कोरोना एम्बुलेन्स व्यवस्थापन गर्न सांसद महतद्वारा सहयोग

  POSTED ON : बैशाख २५, २०७८ (३:५८ PM)

कोरोना एम्बुलेन्स व्यवस्थापन गर्न सांसद महतद्वारा सहयोग

जुम्ला । जुम्लाका सङ्घीय सांसद गजेन्द्रबहादुर महतले कोरोना एम्बुलेन्स व्यवस्थापन गर्नका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई रु १० लाख उपलब्ध गराउने भएका छन् । जिल्लामा दिनहुँ कोभिडका बिरामी बढिरहेको बेला कोभिड एम्बुलेन्स व्यवस्थापनका लागि रु १० लाख डिसिसिएमसीलाई उपलब्ध गर्ने सांसद महतले बताउनुभयो ।

यही वैशाख १८ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको डिसिसिएमसीको बैठकले कोरोना सङ्क्रमित बिरामी ओसारपसार गर्ने एम्बुलेन्स व्यवस्थापन गर्नका लागि स्थानीय तहले तीन दिनसम्म रु एक÷एक लाख जम्मा गरिसक्नुपर्ने निर्णय गरेको थियो । निर्णय गरेको एक साता बित्न लाग्दा पनि कुनै पनि स्थानीय तहले रकम जम्मा नगरेपछि सांसद महतले निर्वाचन क्षेत्र विकास कोषबाट रु १० लाख उपलब्ध गराउनु भएको हो ।

कार्यालयले कोभिडका बिरामी ओसारपसार गर्न सम्बन्धित स्थानीय तहलाई परिपत्र गरिसकेको छ । स्थानीय तहले डिसिसिएमसीको बैठकमा आफैँ निर्णय गर्ने तर निर्णयको आफँै कार्यान्वयन नगर्ने गरेकाले कोभिड एम्बुलेन्स व्यवस्थापन हुनसकेको थिएन । सांसद महतले कोषबाट रु १० लाख तिला गाउँपालिकालाई उपलब्ध गराउने बताउनु भएको छ भने गाउँपालिकाले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई उपलब्ध गराउने छ । 

जिल्लामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या ८४ पुगेको छ । वैैशाख २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको पिसिआर ल्याबमा ४० जनाको स्याम्पल परीक्षण गरिएकामध्ये २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । सङ्क्रमण पुष्टि भएका व्यक्ति लक्षणसहितका छन् । उनीहरुलाई अक्सिजनको पनि आवश्यकता पर्ने बताइएको छ । 

यसैबीच कोरोना सङ्क्रमितलाई बोक्न जुम्लाको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउनु भएको छ । कोरोना सङ्कटका बेला सङ्क्रमित ओसारपसार गर्न आफू चढ्ने गाउँपालिकाको गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिएको अध्यक्ष रावलले बताउनुभयो । गाउँपालिकामा एक एम्बुलेन्स छ । एम्बुलेन्सले दुई महिनादेखि सङ्क्रमित बिरामी ओसारपसार गरिरहेको छ । गाउँपालिकाले कोभिड बिरामी बोक्नका लागि एउटा अर्को गाडी पनि व्यवस्थापन गरेको छ । गाउँपालिकाले तीनवटै गाडी तयारी अवस्थामा राखेको छ । 


अध्यक्ष रावलले भन्नुभयो, “सङ्कटको समयमा जनताको सेवा गर्नु स्थानीय सरकारको काम हो । जनता बाँचे हामी बाँच्छौँ । जनता नरहे हामी पनि रहँदैनौँ ।” गाउँपालिका अध्यक्ष रावल चढ्दै आएको गाडीसमेत कोरोना सङ्क्रमित ओसारपसारका लागि प्रयोग गर्ने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । 


Top