ओखर खेतीमा आकर्षण बढ्दै

विजय रावत   POSTED ON : जेठ ७, २०७८ (११:३६ AM)

ओखर खेतीमा आकर्षण बढ्दै

जुम्ला । जुम्लाका किसान पछिल्लो समयमा ओखर खेतीमा आकर्षण बढ्दो छ ।  यहाँको  तातोपानी गाउँपालिका–७ का स्थानीयवासि सूर्य बुढा तीन वर्ष अघिसम्म यो यममा पाटनमा हुन्थे । गाउँका सबैलाई यतिबेला हुल बाँधेर हिमाली लेकमा मात्र आउने अमुल्य जडिबुटी यार्सा टिप्ने चटारो हुन्थ्यो । यो वर्ष पनि गाउँलेहरू पाटन उक्लिसकेका छन्, तर उनलाई भने नर्सरीमा ग्राफ्टिङ्ग गरिएका ओखर र स्याउको रेखदेख गर्न भ्याइनभ्याई छ । स्याउ र ओखर नर्सरी अहिले उनका लागी घरमै बसेर आम्दानी गर्ने भरपर्दो काम बनेको छ ।

बुढाको  रोजगारी भनेको  कालापहाड जाने हो । अहिले कालापहाड छोडेर  ओखर खेतीनै परिवार पाल्ने माध्यम बनेको छ । बुढाले भन्नुभयो , 'कोरोना भाइरस संक्रमण कम गर्ने जारी निषेधाज्ञाले  सबै क्षेत्र ठप्प भएका बेला उनी जस्तै यहाँका किसानलाई भने निषेधाज्ञाले खासै फरक परेको छैन । यहाँका किसानहरू आफ्नौ बारीमै ब्यस्त छन् । यो वर्ष ओखरबाट पाँच लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएको बुढाले बताउनुभयो ।'

गत वर्ष झण्डै एक हजार स्याउका बिरुवा बेचेका बुढाले यो वर्ष सात सय ओखरका विरुवा ग्राफ्टिङ्ग गरेका छन् । तुलनात्मक रूपमा स्याउभन्दा ओखर ग्राफ्टिङ्ग कमै सफल हुन्छ । जुम्लामा स्थानीय स्याउ प्रतिबिरुवा ५० देखि एक सय र ओखर प्रतिबिरुवा एक हजारमा विक्रि हुने गरेको छ । तातोपानी गाउँपालिका–८ का विष्णु थापाले पनि व्यावसायिक नर्सरी खेती गरेकी छन् । नर्सरीमा जंगली हाडे ओखरको रुटस्टक प्रयोग गरिँदै आएको बताउनुभयो  । जुम्लामा कुल एक सय ७० हेक्टरमा ओखर खेती भइरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई जुम्लाका प्रमुख नवराज भण्डारीले बताउनुभयो । 

पछिल्लो समयमा यहाँका किसानले ओखर खेतीमा राम्रो गरेका छन् । जिल्लामा करिब नौ हजार कृषकहरूले ओखर खेती गरेको पाइन्छ ।  ओखर खेतीको राम्रो सम्भावना हुदाँहुदै पनि विरुवा उत्पादनमा चुनौती देखिएको प्रमुख भण्डारीले भन्नुभयो , 'किसानका नर्सरीमा ५० प्रतिशत र अनुसन्धान केन्द्रहरूमा झण्डै ७० प्रतिशत ग्राफ्टिङ्ग सफल हुने गरेको छ । अहिले जुम्लाको ९० हेक्टर क्षेत्रफल जमिनमा ओखर फलिरहेको छ । औसतमा एक रुखमा ३० किलोसम्म ओखर उत्पादन हुने गरेको छ ।'

गतवर्ष यहाँ दुई सय ७० मेट्रिक टन ओखर उत्पादन भएको थियो । कुल उत्पादनको ३० प्रतिशतबाहिर निर्यात हुने गरेको छ भने ६० प्रतिशत स्थानीय बजारमै खपत हुन्छ । सिजनमा कृषकले ओखर प्रतिदाना पाँच देखि १० रूपैयाँ सम्ममा बिक्री गर्छन् । यो वर्षदेखि ओखरको तथ्याङ्क तयार पार्ने, ओखरका जातहरू छुट्टिने गरी नर्सरी स्थापना गर्ने, गुणस्तरहीन उत्पादन गर्नेहरूलाई निरुत्साहित गर्नेलगायतका कामहरू गरिरहेको छ । हालसालै टर्कीबाट आयात गरिएको बिरुवाको गुणस्तरीयता अध्ययन गर्ने र उक्त ओखर लगाएका कृषकसँग अन्तरक्रिया कार्यक्रमहरू पनि भइरहेको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार कर्णाली प्रदेशमा एक हजार एक सय सात हेक्टरमा ओखर खेती हुने गरेकोे प्रमुख भण्डारीले बताउनुभयो । ू तीन सय ५० हेक्टर उत्पादनशील क्षेत्रफलबाट करिब एक हजार चार सय मेट्रिकटन ओखर उत्पादन हुने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जिल्लामा संचालन भएदेखि यहाँका किसानलाई स्याउदेखी ओखर सम्म  खेती गर्ने किसानलाई निकै राहत मिलेको यहाँका किसानबताउँछन् । यहाँको  गुठिचौर गाउँपालिका – ५ काडाखोला जलजलामा  फुजी स्याउ बगैचा स्थापना गर्नका लागि रु २५ लाखका विरुवा र २२ लाखको थोपा सिंचाइ योजना अनुदानमा दिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाका प्रमुख भण्डारीले बताउनुभयो । जिल्लामा  झण्डै ३ हजार ४ सय ५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुँदै आएको कृषि विकास कार्यालयले जनाएको छ । पछिल्लो समयमा जिल्लाका किसान फुजी जातको स्याउ व्यावसायिक खेतीमा आकर्षण भएका छन् ।  

Top