मार्सीधान रोपाइँमा लागे जुम्लाका किसान

विजय रावत   POSTED ON : जेठ १८, २०७८ (२:२८ PM)

मार्सीधान रोपाइँमा लागे जुम्लाका किसान

जुम्ला । जुम्लामा कालीमार्सी धानको खेती शुरुवात भएपछि यहाँका स्थानीयवासि रोपाइँमा लागी परेका छन् । कोरोना भाइरसको दोेस्रो लहर सङ्क्रमण रोकथामका लागि एक महिनादेखी स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि यो याममा जुम्लाका किसान भने सामाजिक दूरी कायम गर्दै कालीमार्सी धान रोपाइँको चटारोमा व्यस्त भएका छन् । पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित भएका हुन् ।

 जुम्लामा मात्र उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान खेतीमा यहाँका किसानको संख्या पनि बढेको स्थानीय किसान सुनीता रावतले बताउनुभयो । जेठ पहिलो सातादेखि नै गाउँमा मार्सी धान रोपाइँको चटारो सुरु भएको हो । कृषि क्यालेन्डरअनुसार किसानहरुले चैत २० गते धानको ब्याड राखेका थिए । काली मार्सी धानको बीउ हरेक वर्ष चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते ब्याडमा छर्किने परम्परा रहीआएको स्थानीय जानकार रमानन्द आचार्यले बताउनुभयो । 

स्थानीय कृषि क्यालेन्डर अनुसार नै जेठको पहिलो सातादेखि जुम्लामा रोपाइँ सुरु हुन्छ । कोरोना संक्रमणको जोखिम भए पनि किसानलाई रोपाइ गर्नैपर्ने बाध्यता छ । जीविकोपार्जनका लागि किसानले खेतीको काम रोक्न सकेका छैनन् । जुम्लाका आठवटै स्थानीय तहमा धान खेती हुन्छ । स्थानीयले निषेधाज्ञाको बेवास्ता गर्दै धान रोप्ने काम सुरु गरेको यहाँका किसानहरु बताउँछन् । जिल्लाका सात गाउँपालिका एक नगरपालिकाको चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र राती मार्सीको रोपाइँ धमाधम भइरहेको छ । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकले देखाएको छ । 


अहिले जुम्ली मार्सी चामलको माग बढ्दै गएको छ, मार्सी चामलको बजारभाउ प्रतिकिलो १२० रुपैयाँ छ, व्यापारी सो चामल खरिद गर्ने घरघरमा आउनछन्  । मार्सी चामलको जति चर्चा छ उत्पादनमा त्यतिनै मेहेनत खर्चनुपर्छ । यहाँका किसान चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र कार्तिक महिनाको पहिलो सातादेखी घरमा भित्र्याउने गर्छन् । बर्सेनि मार्सी धान उत्पादन हुने जग्गामा बस्ती विस्तार हुँदै जाँदा खेत मासिने, कुलानाला बन्द हुने, फोहरमैलाले धानबाली नष्ट हुने हुँदा उत्पादन घटिरहेको किसान जय बुढाले बताउनुभयो । 

मार्सी धान खेतीको विधि

जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये काली मार्सी धानको खेती जिल्लामा शुरु भएको छ । नेपाली बजारदेखी तेस्रो मुलुकको ठुलो बजारमा लोकप्रिय बन्दै गएको काली मार्सी धानको खेती यो बर्षको चैत १२ गतेदेखी शुरुवात हुने गरेको छ । धानको बिउ बोराको पानीमा भिजाइ राख्ने दिनलाई यहाँ धान उत्पादनको शुरुवात भएको दिनलाई लिने गरेको गुठीचौर गाउँपालिका – ४ का स्थानीयवासि विष्णु धितालले बताउनुभो । 

उहाँले भन्नुभयो,“यहाँको चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका, मालिका देवतालाई र आ–आफ्नाकुल देवतालाई सम्झेर बिउ राख्ने परम्परागत चलन रहेको  छ । ” विश्वकै उच्च स्थानमा उत्पादन हुने कालिमार्सी धान जिल्लाको पातारासी गाउँपालिका स्थित  छुम चौरज्युलोमा सबैभन्दा बढी सो धानको खेती हुने गरेको स्थानीयवासि धितालले बताउनुभयो । ” 

हरेक वर्ष चैत १२ गते बिउ बोराहरूमा राखेर पानीमा भिजाइन्छ । १६ गते बाहिरा निकालिन्छ र २० गते बेर्नामा छरिन्छ । हरेक वर्ष चैत २० गते कर्णालीका केही जिल्लामा मार्सी धानको बिउ घरमै उत्पादन गरी बेर्नामा छर्ने गरिन्छ । चैत १२ गतेलाई यहाँको परम्परागत चलन अनुसार सो दिनलाई बारुवा पनि भनिने गरेको चन्दननाथ नगरपालिका–२ का स्थानीयवासि रमिला भण्डारीले बताउनुभयो । 

