सुर्खेतमा थपियो दुई हप्ता निषेधाज्ञा

खगेन्द्र अधिकारी   POSTED ON : बैशाख ३०, २०७८ (५:०९ PM)

सुर्खेतमा थपियो दुई हप्ता निषेधाज्ञा

सुर्खेत । सुर्खेतमा थप दुई हप्ता निषेधाज्ञा थपिएको छ । थपिएको अवधिमा निषेधाज्ञालाई थप कडाइ गर्ने योजना रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार शुक्रबार रातीदेखि लागुहुने गरी थप दुई हप्ता निषेधाज्ञा लागु गर्ने तयारी गरिएको हो । यसअघि लागु भएको निषेधाज्ञाको अन्तिम मिति भोली सकिदैछ ।

यसअघि लागु भएको निषेधाज्ञा कार्यान्वयनमा स्थानीयले अवज्ञा गर्न थालेपछि अब लागुहुने निषेधाज्ञा अवधिमा प्रशासन थप कडाई गर्ने तयारीमा लागेको हो । हालको स्थितीलाई हेर्दा निषेधाज्ञा थपेर कडाई गर्नुको विकल्प नभएको जिल्ला प्रशासन कार्यालय सुर्खेतको भनाई रहेको छ । सुर्खेतका प्रजिअ छविवाल रिजालका अनुसार अब थपिने निषेधाज्ञा अवधिमा कोही कसैले पनि निस्फिक्रि हिडडुल गर्न तथा व्यवसाय संचालन गर्न पाउने छैनन् ।

‘निषेधाज्ञा कडाईमा अरु भन्दा भारतबाट आउनेलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ । उता बाँकेले भारतबाट आउनेलाई रोकेको छैन । हामीले हाम्रा सिमा नाका बबई लगाएत क्षेत्रमा रोके कसले उनीहरुलाई पाल्ने र कहाँ राख्ने ? भन्ने समस्या रहेको छ ।

यस पटक फैलिएको कोरोना भाइरसलाई स्थानीयले गत बर्ष जस्तो ख्याल ठट्टा ठानेर मापदण्ड उल्लंघन गर्दै गएको प्रजिअ रिजालको भनाइ छ । सबैले कोरोना भाइरसलाई सामान्य ठानेर निषेधाज्ञा उल्लंघन गर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने मर्नेको संख्या ह्वात्तै बढ्न सक्छ ।

‘कोरोनाले दिर्घ रोगीलाई मात्रै असर गर्छ भन्ने स्थानीयको बुझाई छ । तर यो बर्ष दिर्घ रोगी मात्रै नभई रोग नै नभएकाहरु पनि धमाधम संक्रमणबाट मरिरहेका छन् । ‘सबैको सपोर्टले निषेधाज्ञा कडाइ गरी कोरोना रोकथाममा लाग्नेछौं । त्यसैले निषेधाज्ञा तथा स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा अनुरोध छ । ख्याल ठट्टा ठानेर आफु र आफ्ना परिवारको ज्यान खतरामा नपारौं । बचौं र बचाऔं प्रजिअ रिजालले भन्नुभयो ।’

Top