कर्णालीबाट सहयोगका लागि चिकित्सकसहितको टोली भेरी अस्पताल जाँदै

विजय रावत   POSTED ON : बैशाख १९, २०७८ (११:४४ AM)

कर्णालीबाट सहयोगका लागि चिकित्सकसहितको टोली भेरी अस्पताल जाँदै

जुम्ला ।  जुम्ला स्थित कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि प्रतिष्ठानबाट चिकित्सकसहितको टोली सहयोगको लागि आज  नेपालगन्ज जाने भएका छन् ।

प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा प्रविण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगन्ज जाने लागेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताउनुभयो ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ जना चिकित्सक र स्वास्थ्यकर्मीको टीम भेरी अस्पतालमा खटाइन लागिएको हो । ‘क्रिटिकल केयरका लागि चिकित्सकको अभाव रहेको जानकारी भेरी अस्पतालका मेसु डा प्रकाश थापाले गराउनुभएको थियो प्रतिष्ठान निमित्त निर्देशक डा राजिव शाहले भन्नुभयो,“ त्यही अनुसार क्रिटिकल विभागकै इन्चार्ज गिरीको नेतृत्वमा टीम पठाउने निर्णय गरिएको हो ।

ईन्चार्ज गिरीसहित डा. अरुण श्रेष्ठ, डा हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जीङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा भेरी अस्पतालमा जान लाग्नुभएको हो । ‘मौसमले साथ दिए र उडान भए आज नै नेपालगन्ज जाने तयार बताउनुभयो । करिव १० देखि १४ दिनसम्म भेरीमा बसेर हामीले विरामीको उपचार र व्यवस्थापनमा सहयोग गर्नेछौं ।’

नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा इमेडी टीम बनाएको छ । उक्त टीमले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्ने गर्छ । यो टीम निश्चित समयका लागि परिचालन हुने गरेको छ ।

भेरी अस्पतालमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापनमा गाह्रो परेको भन्दै आफ्नो नेतृत्वको टीमले त्यसमा सहयोग र सहजिकरण गर्ने डा गिरीले बताउनुभयो ।

भेरी अस्पतालमा कोरोना उपचार गर्न सकस भएको खबर बाहिर आउने गरेका छन् ।

अहिलेसम्म सो अस्पतालका ७३ बढी स्वास्थ्यकर्मी संक्रमित छन् । जनशक्ति अभावमा केही स्वास्थ्यकर्मी संक्रमित भएर पनि उपचारमा खटिएको अस्पतालले जनाएको छ ।


Top