोलेसन रित्तिँदै जान थालेकाले आफूहरू महामारी रोकथाममा सफल भएको नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले बताउनुभयो ।  

स्वास्थ्य सेवा कार्यालयका अनुसार अहिलेसम्म एक हजार ७६ जनामा कोरोना पुष्टि भएको दैलेखमा एक हजार ५४ जना उपचारपछि घर फर्किएका छन् । अहिले २२ जनाको उपचार भइरहेको छ । अहिले पनि जिल्लाका सबै टोलटोलमा स्वाब संकलन गरी पिसिआर परीक्षण भइरहेको छ । संक्रमितको संख्या घटेसँगै ठूलो संख्यामा निर्माण गरिएका आइसोलेसन र क्वारेन्टिन पनि खाली हुँदै गएका हुन् । 


Views: 70