हुम्लाका कोरोना संक्रमितलाई हेलिकप्टरबाट जुम्ला अस्पतालमा ल्याइयो

विजय रावत   POSTED ON : बैशाख ३१, २०७८ (८:०५ PM)

हुम्लाका कोरोना संक्रमितलाई हेलिकप्टरबाट जुम्ला अस्पतालमा ल्याइयो

जुम्ला ।   जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा हुम्लाको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई कोरोना संक्रमित भएपछि उपचारका लागी हेलिकोष्टरबाट जुम्ला अस्पतालमा ल्याइएको छ । संयोजक धामीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा.राजिव शाहले बताउनुभयो । हुम्ला र कालिकोटमा अक्सिजन अभाव हुन थालेपछि त्यहाँका कोरोना संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । कालिकोटका २ जना र हुम्लाका एक जना संक्रमित प्रतिष्ठान आएको निमित्त अस्पताल निर्देशक डा.शाहले बताउनुभयो ।

कोभिड अस्पताल कालिकोटमा अक्सिजन अभाव भएपछि दुई जना बिरामीलाई जुम्ला रेफर गरिएको कालिकोट जिल्ला अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार तिलागुफा नगरपालिकाका ६१ वर्षीया एक महिला र खाँडाचक्र नगरपालिका निवासी ४१ वर्षका एक पुरुष जुम्ला अस्पतालमा ल्याइएको हो  ।  अक्सिजन अभाव भएपछि संक्रमित बचाउन गाह्रो हुने भन्दै जुम्ला अस्पतालमा रेफर गरिएको कोभिड अस्पताल कालिकोटका डा. रामकमल कार्कीले जानकारी दिनुभयो ।

कालिकोटमा अक्सिजन अभाव छ । अक्सिजन अभाव भएर बिरामीको मृत्युको अवस्था आउन नदिन जुम्लामा रेफर गरेका हौँ । एक दुई सिलिन्डर मात्र अक्सिजन छ । यसले नपुग्ने आएको समस्या भयो । अहिले कालिकोट कोभिड अस्पतालमा २५ जना संक्रमितको उपचार भइराखेको छ । जिल्लामा रहेको कोभिड अस्पतालमा अक्सिन अभाव हुँदा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको अवस्था विकराल बनेको स्थानीयवासि बताउँछन् । बिरामीलाई अक्सिजन दिनुका साथै भेन्टिलेटरमा राख्नु पर्ने अवस्था रहेको जिल्ला अस्पताल कालिकोट जनाएको छ । 

संक्रमितलाई जुम्ला ल्याउनको लागि काठमाडौंदेखि हेलिकप्टर हुम्ला पुगेर हुम्लाबाट हेलिकप्टरमा संक्रमित जुम्ला पठाइएको हुम्ला अस्पतालले जनाएको छ । यसअघि कोरोना संक्रमित उपचारको लागि सुर्खेत नेपालगंजबाट जुम्ला पुगेका थिए । जुम्लामा २६ जना संक्रमितलाई अक्सिजन दिएर उपचार भइराखेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।


Top