18th January | 2021 | Monday | 12:39:30 AM

जुम्ला सदरमुकाम खलङ्गा तीन दिनदेखि अन्धकार

विजय रावत   POSTED ON : मंसिर १८, २०७७ (१२:०६ PM)

जुम्ला सदरमुकाम खलङ्गा तीन दिनदेखि अन्धकार

जुम्ला ।   विद्युत तीन दिनदेखि अवरोध हुँदा जुम्ला सदरमुकाम खलङ्गा बजार अन्धकारमय बनेको छ ।  विसं २०४० मा निर्माण भएको यहाँको घुघुत्ती साना जलविद्युत् आयोजनाको अहिलेसम्म मर्मतसम्भार हुननसक्दा यहाँका उपभोक्ताले बर्षादेखी दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै आएका छन् । गत वर्ष विद्युत्को क्षमता विस्तारका लागि करिब रु तीन करोडको ठेक्का आह्वान गरेर भारतीय ठेकेदार सुरेन्द्र पासीले दुईवटा नयाँ मेसिन जडान गरेका थिए । मेसिन जडानकै क्रममा ठेकेदार पासी फरार भएपछि विद्युत् आपूर्ति बन्द भयो । चर्को विरोधपश्चात् ठेकेदार आएर टालटुल गरेर फर्के तर एकदुई महिना नबित्दै लोडसेडिङ पुरानै अवस्थामा फर्कियो । 

विद्युत्को पावर हाउसको मेशिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख रुपैयाँ बजेट र साविको साना जलविद्युत् उपभोक्ता समितिले रु ४५ लाख २२ हजार थपेर नयाँ मेसिन जडानका लागि रु तीन करोडमा ठेक्का सम्झौता गरिएको थियो  । समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो । नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै बिग्रिएपछि फेरि खलङ्गा अध्यारो बनेको हो । 

ठेकेदारले जुम्लावासीलाई झुक्याएर नक्कली मेसिन जडान गरेकै कारण अँध्यारोबाट मुक्ति पाउन नसकिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताउनुभयो । विद्युत घरमा जडान भएकको मेसिनमा क्वाइल र जेनेरेटरको वाइन्डिल्ड जलेपछि यो समस्या आएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्दका इन्जिनियर हेमन्त साहुले बताउनुभयो । 

 ठेकेदार पासीकै शुभकामना जेभी कम्पनीले हाइड्रो मेकानिकल पार्टहरू मात्रै आपूर्ति गर्ने हो तर त्यसले हचुवाकै भरमा मेसिन जडान र सफ्टवेयर सञ्चालन गरेपछि पटकपटक विद्युत् सञ्चालनमा अवरोध हुँदै आएको यहाँका सरोकारवाला बताउँछन् । ठेकेदार पासीले सबै नक्कली सामानहरू मात्रै जडान गरेकोले यो समस्या खडा भएको यहाँको स्थानीयवासिले आरोप लगाएका छन् । 

विद्युतगृहमा उपकरण र डिजेल्ट प्लान्ट

विद्युतगृहभरी उपकरण र डिजेल्ट प्लान्टले भरिएका छन् । गतवर्ष सदरखुकाम खलङ्गा अन्धकार भएपछि संघीय सांसद् गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल प्लान्ट खरिद गर्न रु २४ लाख ६० हजार उपलब्ध गरेपछि । सो पैसाबाट खरिद गरेर २०० केभी (१६० किलोवाट) क्षमताको उपकरण जुम्लामा पनि ल्याएर केही समय डिजेलबाट भए पनि बिजुली बल्यो तर डिजेलको खर्च थेक्न नसकिएपछि उक्त उपकरण पनि थन्किएको छ ।

सदरमुकाम खलङ्गा बिजुलीको विषयमा गत वर्ष सडकदेखि संसद्सम्म चर्काे विरोध र आलोचना भएपछि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले अर्काे डिजेल प्लान्ट पनि पठायो तर डिजेल भने पठाएन । त्यो उपकरण पनि ल्याएदेखि एक दिन बिजुली नबालेरै थन्किएको विद्युत प्राधिकरण वितरण शाखा जुम्लाले जनाएको छ । 

विद्युतगृहको चौरभरि उपकरणले भरिए पनि यहाँका उपभोक्ताले नियमित बिजुली बाल्न नपाएको इन्जिनियर साहुले बताउनुभयो । केन्द्रीय प्रसारण लाइन कहिले जिल्लामा आउने हो भन्ने कुनै टुङ्गो नभएको स्थानीयावासि सुनम बुढाले बताउनुभयो । 

फोटो : विद्युतगृहमा बिग्रिएको मेसिनको मर्मतसम्भार गदै विद्युतका कर्मचारी ।

तस्विर : विजय रावत (हिटा) जुम्ला 


Views: 51