छोरीबुहारी छात्रवृत्ति कार्यक्रमका लागि निवेदन आह्वान

विजय रावत   POSTED ON : फाल्गुन २५, २०७७ (२:०२ PM)

छोरीबुहारी छात्रवृत्ति कार्यक्रमका लागि निवेदन आह्वान

जुम्ला । सामाजिक विकास कार्यालय जुम्लाले प्राविधिक शिक्षामा महिलाहरूको पहुँच बढाउनको लागि छोरीबुहारी छात्रवृत्ति कार्यक्रमको लागि निवेदन आह्वान गरेको छ । 

प्राविधिक शिक्षामा कर्णाली प्रदेशका महिलाहरूको पहुँच बढाउन कर्णाली प्रदेश सरकारले अघि सारेको छोरीबुहारी छात्रवृत्ति कार्यक्रम कार्यान्वयनका लागि कार्यालयले निवेदन दिन आह्वान गरेको गरिएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख बलविर सुनारले बताउनुभयो ।

 नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इञ्जिनियरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति प्रदान गर्ने छ । कर्णालीका छोरीबुहारीको प्राविधिक शिक्षामा पहुँच बढाउन छात्रवृत्ति प्रदान गर्नको लागि प्रदेश सरकारले कार्यक्रम ल्याएको कार्यालय प्रमुख सुनारले बताउनुभयो । 

डिप्लोमा अध्ययन पूरा गर्दासम्मका लागि प्रदेश सरकारले नियमित छात्रवृत्ति उपलब्ध गराउने सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ । सम्बन्धित विद्यालयबाट पहिले छात्रवृत्ति नपाएको सिफारिस र वडाको सिफारीस सहित निवेदन दिन सो कार्यालयले सबैलाई आग्रह  गरेको छ ।

 प्राविधिक शिक्षामा छोरीबुहारीको पहुँच बढाउनुका साथै कर्णालीमा दक्ष प्राविधिक उत्पादन गर्न यो कार्यक्रम प्रदेश सरकारले आर्थिक वर्ष ०७५÷०७६ देखि अघि सारेको हो ।  प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउनुको साथै कर्णाली प्रदेशमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुरुप एक जनालाई रु ६६ हजारदेखि एक लाख ३० हजार रुपियाँसम्म छात्रवृत्ति प्रदेश सरकारले उपलब्ध गराउने कार्यालय प्रमुख सुनारले बताउनुभयो । 

प्रदेश सरकारले अघि सारेको कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीयवासि भगवति चौलागाइले बताउनुभयो । छात्रवृत्तिको लागि फर्म भर्न सामाजिक विकास कार्यालय जुम्लामा पुग्नु भएका उहाँले प्राविधिक शिक्षा पढ्ने इच्छा भएका तर आर्थिक नभएका छोरीबुहारीका लागि यो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । प्राविधिक शिक्षा पढ्ने पहिले देखिको रहर अब पुरा हुनेमा चौलागाइ आशावादी हुनुहुन्छ । छनौट भएमा प्राविधिक धारको विषय पढेर समाजको लागि केहि गर्ने सोच रहेको बताउनुभयो । 


Views: 218

Top