तिला गाउँपालिका –१ स्थानीयवासि बिजकली बुढाका अनुसार चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि रहेको छ । मार्सी धानलाई विभिन्न रोगको औषधिको रूपमा पनि प्रयोग गरिन्छ । यसको रातो भातकोे खीर निकै स्वादिलो हुन्छ । घरका सबै दिदिबहिनीहरु एक आपसमा चिउरा कुट्ने चलन रहेको छ । यो चलन विस्तारै लोप हुदै गरेको स्थानीयवासि रावतले बताउनुभयो ।  

कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन् । त्यसैले जुम्ला लगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रंगको हुन्छ । खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग बढेको हो । त्यसैले होला नेपालका राजनीतिक दलका ठुला नेताहरुले धनीहरुको भान्सामा मार्सी धान चालमको भात आएको बेलाबेला चर्चा हुने गरेको छ ।  

जिल्लाका आठवटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरेको छ । सो धान पाक्न सात महिना पूरै लाग्छ । १२ चैतमा बीउ भिजाएर १६ चैतमा बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने, १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नुपर्छ । १ वैशाखमा बेर्नाको पानी पूरै सुकाउने चलन छ ।

 त्यसपछि बीउ हरियो हुन्छ । भेडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिंगर चालेर मलका रूपमा हालिन्छ । १ महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ । जौ काट्दै सँगसँगै रोपाइ गरिन्छ । जुम्लामा तिला र हिमा नदीको कुलोबाट सिँचाइ हुने भएकाले पानी नपरेर सुक्खा भए पनि धान रोप्न किसानलाई बाधा हुँदैन । नदीको पानीले जेठ पहिलो सातादेखि रोपाइँ सुरु हुन्छ । असारदेखि मध्य साउनसम्म गोडमेल गर्नुपर्छ । 

भदौमा झारजंगल काट्नुपर्छ । कीराले सताउन थाल्यो भने खरानी, तीतेपाती र गाईभैँसीको गहुँत मिसाएर हाल्ने गरिन्छ । खेतमा पानी भने खाली गर्नुहुँदैन । पहिले कात्तिक पहिलो सातापछि मात्र धान काट्ने चलन थियो । तर, अहिले तापक्रम बढेकाले असोज अन्तिम सातादेखि नै धान काट्न थालिन्छ । मार्सी धान खेतीबारे चन्दननाथ बाबाले पुस्तक नै लेखेको खस भाषाविज्ञ रमानन्द आचार्यले बताउनुभयो  ।

मार्सी धानको विशेषता

“समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा फल्ने मार्सी धान नेपालको उच्च हिमाली जिल्ला जुम्लामा हुन्छ । यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने र भात खाँदा चाँडो भोक नलाग्ने र आडिलो हुन्छ”, धानबाली विशेषज्ञ बताउँछन् । 

जुम्लामा मार्सी धानको बीउ चन्दननाथ बाबाले भारतको कास्मिरबाट ल्याएका थिए । उनले ल्याएको सो धान जुम्लाको छुमचौरमा पहिलो पटक लगाइएको थियो । यो धान चैतमा रोपेर कात्तिकमा काटिन्छ । यो धान रोपाइँका लागि भारत तथा तराईमा गएका स्थानीय युवा घर जाने गर्दछन् । 

जुम्लामा धानखेती बेंशी क्षेत्र (समुद्र सतहबाट २००० देखि २२०० मिटर), मध्य क्षेत्र (समुद्र सतहबाट २२०० देखि २८०० मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८०० देखि ३०५० मिटर) मा हुने गरेको छ । यो धानबाली संसारको सबैभन्दा उच्च स्थान (२७९० मिटर) जुम्लाको पातारासी गाउँपालिकाको छुुमचौर ज्युलोमा पनि फल्छ ।

संसारमा रातो रङको चामल १० प्रजातिभन्दा बढी छैन । जुम्लाको मार्सी चामल तिनैमध्येको एक हो । विभिन्न स्रोतका अनुसार काली मार्सी धान उत्पादनका लागि तापक्रम माइनस चार डिग्री सेल्सियससम्म हुनुपर्छ । यो धान नेपाल, भूटान, भारत, पाकिस्तानलगायतका देशका हिमाली क्षेत्रमा फल्ने गर्दछ ।

