27th November | 2020 | Friday | 5:11:27 AM

आफ्नै पद कोमामा गएको नेताले जिम्मेवारीबाट हटाउने अधिकार छैन : गुलावजंग शाह

खगेन्द्र अधिकारी   POSTED ON : आश्विन २६, २०७७ (७:०२ PM)

आफ्नै पद कोमामा गएको नेताले जिम्मेवारीबाट हटाउने अधिकार छैन : गुलावजंग शाह

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ । दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुवै पक्ष सतहमै उत्रिएका हुन् । मुख्यमन्त्री शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई प्रमुख सचेतकमा नियुक्ती गरेसँगै विवादले झन चर्को रुप लिएको हो । 

प्रमुख सचेतकबाट हटाइएका गुलावजंग शाहले  मुख्यमन्त्रीले आफूलाई पदमुक्त गर्ने अधिकार गुमाइसकेको बताउनु भएको छ । शाहले आफ्नै पद  कोमामा गएको नेताले जिम्मेवारीबाट हटाउने अधिकार नभएको बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘कोमामा गएको नेतालाई जिम्मेवारीबाट हटाउने अधिकार छैन, ।’ ‘आइतबार १८ जना सदस्यले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अब दलको नेताले कुनैपनि निर्णय गर्न पाउँदैन ।’ शाहले मंगलबार दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेसमेत प्रष्ट पार्नुभयो । ‘मंगलबार मेरै नेतृत्वमा दलको बैठक बस्छ र निर्णय पनि हुन्छ,’ शाहको टिप्पणी छ । 

मुख्यमन्त्री शाहीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार प्रमुख सचेतक गुलाबजङ शाहले मंगलबार १ बजेका लागि दलको बैठक बोलाउनु भएको छ । तर, शाहले बोलाएको बैठक बस्न नपाउँदै प्रमुख सचेतकलाई मुख्यमन्त्री शाहीले जिम्मेवारीबाट हटाएपछि विवादले झनै नयाँ मोड लिएको छ।

आज सोमबार मात्र जिम्मेवारी पाउनु भएको प्रमुख सचेतक नेपालीले पनि मंगलबारकै लागि बैठक बोलाइसकेको जानकारी दिनुभयो । शाहले बोलाएको भन्दा केही समय अगाडि तर एकैदिन नेपालीले बैठक बोलाउनु भएको हो । शाहले दिउँसो १ बजेका लागि बैठक बोलाउनु भएको छ भने नेपालीले बिहान ११ बजेका लागि बैठक बोलाउनु भएको छ ।



Views: 84

सम्बन्धित सामग्री:

छैन स्वास्थ्यचौकीमा औषधि

: मंसिर ११, २०७७ (१२:२८ PM)