आइसोलेसन सेन्टर निर्माण गर्दै जुम्लाका स्थानीय तह

विजय रावत   POSTED ON : बैशाख २९, २०७८ (६:१६ PM)

आइसोलेसन सेन्टर निर्माण गर्दै जुम्लाका स्थानीय तह

जुम्ला ।  कोरोना भाइरसको दोस्रो लहरलाई रोकथाम तथा संक्रमणबाट बच्नका लागी जुम्लाका सात स्थानीय तह आइसोलेसन सेन्टर निर्माणमा जुटेका छन् । यहाँको तिला गाउँपालिकाले पाँच शैयाको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । सो गाउँपालिको – ३ मा रहेको कोभिड अस्थायी अस्पतालमा आइसोलेसन सेन्टर निर्माण गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गशेष शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो,“गाउँपालिको तीन स्थानमा हेल्थ डेस्क स्थापना गरेका छौ ।आइसोलेसन सेन्टरमा थप आवश्यक पर्ने सामग्री तत्काल उपलब्ध गराउन नेपालगंजबाट औषधिको माग गरेका छौ ।आवश्यक सामग्री तत्काल व्यवस्थापनका लागि गाउँपालिकालाई निर्देशन समेत गरिसकेका छौ । कोरोना भाइरस बढ्दै गएमा र बेडको अभाव भएमा आइसोलेसन सेन्टरमा थप शैयाको व्यवस्था समेत गर्न गाउँपालिका लागि परेको स्वास्थ्य शाखाका प्रमख शाहीले बताउनुभयो । अहिले कोभिड अस्थायी अस्पतालमा एक जना मेडिकल अधिकृत एक जना स्टाफ र एक जना कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । आइसोलेसन सेन्टर र शैया आवश्यकता अनुसार बढाउन लागी परेको यहाँका स्वास्थ्य शाखाहरुले जनाएका छन् ।  

चिकित्सक अभाव

स्थानीय तहले सञ्चालन गरेका अस्थायी कोभिड अस्पतालका लागि चिकित्सकको अभाव भएपछि अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न समस्या भएको छ । सङ्घीय सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा बजेटसहित निर्देशन गरेको छ । तत्काल तीन महिनाका लागि बजेट व्यवस्थापनसहित यहाँका स्थानीय तहमा सङ्घीय सरकारले रु १० लाखका दरले बजेट पनि पठाएको छ ।  जिल्लाका सात स्थानीय तहमा अस्थायी कोभिड अस्पताल स्थापना गर्न बजेट पठाइए पनि तिला बाहेक अरु ६ स्थानीय तहले एक  चिकित्सक पनि पदपूर्ति गर्न नसकेको यहाँका गाउँपालिका प्रमुख बताउँछन् । सरकारले कोभिड अस्पतालका लागि एक मेडिकल अधिकृत, दुई स्टाफ नर्स तथा एकएक  ल्याब टेक्निसियन र कार्यालय सहयोगी राख्न बजेटसहितको व्यवस्थापन गरेको थियो । यहाँका स्थानीय तहले १५ दिनको समयावधिमा दुई पटकसम्म विज्ञापन आह्वान गरेकाम एक चिकित्सकले पनि विज्ञापनमा दरखास्त नदिएको सिंजा गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर बुढाले बताउनुभयो ।

 सरकारी तलब स्केलमा बजेट पठाइए पनि मेडिकल अधिकृतले न्यूनतम रु एक लाख माग्ने भएकाले कसैको दरखास्त नपरेको हुन सक्ने स्वास्थ्य शाखाले जनाइएको छ ।  चन्दननाथ नगरपालिकाभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले सो नगरपालिकामा मेडिकल अधिकृत छन् । पत्रिकामार्फत विज्ञापन पनि गरायौँ । व्यक्तिगत रुपमा खोजी भएपनि मेडिकल अधिकृत पाउन नसकिएको यहाँका गाउँपालिकाले जनाएका छन् । 

स्टाफ नर्स र अन्य कर्मचारीका हकमा ठूलो सङ्ख्यामा आवेदन परी परीक्षा लिई उत्तीण हुनेलाई भर्ना गरिसकिए पनि मेडिकल अधिकृत अहिलेसम्म पाउन नसकिएको यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । सङ्घीय सरकारले पहिलो पटक तीन महिनाका लागि रु १० लाख पठाएको छ । 

रु चार लाख ५० हजार तलब र रु पाँच लाख ५० हजार अस्थायी कोभिड अस्पताल व्यवस्थापनका लागि बजेट पठाइएको थियो । अहिले जटिल प्रकृतिका सङ्क्रमित सम्पर्कमा आउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउनुपर्ने बाध्यता रहेको कोभिड अस्थायी अस्पतालले जनाएको छन् । 


Top