जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त

विजय रावत   POSTED ON : जेठ १२, २०७८ (२:३५ PM)

जुम्लाका किसान मार्सी धान रोपाइँमा व्यस्त

जुम्ला ।  कोरोना भाइरसको दोेस्रो लहर सङ्क्रमण रोकथामका लागि एक महिनादेखी स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि यो याममा जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै मार्सी धान रोपाइँको चटारोमा व्यस्त भएका छन् । पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित भएका हुन् ।

 जुम्लामा मात्र उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान खेतीमा यहाँका किसानको संख्या पनि बढेको स्थानीय किसान सुनीता पाण्डेले बताउनुभयो । जेठ पहिलो सातादेखि नै गाउँमा मार्सी धान रोपाइँको चटारो सुरु भएको हो । कृषि क्यालेन्डरअनुसार किसानहरुले चैत २० गते धानको ब्याड राखेका थिए । काली मार्सी धानको बीउ हरेक वर्ष चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते ब्याडमा छर्किने परम्परा रहीआएको स्थानीय जानकार रमानन्द आचार्यले बताउनुभयो । 

स्थानीय कृषि क्यालेन्डर अनुसार नै जेठको पहिलो सातादेखि जुम्लामा रोपाइँ सुरु हुन्छ । कोरोना संक्रमणको जोखिम भए पनि किसानलाई रोपाइ गर्नैपर्ने बाध्यता छ । जीविकोपार्जनका लागि किसानले खेतीको काम रोक्न सकेका छैनन् । जुम्लाका आठवटै स्थानीय तहमा धान खेती हुन्छ । स्थानीयले निषेधाज्ञाको बेवास्ता गर्दै धान रोप्ने काम सुरु गरेको यहाँका किसानहरु बताउँछन् । जिल्लाका सात गाउँपालिका एक नगरपालिकाको चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र राती मार्सीको रोपाइँ धमाधम भइरहेको छ । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकले देखाएको छ । 

अहिले जुम्ली मार्सी चामलको माग बढ्दै गएको छ, मार्सी चामलको बजारभाउ प्रतिकिलो १२० रुपैयाँ छ, व्यापारी सो चामल खरिद गर्ने घरघरमा आउनछन्  । मार्सी चामलको जति चर्चा छ उत्पादनमा त्यतिनै मेहेनत खर्चनुपर्छ । यहाँका किसान चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र कार्तिक महिनाको पहिलो सातादेखी घरमा भित्र्याउने गर्छन् । बर्सेनि मार्सी धान उत्पादन हुने जग्गामा बस्ती विस्तार हुँदै जाँदा खेत मासिने, कुलानाला बन्द हुने, फोहरमैलाले धानबाली नष्ट हुने हुँदा उत्पादन घटिरहेको किसान जय बुढाले बताउनुभयो । 

मार्सी धानको विशेषता

“समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा फल्ने मार्सी धान नेपालको उच्च हिमाली जिल्ला जुम्लामा हुन्छ । यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने र भात खाँदा चाँडो भोक नलाग्ने र आडिलो हुन्छ”, धानबाली विशेषज्ञ बताउँछन् । 

जुम्लामा मार्सी धानको बीउ चन्दननाथ बाबाले भारतको कास्मिरबाट ल्याएका थिए । उनले ल्याएको सो धान जुम्लाको छुमचौरमा पहिलो पटक लगाइएको थियो । यो धान चैतमा रोपेर कात्तिकमा काटिन्छ । यो धान रोपाइँका लागि भारत तथा तराईमा गएका स्थानीय युवा घर जाने गर्दछन् । 

जुम्लामा धानखेती बेंशी क्षेत्र (समुद्र सतहबाट २००० देखि २२०० मिटर), मध्य क्षेत्र (समुद्र सतहबाट २२०० देखि २८०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८०० देखि ३०५० मिटर) मा हुने गरेको छ । यो धानबाली संसारको सबैभन्दा उच्च स्थान (२७९० मिटर) जुम्लाको पातारासी गाउँपालिकाको छुुमचौर ज्युलोमा पनि फल्छ ।

संसारमा रातो रङको चामल १० प्रजातिभन्दा बढी छैन । जुम्लाको मार्सी चामल तिनैमध्येको एक हो । विभिन्न स्रोतका अनुसार काली मार्सी धान उत्पादनका लागि तापक्रम माइनस चार डिग्री सेल्सियससम्म हुनुपर्छ । यो धान नेपाल, भूटान, भारत, पाकिस्तानलगायतका देशका हिमाली क्षेत्रमा फल्ने गर्दछ ।

ग्रामीण क्षेत्रका किसान धान रोप्न व्यस्त भए पनि सदरमुकाम खलंङ्गामा निषेधाज्ञा कडा पारिएको छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले औषधि पसल,खाद्यान्न र बैकहरु हरेक दिन बिहान ९ बजेसम्ममात्र संचालन दिने गरेको र अरु सबै सेवा ठप्प पारिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।   


Top