कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

खगेन्द्र अधिकारी   POSTED ON : बैशाख ३, २०७८ (५:३९ PM)

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको सातौ अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका हुन् ।

माओवादी केन्द्रका १२ नेकपा एमालेका ४ (प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापा) तथा नेपाली काँग्रेसका ६ सांसदहरुले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका छन् । मुख्यमन्त्री शाहीले विश्वासको मत दिएपछि कर्णाली प्रदेश सरकार जोगिएको छ । मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका हुन् भने अविश्वासको पक्षमा १५ मत परेको छ । राप्रपाका सांसद भने तथस्ट छन् ।

यस अघि पनि पटक पटक मुख्यमन्त्री शाहीलाई हटाउने प्रयास भएका थिए । ती प्रयासलाई असफल पार्दै अघि बढेका मुख्यमन्त्रीले यस पटक भने संसदबाटै विश्वासको मत लिएर आफू विरुद्ध लाग्नेहरुलाई तह लगाइदिएका छन् ।

प्रदेश सभामा माओवादीबाट निर्वाचन सांसद धर्मराज रेग्मीलाई निलम्बन गरेपछि ३९ संख्या मात्र कायम रहेको छ । जसमध्य सभामुखसहित एमालेका २० माओवादीका १२ नेपाली काँग्रेसका ६ र राप्रपाको १ सांसद छन् ।

 


Top