अनावश्यक मानिसहरु राउटे बस्तीमा जान थालेपछि प्रहरीले निगरानी बढायो

खगेन्द्र अधिकारी   POSTED ON : जेठ २४, २०७८ (५:१४ PM)

अनावश्यक मानिसहरु राउटे बस्तीमा जान थालेपछि प्रहरीले निगरानी बढायो

सुर्खेत । राउटे युवतीमाथि भएको यौन हिंसापछि राउटे वस्ती प्रहरीको प्रत्यक्ष निगरानीमा राखिएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएको राउटे वस्ती नजिक पर्ने प्रहरी चौकीको निगरानीमा राखिएको हो ।

अनाधिकृत रुपमा मानिसहरुको आवतजावत बस्तीमा हुन थालेपछि सुरक्षालाई मध्यनजर गर्दै प्रहरीको निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । ‘मानिसहरू अनावश्यक रुपमा राउटे वस्तीमा जान थालेपछि त्यसलाई रोक्न हामीले निगरानीमा राखेका छौं,’ उहाँले भन्नुभयो ।

जेठ २१ गते राति गुर्भाकोट–९ बोटेचौरमा रहेको शुभकामना होटलको कोठामा राखेर मदिरा सेवन गराई यौन हिंसा गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। बोटेचौरका चमनसिंह घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक मिलन पुनलाई आइतबार बिहान ३ बजे पक्राउ गरिएको थियो । यस्तै पक्राउ परेका तीन जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिईएको छ । १९ र २३ वर्षकी राउटे युवतीलाई उनीहरुले रातको समयमा होटलमा बन्दक बनाएर यौन हिंसा गरेको भिडियो पनि सार्वजनिक भएको थियो

उनीहरूविरुद्ध मानव ओसारपसार, यौन दुर्व्यवहार र जर्बजस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यस्तै गुर्भाकोट नगरपालिकाले पनि राउटे वस्तीमा आवतजावतमा कडाई गरेको छ । समाचार संकलन, डकुमेन्ट्री, राहत वितरण जस्ता कार्यका लागि आउने मानिसले नगरपालिकासँग समन्वय गरेर मात्र आउनुपर्ने नगरपालिकाले बताएको छ ।

यौन हिंसाको घटना सार्वजनिक भएपछि नगरपालिकाले टिकटक, युट्युव जस्ता मनोरञ्जनात्मक सामग्रीहरु तयार पार्न राउटे वस्तीमा जान रोक लगाएको हो । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय पछिल्लो समय दैलेख र सुर्खेत जिल्लाका विभिन्न ठाउँ परिवर्तन गर्दै बस्दै आएका छन् ।


Top