काली मार्सी धान कस्ले भित्र्यायो  

काली मार्सी धान जुम्लामा पहिलो पटक चन्दननाथ बाबाले भिœयाएको पाईन्छ । तर, नेपालमा मार्सी धान कहिले भित्रियो भन्नेबारेमा स्पष्ट छैन । त्यसो त चन्दननाथ बाबाले पनि कहिले र कहाँबाट यो धानको विउ ल्याए भन्ने एकीन छैन । बाली विज्ञका अनुसार यो १४ औं शताब्दीभन्दा पहिले हुन सक्ने अनुमान छ ।

जुम्लाको संस्कृति सम्बन्धी जानकार रमानन्द आयार्यका अनुसार चन्दननाथ बाबाले भारतको काश्मिरबाट यो धान पहिलोपल्ट ल्याएर जुम्लाको छुमजुल भन्ने ठाउँमा लगाएको भन्ने इतिहास छ । नेपाललाई विश्वमा चिनाउने मध्येकै एक धान प्रजाति भएकोले नेपालमा धानको इतिहास निकै पुरानो भएको धानबाली विज्ञ बताउँछन् ।

 कतिपयले १२ औं शताब्दीमा काली मार्सी नेपालमा भित्रिएको बताउँछन् । भारतको जम्मु काश्मिरबाट गुरु महाराज (चन्दननाथ बाबा)ले ल्याएको हो भनेर वुढापाका भन्छन् । ‘गुरु महाराजले ल्याएको भनेर अहिले पनि हामीले वर्षको एकपाथी काली मार्सीको चामल गुरु महाराजलाई दिन्छौं (चढाउछौं)’, जुम्लाका स्थानीयवासी बलविर केसीले बताउनुभयो । 

जुम्ला समुद्री सतहदेखि १० हजार फिटसम्मको उचाइमा छ । जहाँ माइनस ४ डिग्रीसम्म तापक्रम हुन्छ । यो काली मार्सी धान पनि त्यस्तै चिसो ठाउँमा प्रशस्त फल्ने धानका रुपमा चिनिन्छ । त्यस बाहेक काठमाडौं अर्थात मध्य पहाडका केही जिल्लामा मार्सी धान लगाउने गरिए पनि जुम्लामा जस्तो नफलेको धान विशेषज्ञ बताउँछन् । 

लोप हुँदै मार्सी धान

नेपालमा १४ हजारदेखि १५ हजार हेक्टर जमिनमा धान खेती हुन्छ । यी खेतमा ९६ प्रतिशत उन्नत धानका बिउ रोपिन्छ भने ४ प्रतिशतमा मात्र रैथाने धानका बिउ रोपिन्छ । रैथाने धानका बिउ कम फल्ने र उन्नत जातका बिउ धेरै फल्ने भएर किसानले रैथाने जातका धान लगाउन बिस्तारै कम गर्दै गएको धान विशेषज्ञ बताउँछन् । रैथाने जातका धानका बिउमध्ये कसैले चिसो सहन्छन् भने कसैले अत्याधिक गर्मी सहन्छन् ।  तर, उन्नत जातका बिउले धेरै चिसो र धेरै गर्मी कुनैपनि सहन सक्दैनन् । र, खडेरी पर्यो भने उन्नत जातका बिउ सबै मासिने खतरा रहन्छ । 

त्यसकारण पनि रैथाने जातका धानलाई भविश्यका लागि खाद्य सुरक्षाको रुपमा लिएको छ ।  पछिल्लो समयमा मार्सी चालमको व्यापार रारा ताल घुम्न आउने पर्यटनहरुले धेरै गरेको जुम्ला सदरमुकाम खलङ्गा बजारमा संचालनमा ल्याएको रारालिही अर्गानी घरका संचालक अर्जन बुढाले बताउनुभयो । उहाँले भन्नुभयो,“ धैरैजसो रारा हुदै जुम्ला आउने पर्यटनको रोजाईमा मार्सी चालम र ओखर परेको छ । हाम्रो अर्गानी घरमा पर्यटनलाई विशेष छुटको व्यवस्था गरेका छौ । काठमाडौदेखी आउने प्राय पर्यटनले २० देखी ३० केजीसम्म मार्सी चामल खरिद गर्नु गरेका छन् अर्गानी घरले मार्सी चालमलाई प्रतिकेजी एक सय ५० ले  दिने गरेको संचालक बुढाले बताउनुभयो । 

नेपालमा असार १५ गते धान दिवस मनाउने गरिएता पनि कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लालाई हरेक वर्ष चैत १२ गते धान दिवसको सार्वजनिक बिदा दिने गरेको छ । ग्रामीण क्षेत्रका किसान धान रोप्न व्यस्त भए पनि सदरमुकाम खलंङ्गामा निषेधाज्ञा कडा पारिएको छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले औषधि पसल,खाद्यान्न र बैकहरु हरेक दिन बिहान ९ बजेसम्ममात्र संचालन दिने गरेको र अरु सबै सेवा ठप्प पारिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।  


Top