16th May | 2021 | Sunday | 5:30:55 PM

संकटमा कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिर

विजय रावत   POSTED ON : बैशाख २, २०७८ (९:३३ AM)

संकटमा कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिर

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कर्णालीकै प्रसिद्ध धार्मिक सम्पदा चन्दननाथ भैरवनाथ मन्दिरले गुरुयोजना तयार नगर्दा सो मन्दिर अहिले  संकटमा परेको छ ।  मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले बन्न लागेपछि चन्दननाथ मन्दिरको शोभा नै हराउन थालेको छ । अहिले तीन तला बन्दा मन्दिर पूर्ण रूपमा छेकिएको छ । 

पाँच तला बनिसकेपछि मन्दिर पूर्ण रूपमा छेकिने अवस्था छ । भवन निर्माणअघि कार्यालयले गुठी समितिसँग समन्वय नगरेको समितिका पदाधिकारी बताउँछन् । एक्कासि पाँच तले बनाउने भन्दै तीन तलाको काम सुरु भएपछि मात्र थाहा भयो गुठी समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले भन्नुभयो,“कार्यालको भवनले मन्दिर छेक्यो । मन्दिरको गरिमा र पहिचान मेट्ने प्रयास भयो । सुन्दरता हरायो यो राम्रो पक्ष होइन । ” मन्दिर वरिपरिको घर एक तले मात्रै लगाउने परम्परागत चलन थियो । त्यसपछि त्यसलाई बढाएर दुई तलासम्म लगाउन पाइने बनाइयो । अहिले व्यक्तिगत र सरकारी भवनले मन्दिरै ढाक्न थालिसकेको समितिका अध्यक्ष रोकायाले बताउनुभयो ।

मन्दिरमा खडा हुने ५२ हाते लिंगभन्दा अग्लो भवन निर्माण हुनुले यहाँको धार्मिक आस्था संकटमा पर्न थालेको यहाँका स्थानीयवासि बताउँछन् । भवन निर्माणको काम भइरहेको छ । स्टिमेटअनुसार भवन बहुउद्देश्यीय पाँच  तलाको बन्नेछ । पाँच तलाको भवन मन्दिर अगाडि हुँदा न मन्दिरको सुन्दरता रहन्छ नत कुनै शोभा बढ्छ मन्दिर ओझेल पर्ने अहिले देखिएको स्थानीयवासि कविता शाहीले बताउनुभयो । अहिले राराताल घुम्न आउने हरेक आन्तरिक तथा बाह्य पर्यटकले चन्दननाथ मन्दिरको दर्शन गरेर मात्र फर्कने गरेका छन् । पुरातत्त्व विभाग, गुठी समितिले पनि धार्मिक तथा साँस्कृतिक महत्वबारे बोध गर्न नसकेको यहाँका  स्थानीयवासि बताउँछन् । पहिलो मन्दिर परिसरमा रहेको मार्गमा सिलौटबाहेक कालोपत्रे नगर्ने भनियो । तर, अहिले वरिपरिको पूरै क्षेत्र कालोपत्रे भइसकेको छ । चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले भन्नुभयो,“अहिले परम्परादेखि चलिआएको पहिचान भेटिँदैन । मन्दिर आसपासमै जिल्ला अदालत जुम्लाको भवन बनेको छ । त्यो ठाउँमा मन्दिरका भकारी राखिन्थे पूर्वअध्यक्ष आचार्यले बताउनुभयो । ”

 यहाँ प्रमाण बोलिरहेका छन् तर ती प्रमाण थन्किएका छन् । अहिले चन्दननाथ भैरवनाथ मन्दिर आसपासका सबै भवन आधुनिक बनेका छन् । घर निर्माण गर्दा पहिले जानकारी दिने चलन छैन । एक्कासि तला बढेको मात्र थाहा हुने गरेको पुर्वध्यक्ष आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको शोभा मेटिने गरी भवन बनाउने सरकार र घर बनाउने भक्तजनका कारण धार्मिक आस्था धुमिल बनिरहेको छ । यो हाम्रो धार्मिक आस्था विपरीत कार्य हो । भवन निर्माण हुनुपूर्व गुठी समितिसँग कुनै जानकारी नदिइएको बताउनुभयो । ” 

चन्दननाथ गुठी समितिले मन्दिरको गुरुयोजना निर्माण गर्न नसकेका कारण धमाधम भवन निर्माण गर्ने र मन्दिरको जग्गा मास्ने कार्य भइरहेको यहाँका स्थानीयवासि बताउँछन् । संस्कृतिका जानकार पूर्णसिंह कठायत भवन बनाउँदा एक पटक मन्दिरसँग समन्वय हुनुपर्ने बताउनुभयो । मन्दिर सबैको आस्थाको धरोहर हो । यो धरोहरको आफ्नै प्रकारको पहिचान छ जुन मेटिनुहुँदैन । नेपाली भाषा–संस्कृतिको उद्गम स्थल जुम्ला हो । चन्दननाथ मन्दिरलाई धार्मिक धरोहरको उपमा पनि दिइएको छ । प्राचीनकालदेखि स्थापित धरोहरलाई प्रत्यक्ष असर पर्ने गरी भवन बनाइएको छ । भूकम्प, दैवीप्रकोप भए भवनको तला भत्किएर मन्दिरको भौतिक संरचनामा क्षति हुन सक्ने संस्कृतिका जानकार कठायतले बताउनुभयो ।


Views: 82