छुइगोठमुक्त अभियानमा जुटे तिला गाउँका महिला

विजय रावत   POSTED ON : बैशाख १४, २०७८ (४:११ PM)

छुइगोठमुक्त अभियानमा जुटे तिला गाउँका महिला

जुम्ला ।  जुम्लाको तिला गाउँपालिका – १ का स्थानीय महिला यतिबेला छुइगोठमुक्त अभियानमा जुटेका छन् । सामाजिक  कुरीतिका रुपमा रहेको छुई(छाउपडी प्रथा) अन्त्य गर्न अभियानमा जुटेको आमा समुहका सचिव माने रावतले बताउनुभयो । उहाँले भन्नुभयो , “ यहाँका स्थानीय महिला  पहिलो चरणमा छुइगोठदेखि घरको एक सुरक्षित कोठामा बस्नु पर्ने भनाइ रहेको  छ । अहिले पनि छुई हुँदा महिलाले गाईबस्तुसंग बस्नु पर्ने बाध्यता छ। जसले स्वास्थ्यमा नकरात्मक प्रभाव देखिनाले समस्या हुने गरेको छ ।  अब स्वास्थ्य अवस्थालाई दाउमा राखेर गोठमा बस्न सक्तैनौँ। घरको एक कोठा छुई भएको बेला बस्नको लागि तयारी गर्न परिवारलाई भनिराखेका छौँ। अब घरमै बस्छौँ। छुइगोठमुक्त अभियान सफल बनाउन कम्मर कसेर लागि परेका छौँ।  

जिल्लामा छुई हुँदा तीनदेखि ७ दिनसम्म गोठमा बस्ने  चलन छ। घरमा बस्दा देउता लाग्ने, चोटपटक लाग्ने, अशिनष्ट हुने जस्ता भ्रम फैलाइन्छ। त्यो भ्रम अहिले पनि छर्न खोजिदैँछ।“  रावलले भन्नुभयो ,“ छुई एक नियमित प्रक्रिया हो। फल लाग्नको लागि फुलेको फूल जस्तै हो। महिलालाई अपहेलना गर्न गरिएको कुरीति हो। अब पनि गोठमा बस्नु अस्वीकार्य हुने आमा समुहका सचिव रावलले बताउनुभयो । ”

तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले छुई प्रथा उन्मुलनका लागि महाअभियान थालिन्। अभियान नसकिँदै उनको सरुवा भएपछि छुइ प्रथा उन्मुलन महाअभियान अलपत्र अवस्थामा छ । गाउँमा गठन गरिएका द्रुत निश्क्रिय भएका छन्। अहिले गाउँमा महिलाले कमाण्ड लिन थालेका छन्। गाउँमा समूह गठन गर्ने र हरेक महिनाको एक दिन छुइ गोठमुक्त अभियानका बारेमा छलफल हुने गरेको छ। कहिले स्थानीय अगुवासंग भेट्ने, कहिले धामीझाँक्री त कहिले पुरुषसंगको छलफललाई घनिभुत बनाउँदै लगेको स्थानीयवासि गोइली बुढाले बताउनुभयो । छुइ प्रथा महिलालाई दबाउन गरिएको कार्य हो। यो कार्य अहिलेको समाज सुहाउँदो छैन। स्थानीयवासि बाटु बुढाले भन्नुभयो,“सुरक्षाको लागि भएपनि छुइगोठ भत्काएर घरमा बस्नु पर्ने बेला आइपुगेको छ। पहिले सो गाउँको हरेक गोठमा आगो बलेको देखिन्थ्यो ।

 अहिले छुइगोठमुक्त अभियान नै चलेपछि अधिकांस महिला घरभित्रको एक कोठामै बस्न थालेको बुढाले बताउनुभयो । छुइगोठमुक्त अभियानमा महिलाको सक्रिया प्रशंसनीय रहेको महिला नेतृ नारायणी चौलागाइँले बताउनुभयो । उहाँले भन्नुभयो ,“ छुइ प्रथा अभिशाप हो। समाजमा विकृतिका रुपमा जरा गाडेको छ। तर पछिल्लो समयमा जरा उखेल्नको लागि महिला नै सक्रिय बनेका छन्। छुइ भएको समयमा गोठमा बस्दा रोगकिराको संक्रमण हुने खतरा छ। मानिसबाट पनि डराउनु पर्ने अवस्था रहेको महिला नेतृ चौलागाइँले बताउनुभयो ।”

 गाउँमा छुई मुक्त गोठ निर्माणका लागि स्थानीय महिलासंग मास बैठक भइरहेका छन्। महिलाहरु विकृति हटाउनको लागि कम्मर कसेर लागेका छन्। तिला गाउँपालिकाको एकदेखि नौ वडासम्म मास बैठक भइरहेको छ। गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढाले भन्नुभयो , “ परम्परादेखि चलिआएको छुइ प्रथा सबै मिलेर हटाउनुपर्ने समय आएको छ  । 

 पहिलो चोटी गोठदेखि घर ल्याउन चाहान्छौँ। घरमा आइसकेपछि सबै कुरा हल हुनेछन्। धामीझाँक्री, सासु ससुरा, पुरुष, किशोर किशोरी सबै संग छलफल भएको छ । पहिले बस्ती, टोल, वडा हुँदै गाउँपालिका छुइगोठ मुक्त बनाउने अभियान सुरु भएको उपाध्यक्ष बुढाले बताउनुभयो । ” सर्बोदय नेपालसंगको सहकार्यमा तिला गाउँपालिकाले हरेक बस्तीका महिलासंग छुइ गोठ मुक्त गर्ने सवालमा छलफल चलाइरहेको छ । यो अभियान जिल्लाको एक नगरपालिकासहित सातवटै गाउँपालिकामा चलाउनु पर्ने आवश्यक छ । छुइगोठमुक्त अभियान सञ्चालन हुँदा यहाँका संरचना बाधक बनेका छन्। अधिकांस घर दुई कोठाका मात्र छ। एउटा भान्सा एउटा सुत्ने कोठा। अब बन्ने संरचना अनिवार्य चार कोठाको हुनु पर्ने उपाध्यक्ष बुढाले बताउनुभयो । 

  


Top