कर्णालीका सिडिओहरुलाई प्रदेश प्रमुखको टेलिफोन : कोभिड प्रतिकार्यमा चासो व्यक्त

खगेन्द्र अधिकारी   POSTED ON : बैशाख २३, २०७८ (५:१७ PM)

कर्णालीका सिडिओहरुलाई प्रदेश प्रमुखको टेलिफोन : कोभिड प्रतिकार्यमा चासो व्यक्त

सुर्खेत । कर्णाली प्रदेशका  प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोभिड– १९ (कोरोना भाइरस) रोकथाम तथा प्रतिकार्यको लागि भइरहेका प्रयासबारे जिल्लागत रुपमा चासो व्यक्त गर्नुभएको छ । कर्णाली प्रदेशअन्तरगत जिल्लाहरुमा रहेका प्रमुख जिल्ला अधिकारीहरुलाई आज (बिहिवार) टेलिफोन गरी कोभिड–१९ रोकथाम तथा प्रतिकार्यका लागि भइरहेका गतिविधिबारे चासो व्यक्त गर्नुभएको हो ।

उहाँले संक्रमण फैलिन नदिनको लागि भइरहेको निषेधाज्ञा र त्यसको पालनाको अवस्था, क्वारिन्टिन, आइसोलेसन र कोभिड विशेष अस्पताल, कोभिड १९ चेकजाँचको उपलव्धता, संक्रमित भइहालेमा संक्रमितलाई गरिने उपचार, अस्पतालहरुमा अक्सिजनको अवस्थालगायतबारे कुराकानी गर्नुभएको छ ।

टेलिफोनमार्फत् प्रदेश प्रमुखज्यूले विश्वभर महामारीको रुप लिएको कोभिड १९ प्रतिकार्यमा हालसम्म भइरहेका क्रियाकलाप र प्रमुख जिल्ला अधिकारीहरुले देखाएको क्रियाशिलताको प्रशंसा गर्दै संक्रमणबाट आफू पनि जोगिन सचेत गराउनुभयो ।

यसैगरी उहाँले नागरिकको स्वास्थ्यभन्दा ठूलो कुरा अरु नहुने भएकाले संक्रमण फैलने नदिने र फैलिहालेमा नियन्त्रण तथा उपचारको व्यवस्थापनमा दृढतापूर्वक लाग्न निर्देशनसमेत दिनुभएको छ । संक्रमण फैलिन नदिन हाल कर्णाली प्रदेशका १० वटै जिल्लाभर जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेका छन् ।

 


Top