16th May | 2021 | Sunday | 5:24:17 PM

शिखरद्वारा साढे दुई करोड दाबी भुक्तानी रकम प्रदान

विजय रावत   POSTED ON : चैत्र २१, २०७७ (१०:०७ AM)

शिखरद्वारा साढे दुई करोड दाबी भुक्तानी रकम प्रदान

जुम्ला । शिखर इन्स्योरेन्स बीमा कम्पनी जुम्लाले मौसम सूचकांकमा आधारित स्याउ खेतीको बीमा गरेका कर्णालीका किसानलाई साढे दुई करोड ५५ लाख बराबरको दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगुका गरी एक हजार ३९१ जना किसानलाई दुई करोड ५५ लाख दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

जुम्लामै सबैभन्दा बढी सात सय विरुवाको बीमा गराउने पातारासीका किसान अधिराज विष्टले एक लाख ८९ हजार बराबरको भुक्तानी रकम बुझ्नुभएको छ । भुक्तानी पाएपश्चात विष्टले शिखर इन्स्योरेन्सले समग्र कर्णालीका किसानको मर्म र सहायताका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै कृतज्ञता पनि व्यक्त गर्नुभयो । 

जुम्लामा ७४७ जना किसानले ४९ हजार विरुवाको बीमा गराएका थिए । जुम्लामा मात्र प्रति विरुवा २७० रुपैयाँका दरले एक करोड बीमा दाबी रकम भुक्तानी गरिएको छ । यसैगरी, प्रति विरुवा २७० रुपैयाँका दरले कालिकोटका ३२६ किसानले ७० लाख २० हजार दाबी भुक्तानी पाएका छन् । कालिकोटमा ३२६ जना किसानले दुई हजार ६ सय विरुवाको मौसमी सूचकांकमा आधारित स्याउ बीमा गराएका थिए । यस्तै, मुगुका ३१८ जना किसानले एक हजार नौ सय विरुवाको बीमा गरे बापत ५१ लाख रुपैयाँ बराबरको भुक्तानी पाएका छन् ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले बीमा गरेका किसानलाई घरदैलोमै गएर क्षतिपूर्ति रकम अर्थात् दाबी भुक्तानी दिएको बीमा कम्पनीका कर्णाली इञ्चार्ज ऋषिराम पाण्डेले बताउनुभयो । कर्णालीका किसानहरूले गत वर्ष नै स्याउ फल्ने बेला स्याउ खेतीको बीमा गरेका थिए । सोही बीमा गराएका कारण उनीहरूले अहिले दाबीभुक्तानी पाएका हुन् ।


Views: 61