बिमानस्थलमै छैन स्वास्थ्य सुरक्षाका मापदण्ड

विजय रावत   POSTED ON : बैशाख १९, २०७८ (१:३५ PM)

बिमानस्थलमै छैन स्वास्थ्य सुरक्षाका मापदण्ड

जुम्ला । कोरोना हटस्पट नेपालगंज सुर्खेतदेखि आउने यात्रुको व्यवस्थापन जुम्ला विमानस्थलमा प्रभावकारी हुन सकेको छैन । 

नेपालगञ्ज, सुर्खेतदेखि आउने र जुम्लादेखि जाने यात्रुको व्यवस्थापन भद्रगोल नै देखिएको स्थानीयले बताएका छन् । 

  राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाले जुम्ला विमानस्थलमा गरेको अनुगमनका क्रममा जहाजबाट आउने यात्रुबाट नै कोरोना संक्रमणको खतरा देखिएको पाइएको हो ।  मानवअधिकार अधिकृत किरण बराम तथा सूचना अधिकारी बिना सावधानी आन्तरिक विमानस्थल हुँदै ह्वारह्वार्ती यात्रु आउन थालेपछि जहाजले कोरोना नै ओसारी रहेको आभाष भइरहेको बताउनु हुन्छ ।

कोरोना संक्रमण तीव्र फैलिइरहेको बेला सुर्खेत र नेपालंगजदेखि आउने यात्रु र विमानस्थलको व्यवस्थापनको निकै कमजोर देखियो, उहाँले भन्नुभयो,‘यो कमजोरीले सिंगो जिल्ला नै कोरोना हटस्पट बन्न सक्ने खतरा छ । समयमै सरोकारवालाको ध्यान पुगोस् ।’  उहाँले भन्नुभयो,‘विमानस्थलमा न हेल्थ डेक्स छ, नत डाटा रेकर्ड नै । कोरोना हटस्पटबाट धमाधम मानिसहरु भित्रिरहेका छन् । विमानस्थलमा खेलाँची जस्तै छ । यो स्वास्थ्य र सुरक्षाको हिसावले राम्रो मानिदैन।’

कुन यात्रु कहाँबाट भित्रियो कुनै तथ्यांक राखिएको छैन । विमानस्थलका कर्मचारी ग्लोब नगरि सामान ओसारपसार गरिराखेका छन् । कोरोना हटस्पटबाट आएका सामान, ब्याग सेनिटाइज गरिएको छैन । मानवअधिकार अधिकृत बरामले भन्नुभयो,‘मास्क मुखमा मात्रै लगाउने नाक नछोप्ने, आगन्तुक यात्रुले सामाजिक दूरी कायम नगर्ने, प्रहरीले सामाजिक दूरी कायम गर्न गरिएको आग्रह नमान्ने र यात्रु लिन विमानस्थलमा पुगेको आफन्तले पनि सावधानी नपनाउने जस्ता कार्य गरेको अनुगमनका क्रममा भेटियो ।

यात्रु ओसारपसार गर्न विमानस्थल पुगेका सवारीसाधनमा समेत सावधानी देखिँदैन ।  विमानस्थल प्रहरीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न निकै पहल गरिरहेको भेटिएको थियो । तर यात्रुले मानिरहेको भेटिएन । जहाजले सेड्युल उडान नगरेर चार्टर उडान गर्दा यात्रु मर्कामा परेको समेत अनुगमनमा भेटिएको थियो ।

मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका अनुसार टावरले फेसशील्ड भाइजर अनिवार्य लागु गराइएको भेटिएको थियो । मानवअधिकार अधिकृत किरणले स्थानीय तह र प्रशासनबीच समन्वय अभाव भइरहेको र सबै मिलेर जिम्मेवार बनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नत्र जुम्ला, नेपालगंज र सुर्खेत बन्न बेर हुने छैन ।’ मानवअधिकार आयोगले मानिसहरुको आगमन भइरहने क्षेत्रमा अनुगमन गर्न थालेको छ । सीमा क्षेत्र र ग्रामिण बजार क्षेत्रमा अनुगमन गर्न थालिएको बताउनुभयो ।


Top