27th November | 2020 | Friday | 5:09:56 AM

बराहतालमै बेचिन्छ तराजुमा तौलिएर ‘खसीबोका’

खगेन्द्र अधिकारी   POSTED ON : कार्तिक ३, २०७७ (३:३८ PM)

बराहतालमै बेचिन्छ तराजुमा तौलिएर  ‘खसीबोका’

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाको वडा नं. ८ मा बसोबास गर्ने किसानहरुले उत्पादन गरेका खसीबोकाको खरिद विक्रीका लागि कुनै समयमा मुल्य मिलाउनका लागि निकै समयमा खिचातानी हुने गर्दथ्यो । तर सफलता सामाजिक उद्यमी महिला सहकारी संस्थाले किसानले उत्पादन गरेका कृषिजन्य तथा पशुजन्य वस्तुहरुको बजारीकरण गरिदिन थालेपछि आजभोलि खसीबोकाको मूल्य तोकेर होइन तराजुमा तौल गरेर बेचिन्छन् । जसले गर्दा किसानहरु आफ्नो बस्तुको उचित मूल्य पाएकोमा खुसी छन् । देशको राजधानी काठमाडौंमा मात्र होइन अब गाउँघरमा पनि किसानहरुले वजन अनुसारको मूल्य पाउन थालेका छन् । 

बाहिरबाट आउने खरिदकर्ताहरुले यति पैसा दिन्छौ भनेर किनेर लैजान्थे हामी घाटामा पर्दा रहेछौ भन्ने कुरा अहिले आएर थाहा भएको बताउनु हुन्छ बराहताल ८ का डिलबहादुर अधिकारी । सफलता सामाजिक उद्यमी महिला सहकारीले किसानले उत्पादन गरेका वस्तुहरुको बजार खोजिदिने गरेको छ । जसले गर्दा सहकारीले नै खरिदकर्तासँग समन्वय गर्छ र उनीहरुको उत्पादनलाई घर आगनमै भने अनुसारको मुल्यमा विक्री गराइदिन्छ । 

यतिबेला जताततै दशैंको चटारो सुरु भइसकेको छ । दशैं खर्चदेखि घरको अन्य आवश्यक खर्चका लागि यहाँका किसानहरुले खसी बेचिरहेका छन् त्यो पनि परम्परागत रुपमा मोलमोलाईको आधारमा नभई आफ्नै गाउँमा तौलका आधारमा । यस भन्दा अघि तोकुवामा विक्री हुने खसी बोका तौलको आधारमा विक्री वितरण गर्ने प्रबन्धले एकातिर कृषकहरु आर्थिक लाभ भएको छ भने अर्कोतिर खदिकर्ताहरु पनि घाटा हुने हो कि भन्ने डरमुक्त भएका छन् । 

सफलता सामाजिक उद्यमी महिला सहकारी बराहतालकी अध्यक्ष चन्द्रा गौतम थापाले भन्नुभयो, ‘हामीले हाम्रा शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउने कार्यमा लागिरहेका छौ ।’ ७ सय ३२ जना शेयर सदस्य रहेको उक्त सहकारीका सदस्यहरुले बाख्रापालन, तरकारी खेती, कुखुरापालन गर्ने कार्य भइरहेको छ । गतवर्षको दशैं तिहारमा २ हजार ४ सय खसीबोका विक्रीवितरण गरेको उक्त सहकारीले यस वर्ष २ हजार ८ खसीबोका विक्री वितरण गर्ने योजना बनाएको अध्यक्ष थापाले बताउनु भयो । 

सहकारीमा लागिसकेपछि महिला दिदीबहिनीहरु आत्मनिर्भर भएको अध्यक्ष थापाको भनाई छ । अहिले सदस्यहरुको पारिवारिक अवस्थामा समेत परिवर्तन आएको उहाँको भनाई छ । आफ्नो खर्चका लागि श्रीमान्सँग हात थाप्नु पर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाई छ । हेफर र सुन्दर नेपालको साझेदारीमा चलेको परियोजनाले प्राविधिक तथा औषधिका साथै विउविजनमा समेत सहयोग भएको थापाले बताउनु भयो । 

हेफर इन्टरनेशनल नेपालले सुन्दर नेपाल संस्था संगको समन्वयनमा साना किसानहरुको संस्था सवलीकरण परियोजना संचालन भइरहेको छ । चार वर्षको समयावधि रहेको यो परियोजना सन् २०१८ देखि सुरु भएको संस्थाका प्रदिप शर्माले बताउनु भयो । साना किसानहरुको संस्था सवलिकरण गर्नु यस परियोजनाको मुख्य उद्देश्य रहेको छ । सहकारी संस्थाहरु यसमा पर्दछन् । 

बाख्राको उत्पादन बृद्धिबाट सुरु भएको यो परियोजनाले महिलाहरुको सहकारी निर्माण गरि सामाजिक उद्यमी उत्पादन गरिरहेको छ । सहकारीलाई सुशासन युक्त बनाउनका लागि विभिन्न नीतिहरु तयार गर्न सहजिकरण गर्ने, क्षमता विकासदेखि सामूहिक बजारीकरण गर्ने कार्य भइरहेको शर्माको भनाई छ । अर्कोतिर किसानले उत्पादन गरेको कृषिजन्य तथा पशु जन्य वस्तुहरु सहकारी मार्फत नै विक्रीवितरणमा समेत सघाउ पु¥याउँदै आएको छ । 

यो परियोजना लागु भइसकेपछि यस परियोजनामा संलग्न व्यक्तिको परिवारको वार्षिक आम्दानी ५ लाख ५७ हजार प¥याउने लक्ष्य रहेको शर्माले बताउनु भयो । जसको लागि सहकारीको माध्यमबाट किसानहरुको आर्थिक समृद्धि गर्ने उद्देश्य राखेको उहाँले बताउनु भयो । सहकारीकै सदस्यहरुले ऋण नपाउने अवस्था थियो तर विभिन्न वित्तिय संस्थासँगको सहकार्यमा उनीहरुलाई ऋण प्रवाह गर्न सकिएको छ । सहकारीले आफ्ना सदस्यहरुलाई उद्यमी बनाउने सोचका साथ काम गरिएको छ । 

यसैगरि बराहताल ८ की कौशिला नेपालीले भन्नुभयो, ‘श्रीमान् विदेशमा हुनुहुन्छ तर आफ्नो घरखर्च चलाउनका लागि खसी बेचेरै पुग्छ ।’ छोराछोरीको पढाइ खर्चदेखि घर खर्चका लागि समेत उहाँले खसीबोका बेचेर धान्नु भएको छ । सबैले साना बोकाको खरिद गर्ने भएकोले अब बाख्रा पाल्ने समेत उहाँको योजना रहेको छ ।  


Views: 71

सम्बन्धित सामग्री:

छैन स्वास्थ्यचौकीमा औषधि

: मंसिर ११, २०७७ (१२:२८ PM)