नेपाली भाषाको जगेर्ना अत्यावश्यक : मुख्यमन्त्री शाही

खगेन्द्र अधिकारी   POSTED ON : फाल्गुन २७, २०७७ (९:२८ AM)

नेपाली भाषाको जगेर्ना अत्यावश्यक : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली भाषाको जगेर्ना र संरक्षण आवश्यक भएको बताउनुभएको छ । कर्णाली उत्सव कुडा कर्णालीका कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘हामी पछिल्लो समयमा भाषा संस्कृतिमा कमजोर हुँदै जाँदैछौँ भन्ने कुरालाई सबैले मनन् गरेर भाषाको जगेर्नाका लागि सबैले आ–आफ्ना स्थानबाट एक कदम माथि उठ्न सक्नुपर्छ ।’

नेपाली भाषाको उद्गमस्थलको रुपमा रहेको कर्णालीमा नै नेपालीभन्दा अंग्रेजी भाषाको प्रभाव परेकाले नेपाली भाषासँगै यहाँको कला, संस्कृति, सम्पदाहरूलाई संरक्षण गर्न अब ढिला गर्न नहुने मुख्यमन्त्री शाहीको भनाइ थियो ।

कार्यक्रममा योगी नरहरीनाथको बारेमा चर्चा परिचर्चा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगत्प्रसाद उपाध्यायले कर्णालीको रारालाई स्थलगत अध्ययन गरेर कविताको सिर्जना गर्नुपर्ने बताउनुभयो । 

बुधबारदेखि शुरु भएको कर्णाली उत्सव चार दिनसम्म संचालन हुने कुडा कर्णालीको आयोजक संस्था ऋति पाउण्डेशनले जनाएको छ । उत्सवमा कर्णालीका बारेमा विभिन्न विषयमा बहस हुनेछन् भने २७ गते गजल सन्ध्या र २८ गते कविता साँझ समेत हुनेछ । 


Views: 212

Top