जुम्लामा बैशाख २२ गते राति १२ बजेदेखि निषेधाज्ञा

विजय रावत   POSTED ON : बैशाख २१, २०७८ (६:१० PM)

जुम्लामा बैशाख २२ गते राति १२ बजेदेखि निषेधाज्ञा

जुम्ला । कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि जुम्लामा निषेधाज्ञा गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले बुधबार राति १२ बजेदेखि बैशाख मसान्त सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौंलागाईका अनुसार विहान ६ बजेदेखि ९ बजे सम्म अत्यावश्यक बस्तु किनबेचका लागि खुला हुने भएपनि अरु समयमा ठप्प हुने बताउनुभयो । उहाँले भन्नुभयो,“ यो समय निकै जोखिमयुक्त समय भएकोले सबैले स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्न जरुरी छ । आफु बचौँ, अरुलाई पनि बचाऔँ भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्वास्थ्य सुरक्षाका क्रियाकलाप अपनाउन आग्रह गरिएको छ ।  यसअघि कोभिड १९ संकट व्यवस्थापन समितिले विद्यालय बन्द गर्ने, पन्ध्र जना देखि बढी भिडभाड गर्न नपाइने, गाउँपालिका तथा नगरपालिकाले कोभिड सम्बन्धि रणनीति बनाउने निर्णय गरेको थियो । कोरोना संक्रमण फैलन नदिनको लागि सबै सचेत हुनु पर्ने  सहायक प्रमुख जिल्ला अधिकारी चौंलागाईले बताउनुभयो ।

४८ संक्रमित

कोरोना संक्रमणको उपचारमा खटिरहेको कर्णाली प्रतिष्ठानमा अहिले जिल्ला बाहिरबाट विरामी आउन थालेका छन् । सुर्खेतबाट आएका मध्यम स्वास्थ्य समस्या भएका वेड र अक्सिजन आवश्यक विरामीको समेत उपचार भईरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले एकजना विरामी सिकिस्त विरामी भएको जानकारी दिएको छ । यसैगरी कोरोना पोजेटिभको संख्या ४८ पुगेको जानकारी गरिएको छ । प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाका अनुसार ४ वटा बाहिरबाट आएको सेम्पल सहित अन्य जुम्लाका गरी ४८ जना संक्रमित भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । 


Top