कर्णाली प्रदेश–कोरोना रोकथामका लागि १ अर्व रकम रकमान्तर

खगेन्द्र अधिकारी   POSTED ON : बैशाख १६, २०७८ (३:३४ PM)

कर्णाली प्रदेश–कोरोना रोकथामका लागि १ अर्व रकम रकमान्तर

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि १ अर्ब रुपैयाँ रकमान्तर गरेर व्यवस्था गरेको छ ।

उक्त रकममध्ये तत्काल ५० करोड रकम विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाइएको कर्णाली सरकारका प्रवक्ता मन्त्री विमला केसीले जानकारी दिनुभयो । त्यस्तै कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि तत्काल प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड रुपैयाँ बजेट उपलब्ध गराइने भएको छ भने चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पतालहरु र रणनैतिक अस्पताललाई १२ करोड रुपैयाँ बजेट निकासा गरी पठाएको मन्त्री केसीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेश भित्रिने ४ वटा नाकाहरुमा थप स्वास्थ्यकर्मीसहित एन्टिजेन परीक्षण र स्क्रिनिङको व्यवस्था मिलाएको पनि बताउनु भयो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच सर्वदलीय संयन्त्र निर्माण गरी कोभिड नियन्त्रणमा लाग्ने प्रस्ताव प्रदेश सभामा लैजान लागेको भन्दै सरकारले उक्त प्रयासलाई प्रमुख प्रतिपक्षी दलले अवरोध गरेको आरोप लगाएको छ । ‘प्रमुख प्रतिपक्षी दल संसदीय परम्परा र अभ्यासलाई मजाक गर्ने गरी जनताको सुसूचित हुने अधिकारलाई कोरोनाको त्रास देखाएर सदन बन्द गर्न चाहन्छ’ मन्त्री केसीको भनाई थियो । कर्णाली प्रदेश सभामा थोरै जनप्रतिनिधि भएकाले स्वास्थ्यका आधारभूत मापदण्डहरु अपनाएर प्रदेशसभा सञ्चालन गर्न सकिने मन्त्री केसीले जिकिर गर्नुभयो ।


Top