अक्सिजनसहितको कोभिड अस्पताल स्थापना

विजय रावत   POSTED ON : जेठ १३, २०७८ (१०:१५ AM)

अक्सिजनसहितको कोभिड अस्पताल स्थापना

जुम्ला । कोरोना भाइरसको दोस्रो लहर व्यापकपमा फैलिएपछि संक्रमितका लागी जुम्लाका स्थानीय तहले अक्सिजनसहितको कोभिड अस्पताल संचालनमा ल्याएका छन् ।  यहाँका सात गाउँपालिकाका अक्सिजन सहितको कोभिड अस्पताल संचालनमा आएका छन् । सो स्थानीय तहका कोभिड अस्पतालमा न्युनतम ३ देखि ३० वटा अक्सिजन सिलिण्डर सम्म व्यवस्थापन गरिएको यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् ।

 जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक भएकोले कोभिड अस्पताल संचालन गरेको छैन । यहाँको गुठिचौर गाउँपालिकामा पाँच वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको छ । २५ वटा सिलिण्डर खरिद प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “ कोरोना संक्रमितलाई चाहिने स्रोत साधन कोभिड अस्पतालमा राखिएको छ । चिकित्सक र अक्सिजन सहितको कोभिड अस्पताल संचालनमा ल्याएपछि ढुक्क संग बिरामीको उपचार गर्न सकिने अवस्था रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । ”  

अहिले सम्म अक्सिजन दिनु पर्ने बिरामी भर्ना भएका छैनन। बिरामी भर्ना लिनु परेमा पनि अक्सिजन अभाव हुन दिदैनौँ । लक्षण सहितका कोरोना संक्रमण भएका व्यक्तिको उपचारका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको छ । गाउँपालिकामा १० बेडको कोभिड अस्पताल संचालनमा आएको छ । हरेक बेडमा एक एक अक्सिजन सिलिण्डर राखिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । 

हिमा गाउँपालिकामा तीन वटा, तिलामा तीन वटा, सिँजामा दुइ वटा र  कनकासुन्दरी गाउँपालिमा पाँच वटा अक्सिजन सिलिण्डर सहित कोभिड अस्पताल संचालनमा ल्याइएको हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताउनुभयो । पातारासी गाउँपालिकामा अक्सिजन सिलिण्डर खरिद प्रक्रिया अघि बढेको  गाउँपालिकाका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो । 

उहाँले भन्नुभयो, 'गाउँमा लक्षण सहितका संक्रमित छैन । लक्षण नदेखिएका संक्रमित भएकोले होम आइसोलेसनमा बसेका छन् । लक्षण देखिएको र गम्भीर प्रकृतिको बिरामी देखिएमा कोभिड अस्पतालमा उपचार सुरु हुन्छ । भेण्टिलेटरमा राख्नु परेको खण्डमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउनको लागि कोभिड एम्बुलेन्सको व्यवस्थापन गरिएको अध्यक्ष बोहोराले बताउनुभयो ।'

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यहाँका हरेक स्थानीयतहमा एक एक जना चिकित्सक खटाइने प्रतिष्ठानले जनाएको छ । यहाँका स्थानीयतहमा न्युनतम २५ देखि अधिकतम ५० बेड सम्मका आइसोलेसन सेन्टर निर्माण गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । 

जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रले अक्सिजन अभावलाई मध्येनजर गर्दे जिल्लामा अक्सिजन बैंक स्थापना गर्ने जनाएको छ । सहयोगी निकायबाट प्राप्त हुने अक्सिजन र खाद्यन्नको बैंक बनाएर केन्द्रको निर्णय बमोजिम वितरण गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । 


Top