कर्णाली प्रदेश–मिलेमतोमा बजेट झ्वाम्म पार्दै–कृषि प्रवद्र्धन शीर्षकको बजेट सिलाइ–कटाइमा

खगेन्द्र अधिकारी   POSTED ON : जेठ १९, २०७८ (२:०२ PM)

कर्णाली प्रदेश–मिलेमतोमा बजेट झ्वाम्म पार्दै–कृषि प्रवद्र्धन शीर्षकको बजेट सिलाइ–कटाइमा

सुर्खेत । भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षी विकास निर्देशनालय सुर्खेतले बजेट अनियमितता गरेको पाइएको छ । निर्देशनालयले लक्षित वर्ग अर्गानिक कृषि प्रवद्र्धन कार्यक्रम अन्र्तगतको १० लाख रुपैयाँ कार्यविधि र मापदण्ड विपरित खर्च गरेपछि बजेट अनियमितता गरेको बुझिएको हो ।

मन्त्रालयको चालु आर्थिक वर्षमा विनियोजित बजेट अनुरुप प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रमा अर्गानिक कृषिसँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्थापन गरिएको थियो । सोही बमोजिम सुर्खेतबाट नेकपा एमालेका तर्फबाट समानुपातिक प्रदेश सभा सदस्य राजु नेपालीको क्षेत्र अन्र्तगत वीरेन्द्रनगर नगरपालिका –१२ भावर टोलमा सिलाई कटाई सम्बन्धि तालिम दिइएको हो ।

वर्षको ३ महिनासम्मलाई मात्र खानपुग्ने अवस्थामा भएका समुदाय, अति विपन्न तथा दलित समुदाय बसोबास गरेको न्युनतम ४० घरधुरी भई एकै भूगोलसँग जोडिएको बस्तीमा उल्लेखित कार्यक्रम सञ्चालन गरिने लक्षित वर्ग अर्गानिक कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि बनेको कार्यविधि, मापदण्डमा उल्लेख छ । सोही मापदण्ड बमोजिम प्राङ्गारिक उत्पादन, सामुहिक खेति तथा रोजगारी सृजनालाई प्राथमिकता दिनुपर्नेछ भने एकीकृत कार्यविधिको प्रमुख क्रियाकलाप खण्डमा उल्लेख गरिएका बाहेक परम्परागत पेशा, व्यवसाय, रैथाने वालीवस्तुहरुको प्रवद्र्धन, विउविजन उत्पादन तथा विक्रि वितरण, संकलन केन्द्र, हाटबजार, पशुपालन जस्ता कार्यक्रमहरु सञ्चालन गर्न सकिने स्पष्ट उल्लेख छ । तर, पशुपंक्षी विकास निर्देशनालय सुर्खेतले भने मापदण्डमा उल्लेख नभएकै बजेट शिर्षकसँग नसुहाउने शिर्षकमा बजेट खर्च गरेको छ ।

लक्षित वर्ग अर्गानिक कृषि प्रवद्र्धन कार्यक्रम अन्र्तगत उल्लेखित वीरेन्द्रनगर नगरपालिका १२ भावरटोलमा सिलाई कटाई तालिम सञ्चालन गरिएको निर्देशनालयका अधिकृत छैठौं यादव कुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा सहभागी हुने ४० जनामध्येबाट समिति गठन गरी उक्त समितिमार्फत रकम खर्च गरिएको छ ।

‘लक्षित वर्ग अर्गानिक कृषि प्रवद्र्धन कार्यक्रम अन्र्तगत सिलाई कटाई तालिमका लागि निर्देशनालयबाट १० लाख रकम खर्च हुनेगरि कार्यालय र समितिबीच सम्झौता भएको छ ।’ केसीले भन्नुभयो, ‘सम्झौतामा कार्यालयले रकम भुक्तानी दिनेछ भने तालिमका लागि चाहिने उपकरण, अन्य व्यवस्थापन र तालिम सञ्चालन उक्त समितिले नै गर्ने उल्लेख छ ।’

अधिकृत केसीले सिलाइकटाइ तालिम लक्षित वर्ग अर्गानिक कृषि प्रवद्र्धन कार्यक्रमको कार्यविधि र मापदण्ड अनुसार नै भएको बताउँछन् । ‘कार्यविधि र मापदण्ड अनुसार नै तालिम गरिएको हो’ सिलाई कटाई तालिम अर्गानिक कृषिभित्र कसरी समेटियो भन्ने प्रश्नको जवाफ दिदैं केसीले भन्नुभयो, ‘तालिमका सहभागीहरुको कृषिका लागि जग्गा जमीन नभएकोले कार्यविधिमा लेखिएको परम्परागत पेशालाई कोड गरी सिलाई कटाई तालिम गर्न सम्झौता भएको हो ।’ यद्यपी कार्यविधिमा उल्लेखित परम्परागत पेशा भन्नाले अर्गानिक कृषिसँग सम्बन्धित पेशालाई मात्र जनाउने भएकोले कृषिसँग सिलाई कटाई पेशाको कुनै सम्बन्ध नभएको कानून जानकारहरुको भनाइ छ ।

उक्त कार्यक्रम सञ्चालनका लागि सम्बन्धित प्रदेश सभा सदस्यको संयोजकत्व र कृषि विकास कार्यालयका प्रमुख सदस्य सचिव रहने गरी सम्बन्धित स्थानीय तहको प्रमुख उपप्रमुख वा प्रमुखले तोकेको प्रतिनिधि, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख, लक्षित गाउँ टोलको सञ्चालन समितिका अध्यक्ष र लक्षित गाउँ टोलको वडा अध्यक्ष सदस्यतामा निर्देशक समिति गठन हुने कार्यविधिमा उल्लेख भएकोले बजेट अनियमिततामा मतियार बनेको बुझिएको छ ।


Top