चन्दननाथ मन्दिरको शेर जीउलामा मार्सीधान रोपियो

विजय रावत   POSTED ON : जेठ २५, २०७८ (११:४९ AM)

चन्दननाथ मन्दिरको शेर जीउलामा मार्सीधान रोपियो

जुम्ला । कर्णालीकै प्रसिद्ध जुम्लास्थित चन्दननाथ भैरवनाथ मन्दिरको शेरा जीउलामा मार्सीधान रोपिएको छ । कोरोना कहरकाबीच भव्य रुपमा मार्सीधान रोपाइ गरिएको हो । प्राचिनकालदेखि सो जीउलोमा धुमधामले धान रोप्ने गरिन्छ । यो पटक भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर रोपाइँ गरिेएको गुठि व्यवस्थापन समितिका अध्यक्ष पुर्णसिंह कठायतले बताउनुभयो । 

उहाँले भन्नुभयो,“कोरोना कहरका बीच पनि मार्सीधान रोप्ने काम भएको छ ।  मास्क लगाएर सामाजिक तथा व्यक्तिगत दुरी कायम गरेर धान रोपियो । जस्तो सुकै संकट आएपनि सो जीउलो बाँझो राख्नु हुदैन् । यसअघि प्रत्येक वर्ष विधिवत् रुपमा रोपाई महोत्सव गरेर शेरा जीउलोमा धान रोपाइँ हुदै आएको थियो । यो बर्ष कोरोना भाइरसको जोखिमका कारण कुनैपनि धार्मिक गतिविधि नगरि खेतमा कालिमार्सी धान रोपिएको गुठि समितिका अध्यक्ष कठायतले बताउनुभयो । ” 

हरेक वर्ष जेठ १४ गते रोपिने शेरा जीउलो केही बर्षदेखि जेठ २४ गते रोपिने गरिएको छ । नियमित सिचाइँ कुलो असुविधाका कारणले रोपाइँ कार्यतालिका प्रभावित हुने गरेको छ । यो वर्ष २२ भारी धान रोपिएको छ । जेनेटर बाट पानी तानेर खेतमा रोपाइँ चलेको हो । पहिला एक सय भारी धान रोपिन्थ्यो । त्यसपछि घटेर ५६ भारी रोपिने गरियो । केही बर्ष यताबाट २२ भारी धान रोप्ने गरिएको हो । मार्सी धान जुम्लाको पहिचान हो । मन्दिरको खेतमा उत्पादित धानको चामल परम्परागत रुपमा अक्षता चढाउनका लागि प्रयोग हुन्छ,गुठी समितिका उपाध्यक्ष रत्नचन्द्र उपाध्यया भन्नुभयो,“परम्परागत विधि हो । यसको जगेर्ना गर्न जरुरी छ । मन्दिरको जीउलोमा मार्सीधान रोपाइँका गर्न चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्था जुम्लाले सहयोग गर्ने गरेको छ । 

यो बर्ष ६३ जना महिलाहरु रोप्नेरी लगाइएको थियोे । सबै रोप्नेरीहरुलाई माक्स, स्यानिटाइजरको व्यवस्थापन गरिएको थियो । कोरोना संक्रमणलाई मध्येनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरि सो जीउलोमा मार्सीधान रोपियोको समितिका उपाध्यक्ष उपाध्ययाले बताउनुभयो । ”  रोप्नेरी र हलिलाई ज्याला गुठि समितिले व्यवस्थापन गरेको थियो । प्रति रोप्नेरीलाई ५ सय रुपैयाँ र हलिलाइ प्रति १ हजार ३ सय रुपैयाँ दिएकोे गुठि व्यवस्थापन समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले रोपाइँमा सामाजिक तथा व्यक्तिगत दुरी कायम गरि अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको थियो । स्वास्थ्य सुरक्षा मापदण्डको अनिर्वा पालना गर्न भनिएको थियो । सोही बमोजिम रोपाइँ भएको थियो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापा, सशस्त्र प्रहरीका डिएसपी गगन श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी थापा सहितको टोली रोपाइँ स्थलमै पुगेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।

 मार्सी चामलले बजार पाउन थालेपछि धान जोगाउन स्थानीयवासीले रोपाइँको अगुवाइ गर्दै आएको गुठी समितिका सचिव अंगदप्रसाद देवकोटाले बताउनुभयो । रोपाइँमा स्थानीय महिला,विद्यार्थी लगायतको सहभागितामा रोपिदै आएको शेरा जीउलोमा यो पटक कोरोनाका कारण मन्दिर वरपरका बासिन्दामात्र सहभागि रहेको र सो शेरा जीउलोको ३३ मुरी खेतमा प्रत्येक बर्ष मार्सीधान रोपिदैँ आएको गुठी समितिले जनाएको छ ।  


Top