जुम्ला । बेपत्ता पारिएका व्यक्तिको छानबीन गर्न आयोगको टोली जुम्ला पुगेको छ । आयोगका सदस्य डा.गंगाधर अधिकारी नेतृत्वको टोली जिल्लामा पुगेर काम शुरु गरिने संचारकर्मीसंगको भेटघाट कार्यक्रममा बताउनुभयो ।
भेटघाटमा सदस्य डा.अधिकारीले नेपालमा सशस्त्र विद्रोहदेखि विस्तृत शान्ति सम्झौतासम्म राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकहरुको पहिचान र छुटेका व्यक्तिहरुको उजुरी लिने उद्देश्यले सो टोली कर्णालीमा पुगेको आयोगका सदस्य डा. अधिकारीले बताउनुभयो ।
उहाँले आयोगको कार्य क्षेत्र भनेकै छानबीन तथा अनुसन्धान भएकाले यसको मूल लक्ष्य तथा उद्देश्य भविश्यमा द्वन्द्व दोहोरिन नदिने भएको बताउनुभयो । डा .अधिकारीले मुलुकभरबाट आयोगमा तीन हजार २२३ उजुरी परेको बताउँदै उहाँले कर्णालीमा ४०४ उजुरी परेको बताउनुभयो ।
उहाँका अनुसार साविकको कर्णालीको कालीकोटमा ४५, जुम्लामा २०, मुगु २५, डोल्पा ६ र हुम्लामा चार जना बेपत्ताको उजुरी परेको आयोगले जनाएको छ । कोरोना महामारीका कारण आयोगले परिणाममुखी काम गर्न नसकेको स्वीकार्दै सदस्य डा.अधिकारीले कर्णालीलाई प्राथमिकता राखेर जुम्ला पुगेको आयोगले बेपत्ताहरुको छानबीन, अनुसन्धान र पहिचानका कार्य अगाडि बढाउने र चार दिनसम्म जुम्लामा बसेर यहाँका सरोकारवालाहरुसँग छलफल गर्ने आयोगले जनाएको छ ।
छुटेका व्यक्तिको उजुरी लिने
जिल्लामा बसेर काम गर्ने भएकाले छुटेका व्यक्तिको पनि उजुरी लिईने भएकाले कसैलाई जानकारी भएमा जिल्ला समन्वय समिति, स्थानीय तहमा सम्पर्क गर्न अनुरोध आयोगले गरेको छ । आयोगका सदस्य अधिकारी सहित चार सदस्यीय टोलीले जुम्लामा शनिवार देखी काम शुरु गर्ने छ ।
Views: 78