कर्णालीमा मोवाइल अस्पतालको तयारी

  POSTED ON : चैत्र १, २०७७ (३:५७ PM)

कर्णालीमा मोवाइल अस्पतालको तयारी

खगेन्द्र अधिकारी

सुर्खेत । कर्णाली प्रदेशमा रहेको सुर्खेत जुम्ला राजमार्गलाई सरकारी निकायले कर्णाली राजमार्गको नामबाट चिनेपनि त्यसमा यात्रा गर्ने यात्रुहरु भने मृत्युमार्गको उपमा दिने गर्दछन् । किनकी यो राजमार्गको निर्माणसँगै कर्णालीमा अत्यन्त दर्दनाक सडक दुर्घटना यही मार्गमा हुने गरेका छन् । ती सडक दुर्घटनालाई कम गर्नका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले मोवाइल अस्पताल तयारीको सुरुवात गर्न थालेको छ । मोवाइल अस्पतालको संचालनले विकट भौगोलिक क्षेत्र र कमजोर सडक पूर्वाधारका कारण हुने दुर्घटनाबाट मानवीय क्षति कम गर्न सकिने कर्णाली प्रदेश सरकारले विश्वास लिएको छ ।

कर्णालीवासीले सडक पुगेका स्थानमा सहजै स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि योजना अघि सारेको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ का लागि सरकारले यो योजना सम्पन्न गर्न एक करोड पचास लाख रुपैंया बजेट विनियोजन गरेको थियो ।

निर्देशनालयले सेवा सुरु गर्न अन्तिम तयारी भइरहेको जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले कर्णालीका दूरदराजमा हुने घटनाबाट हुने घाईतेको उद्धार गर्न, अकस्मात हुने विरामीलाई बचाउन सेवा प्रभावकारी हुने दावी गर्नुभयो । ‘हाम्रो प्रदेशमा सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरु धेरै छैनन् । भौगोलिक रुपमा विकटता, सडक सञ्जालको अवस्था दयनीय छ । त्यसैले दुर्घटनाको समयमा घाइतेले समयमै उपचार पाउन नसक्ने अवस्था छ,’ डा. खड्काले बताउनु भयो । ‘यो योजनाले दैनिक रुपमा हुने यस्ता घटनामा सामान्य विरामीलाई त्यही उपचार गर्ने र गम्भीर घाइतेलाई उद्धारको व्यवस्था गर्ने डा. खड्काको भनाई छ ।’

उहाँका अनुसार सुरुमा कर्णाली राजमार्ग र छिञ्चु–जाजरकोट डोल्पा सडकखण्डमा मोबाइल अस्पताल सञ्चालन हुनेछ । ‘दुई वटा ट्रक खरिद गरी त्यसमा अस्पतालको व्यवस्थापन गरिनेछ । अस्पतालमा आवश्यक पर्ने औषधी र अन्य सामाग्री त्यसमा रहनेछन्,।’ एउटा ठूलो ट्रकमा चार वटा कोठा हुने र त्यसभित्रै ल्याब, विरामी जाँच्ने बेड, शौचालय रहनेछन् । दुई वटा मोबाइल अस्पताल मध्ये एउटा कर्णाली प्रदेश अस्पताल र अर्काे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट सञ्चालन गर्ने तयारी भइरहेको छ ।

हटलाइन नम्बर र टोल फ्री नम्बरको व्यवस्था गरी सूचना आएका ठाउँमा पुग्ने व्यवस्था मिलाउनेछ भने मोबाइल अस्पतालमा एक डाक्टर, एक नर्स र उनका लागि आवश्यक पर्ने सहयोगी टिम चौविसै घण्टा खटिनेछन् ।


Views: 93

Top