व्यक्तिगत रिसिइबीका कारण गाउँमा आगो लगाएको आरोपमा एक जना पक्राउ

विजय रावत   POSTED ON : चैत्र ३०, २०७७ (२:१६ PM)

व्यक्तिगत रिसिइबीका कारण गाउँमा आगो लगाएको आरोपमा एक जना पक्राउ

जुम्ला ।  जुम्लाको तिला गाउँपालिका – ९ ढिपु गाउँको मुल्लीमा आगो लगाउने एक जना पक्राउ परेका छन् । अनुसन्धानका क्रममा सो गाउँका तेजबहादुर बोहोराले गाउँमा आगो लगाएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताउनुभयो । 

उहाँले भन्नुभयो,“यही चैत २१ गते उनले मुल्ली बस्तीमा आगो लगाएका थिए । आगलागीबाट २९ घर पूर्ण रुपमा जलेका थियो ।  १५ घरमा आंशिक क्षति भएका थियो । पक्राउ परेका तेजबहादुरले व्यक्तिगत रिसिइबीका कारण जैसिके बोहोराको घरमा आगो लगाउँदा पुरै बस्ती जलेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।” पक्राउ परेका बोहोरालाई जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप भइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लालले जनाएको छ । यसअघि जुम्ला तिला गाउँपालिका – ७ को गोठी गाउँमा आगलागी हुँदा २७  घर नष्ट भएका थिए । पशु चौपाय र अन्नपात सबै जलेर नष्ट भएको थियो । मुल्ली बस्तीमा पनि मानवीय, पशुचौपायको क्षति नभएपनि अन्नपात पूर्णरुपमा जलेको वडाध्यक्ष शेरबहादुर बोहोराले बताउनुभयो । 

    अग्नि पीडितलाई पाल वितरण

यहाँको तिला गाउँपालिका – ९ ढिपु गाउँको मुल्लीमा आगलागीका विस्थापित भएका २९ घरपरिवारलाई पाल वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको पहलमा अग्नी पीडितलाई पाल उपलब्ध गरिएको हो । 

आगलागीबाट २९ घर जलेको भएपनि २५ वटा पालमात्र वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो,“मन्त्रालयमा २५ पाल स्टक रहेछन् । तत्काल अग्नि पीडितलाई राहतको अनुभूति होस भनेर सो  २५ पाल मन्त्रालयबाट पठाएको हो । अग्नि पीडितको लागि राहत काठमाडौँमा पहल भइरहेको प्रजिअ थापाले बताउनुभयो । ” सो पालले अग्नि पीडितलाई तत्काल आवासको लागि सहजता ल्याउने छ ।  

भाडाकुडा सर सामान राख्न मिल्ने सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताउनुभयो । तिला गाउँपालिका– ९ का वडाध्यक्षलाई सो पाल हस्तान्तरण गरेका छौ । सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईले भन्नुभयो,“पालले अग्नि पीडितलाई बस्न र सामान राख्न सहयोग पुग्ने छ ।”  

मुल्ली गाउँको बर्षायामका ६ महिना बस्ने बस्ती हो । अब खेतीपातीको सिजन भएकोले यी पालले बस्न सहज हुने छ । सो बस्तीमा अब खेतीपातीको काम सुरु हुने याम आएकोले यो बेला बस्ने आवास नहुँदा समस्या रहेकोले सो पाल यहाँका अग्नि पिडितलाई वितरण गरेकोे सहायक प्रजिअ चौलागाईले बताउनुभयो । 

आगलागीबाट अन्न सखाप भएकोले उद्योग मन्त्रालय र जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा ५० क्वीन्टल चामल वितरण गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।  


Top