21st June | 2021 | Monday | 12:04:09 PM

मुख्यमन्त्री शाहीको सरकार जोगाईदिने एमालेका तीन सांसदलाई मन्त्री पद उपहार

हिमालय टाइम्स   POSTED ON : बैशाख ५, २०७८ (७:३९ AM)

मुख्यमन्त्री शाहीको सरकार जोगाईदिने एमालेका तीन सांसदलाई मन्त्री पद उपहार

सुर्खेत । पार्टीको ह्वीप उल्लंघन गरी मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगाईदिने तीन प्रदेशसभा सदस्यले मन्त्री पद उपहार पाएका छन् ।

पार्टीको निर्देशन विपरित माओवादी केन्द्रको सरकार जोगाउन सहयोग गरेको भन्दै नेकपा एमालेको कारवाहीमा परेका नन्दसिंह बुुढा, अमरबहादुर शाही र कुर्मराज शाहीले मन्त्री पद उपहार पाएका हुन् ।

फ्लोर क्रस गर्दै सरकार जोगाइदिने बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, थापालाई भौतिक पूर्वाधार विकास र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्रालयको जिम्मेवारी दिइएको हो । उहाँहरुले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिनुभएको थियो । बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले पनि शाहीलाई मत दिनुभएको थियो । अहिले कर्णाली सरकारमा माओवादी केन्द्रबाट नरेश भण्डारी र विमला केसी मन्त्री छन् ।

३९ सदस्यीय प्रदेशसभामा माआवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएर शाहीको सरकार जोगाएका थिए ।

उहाँहरुलाई एमाले प्रदेश कमिटीले शनिबार नै फ्लोर क्रस गरेको भन्द्र पार्टीबाट निस्कासन गरेको छ । प्रकाश ज्वालाको हकमा भने महाधिवेशन आयोनक कमिटी सदस्य भएकाले कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

कांग्रेसले पनि सरकारमा सहभागिता जनाउने सम्भावना रहेको बुझिएको छ । मुख्यमन्त्री शाहीले पहिलो पटक २०७४ साल फागुन ६ मन्त्रिपरिषद गठन गर्नुभएको थियो । सो समयमा नेकपा एमालेका भागमा चार मन्त्रालय परेका थिए भने माओवादीका भागमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय परेका थिए ।


Views: 105